नसर्ने रोग पहिचान गर्न एकमहिने अभियान

गोरक्ष समाचारदाता
तुलसीपुर, २ फागुन । स्वास्थ्य कार्यालय दाङको नसर्ने रोग पहिचानका लागि एकमहिने अभियान शुक्रवार तुलसीपुरमा सुरु भएको छ । स्वास्थ्य कार्यालय दाङको आयोजना र तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको व्यावस्थापनमा तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरबाट सो अभियान सुरु गरिएको हो ।

अभियानमा निःशुल्क रूपमा उच्च रक्तचापको जाँच, सुगरको परीक्षण तथा पिसाब जाँच गरिएको छ । अभियानमा शुक्रवार एकै दिन सो क्षेत्रका एक हजार बढी नागरिकले सेवा लिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिएका छन् । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता, तुलसीपुर उपमहानगरपालिका–८ का वडाध्यक्ष धर्मबहादुर वलीको विशिष्ट आतिथ्यता तथा स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङको विशेष उपस्थितिमा अभियानको शुभारम्भ गरियो । यो अभियानमा ३० वर्षमाथि उमेर समूहका महिला तथा पुरुषको रगतमा सुगर परीक्षण, पिसाब परीक्षण तथा उच्चरक्त चापको मापन गरी बिरामीलाई आवश्यक परामर्श दिइएको छ ।

अभियानमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख ओमपी न्यौपाने, जनस्वास्थ्य निरीक्षक बिमल केसी, स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य अधिकृत तथा नसर्ने रोग अभियानका फोकल पर्सन कमल चन्दसमेतको सहभागिता रहेको थियो । एक महिनासम्म चल्ने यो अभियान नेपाल सरकारद्वारा निदृष्ट वार्षिक कार्यक्रम हो । स्वास्थ्य कार्यालय दाङले पनि यो अभियान वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको स्वास्थ्य कार्यालय दाङका प्रमुख गुरुङले बताएका छन् ।

अभियान जिल्लाका १० वटै पालिकामा निःशुल्क रूपमा सञ्चालन गरिनेछ । सबै पालिकामा पालिका जनस्वास्थ्य शाखाहरूले अभियानलाई समन्वय गर्ने बताइएको छ । पछिल्लो समयमा नसर्ने रोगको प्रकोप भयावह भएको र यस्ता बिरामीको उपचारमा राज्यकोषको धनरासी खर्च भइरहेकाले नसर्ने रोगबाट बचाउन यो अभियान नेपाल सरकारले प्राथमिकताका साथ अघिल्ला वर्षदेखि सुरु गरेको हो ।

उचित खानपानको समुचित व्यवस्थापनको अभाव, विषादीयुक्त तरकारी, फलफूलको सेवन, शारीरिक व्यायामको अभाव, तथा मानसिक तनावका कारण पछिल्लो समयमा मुलुकभर नसर्ने रोगको अवस्था भयावह छ । उच्च रक्तचाप, सुगर, क्यान्सर, सिकलसेल एनिमियालगायतका रोगले धेरै नागरिकको अकालमा ज्यान जाने गरेको छ भने कम उमेरमै यस्ता समस्या आउँदा दक्ष्य जनशक्तिको ऊर्जामा ह्रास आइरहेको बताइएको छ ।