कालाथोकीको उपचारका लागि आर्थिक सहयोग
गोरक्ष समाचारदाता
तुलसीपुर, ६ फागुन । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले तुलसीपुर–७ गणेशपुर निवासी वर्षा (पूजा) कालाथोकीलाई आर्थिक सहयोग गरेको छ ।
स्पाइनल कर्ड ट्युमरबाट पीडित भई हाल भक्तपुरमा बिरामी भई अस्पतालमा उपचार गराइरहेकी कालाथोकीलाई राप्ती आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्ज र लमही आँखा अस्पतालबाट आर्थिक सङ्कलन गरेर एक लाख १६ हजार नौ सय ७६ रुपैयाँ उनका परिवारलाई नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, राप्ती आँखा अस्पतालका मेसु सहायक प्राडा रन्जितकुमार साह, संघका पदाधिकारी तथा कर्मचारीको सहभागितामा सहयोग हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति गिरीले बिरामीलाई उपचारका लागि थोरै भए पनि सहयोग मिलोस् भन्ने उद्देश्यले सहयोग सङ्कलन गरेर परिवारलाई हस्तान्तरण गरिएको बताएका थिए । उपचारका लागि सबैले सक्दो सहयोग गर्न आग्रह गदै स्वास्थ्य लाभको कामना गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सहकोषाध्यक्ष प्रनवकुमार खड्का, अस्पताल प्रशासनिक समितिका संयोजक तथा सदस्य ध्रुव गौतम, संघका सदस्य ताराप्रसाद पोख्रेल, राप्ती आँखा अस्पतालका मेसु सहायक प्राडा रन्जितकुमार साहलगायत कर्मचारी तथा स्वास्थ्यकर्मीले स्वास्थ्य लाभको कामना गदै मानवीय सेवामा सबैले सक्दो सहयोग गर्न आग्रह गरेका थिए । सहयोग गर्ने सबैलाई पूजाका बुबा दुर्गा कालाथोकीले धन्यवाद दिएका थिए ।
तुलसीपुर–७ गणेशपुर निवासी पूजा कालाथोकी र कृष्णनगर नगरपालिका–२, कपिलवस्तु निवासी उर्मिला कुर्मी उपचारार्थ रहेका कारण उनीहरूको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले सामाजिक उदरदायित्व अन्तर्गत राप्ती आँखा अस्पतालमा एक कार्यक्रम गरी आर्थिक सहयोग गरेको हो ।
कालाथोकीको दीर्घकालीन उपचारका लागि अझै थप रकम आवश्यक रहेको परिवारले जनाएको छ । पीडितको जीवन र भविष्य जोगाउन इच्छुक संघसंस्था, सहयोगी मन तथा सम्पूर्णलाई सक्दो आर्थिक सहयोग गर्न परिवारले अपिल गरेको छ ।
