Goraksha

National Daily

स्वस्थ खानेपानीको सुलभतालाई समृद्धिसँग जोडिने

गोरक्ष समाचारदाता
तुलसीपुर, द्द फागुन । तुलसीपुरमा खानेपानी तथा सरसफाइ संस्था÷समितिको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको तालिमका सहभागीले स्रोत संरक्षणलार्ई प्राथमिकतामा राख्दै स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चितता गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरूले खानेपानी संस्थाबिच एकता, प्रविधिको प्रयोग र नीतिगत स्पष्टतामार्फत् मात्र दिगो व्यवस्थापन सम्भव हुने बताएका हुन् ।

राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सल्लाहकार खानेपानी विज्ञ चोकप्रसाद धितालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको थियो । तालिम उद्घाटनका अवसरमा बोल्दै नगर प्रमुख खड्काले तुलसीपुर मात्र नभई सिङ्गो दाङलार्ई खानेपानी समृद्धिसँग जोड्ने लक्ष्यसहित पहल थालिएको बताए । खानेपानी संस्थाबिच सहकार्य, साझेदारी र समन्वय कसरी प्रभावकारी बनाउने भन्ने विषयमा रणनीति तयार पार्न थालिएको उनको भनाइ थियो । उनले पालिकाभित्र देखिएका समस्या समाधानका लागि ऐन निर्माण गरी खानेपानी बोर्ड गठन गरिएको जानकारी दिए ।

विशिष्ट अतिथि राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले खानेपानी संस्थाको संस्थागत सुदृढीकरण, कानुनी स्पष्टता र नेतृत्व क्षमताको विकास आवश्यक रहेको बताए । आधुनिक प्रविधि, विशेष गरी जिआइएस प्रणालीको प्रयोगमार्फत् सेवा पारदर्शी र प्रभावकारी बनाउनु पर्नेमा उनले जोड दिए । निजी क्षेत्रद्वारा सफ्टवेयरका नाममा उपभोक्तामाथि अनावश्यक आर्थिक भार परिरहेको विषयमा सजग हुनु पर्ने उनले बताए । यसैगरी प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले सङ्घीयतापछि खानेपानी तथा सरसफाइ क्षेत्र संघ र स्थानीय तहको एकल अधिकार सूचीमा परेकाले पालिकाले आवश्यक कानुन निर्माण गरेको बताए । खानेपानी ऐन जारी भएसँगै बोर्डले पूर्णता पाएको र अब उपभोक्ता समूहको समस्या अभिलेखीकरण तथा समाधानतर्फ काम अघि बढेको उनले उल्लेख गरे । उनले सबै संस्थालार्ई पालिकामा सूचीकृत हुन आग्रहसमेत गरे ।

तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष यमकान्त भण्डारीले पानी शुद्धीकरण, स्रोत संरक्षण र संस्थाको दिगोपनाका लागि नीतिगत स्पष्टता आवश्यक रहेको बताए । कमजोर संस्थालार्ई सबल बनाउन बजेट व्यवस्थापन गर्न पालिकासँग आग्रह गर्दै उनले पानीमा लाग्ने करसम्बन्धी नीति पुनरावलोकन गर्नु पर्ने धारणा राखे । यसैगरी घोराही खानेपानीका कोषाध्यक्ष ध्रुव केसी, प्रगतिनगर खानेपानी देउखुरीका अध्यक्ष तीर्थराज ज्ञवालीलगायतले दिगो खानेपानी व्यवस्थापनका लागि तीनै तहका सरकारले खानेपानीका लागि गम्भीर हुनु आवश्यक रहेको बताएका थिए ।

स्रोत संरक्षण, अव्यवस्थित पूर्वाधार व्यवस्थापन र संस्थागत एकतामार्फत् समाधान खोज्नु पर्नेमा जोड दिएका थिए । जलवायु परिवर्तन, ढुङ्गा उत्खनन् र अव्यवस्थित पूर्वाधारका कारण पानीका स्रोत सुक्दै गएको उल्लेख गर्दै तत्काल संरक्षण अभियान आवश्यक रहेको बताएका थिए । कमजोर संस्थालार्ई सबल बनाउन नीतिगत तथा बजेटीय सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । जलवायु परिवर्तनका कारण पानीको सतह घट्दै गएको भन्दै भविष्यमा पानी सङ्कट गम्भीर बन्न सक्ने चेतावनीसमेत दिएका थिए ।

तालिममा खानेपानी विज्ञ शिव अमात्य, तिलक न्यौपाने र चोकप्रसाद धितालले खानेपानीका नियम, कानुन, सबल खानेपानी संस्थाका लागि नेतृत्वदायी भूमिका र सफा र शुद्ध पानीलगायतका विषयमा तालिम दिइएको थियो । अमृतपुर खानेपानी संस्थाका अध्यक्ष दशरथ वलीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण बेलझुण्डी खानेपानी संस्थाका अध्यक्ष प्रदीप गौतमले गरेका थिए ।
नगर समिति गठन

यसैबिच तुलसीपुर क्षेत्रका सबै खानेपानी संस्थालाई एउटै छातामुनि गोलबन्द गर्दै समस्या समाधानमा सामूहिक पैरवी गर्न ‘तुलसीपुर नगरस्तरीय तदर्थ समिति’ गठन गरिएको छ । भेलाले दशरथ वलीको अध्यक्षतामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ तुलसीपुर नगरस्तरीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अमर खड्का, सचिवमा राकेश बस्नेत, कोषाध्यक्षमा सुशीला न्यौपाने चयन भएका छन् । यसैगरी सदस्यमा तिलक केसी, सूष्मा अधिकारी, विक्रम चौधरी, दोर्णबहादुर खत्री, चेतबहादुर जिसी, मेनका रेग्मी, कविराज वली, मुक्तबहादुर वली र लोकबहादुर वली चयन भएका छन् । सल्लाहकारमा यमलाल पार्धे, नेवबहादुर डिसी र मिनुका पन्थी रहेका छन् । समितिले नगरभित्रका खानेपानी आयोजनाको हक, हित र आपसी समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने महासंघका अध्यक्ष वलीले बताए ।