तुलबहादुर कवँर मगर
सिसहनिया, २ फागुन । राप्ती गाउँपालिकामा सञ्चालन भइरहेको समुदायस्तरको नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा जनचेतना अभियान दोस्रो दिन पनि उल्लेखनीय सहभागितासहित सम्पन्न भएको छ । अभियानको दोस्रो दिन शुक्रवार वडा नम्बर ७ स्थित बड्कीसिसहनिया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरमा एक सय ५९ महिला र ७६ पुरुष गरी दुई सय ३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
‘समयमै नसर्ने रोग जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौ’, भन्ने मूलनारासहित गाउँपालिकाले अभियानलाई व्यापक रूपमा अघि बढाएको छ । कार्यक्रमको औपचारिक सुरुआत बिहिबार वडा नं. ६ स्थित पत्थरगढवा सामुदायिक स्वास्थ्य इकाइबाट गरिएको थियो । शिविरमा सहभागी नागरिकलाई नसर्ने रोगका प्रकार, कारण, लक्षण तथा रोकथामका उपायबारे जानकारी दिइनुका साथै स्वस्थ जीवनशैली अवलम्बन गर्ने तरिकाबारे सचेतनासमेत प्रदान गरिएको छ ।
मधुमेह र उच्च रक्तचाप परीक्षण, मृगौला रोगको प्रारम्भिक पहिचानका लागि पिसाब परीक्षण, उचाइ–तौलका आधारमा बिएमआई मापन, आवश्यक परामर्श, उपचार तथा प्रेषण सेवासमेत उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय दाङको समन्वयमा सञ्चालन भइरहेको उक्त अभियान ३० वर्षमाथि उमेर समूहका नागरिकलाई लक्षित छ । स्वस्थ्य शाखा प्रमुख राउतका अनुसार पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मृगौला तथा क्यान्सर जस्ता नसर्ने रोगको दर बढ्दो रहेकाले समयमै परीक्षण र जनचेतना अभिवृद्धि गर्नु आवश्यक भएको हो । पहिलो चरण अन्तर्गत पाँच वटा वडामा कार्यक्रम सञ्चालन गरिने र त्यसपछि क्रमशः सबै वडामा विस्तार गरिने गाउँपालिकाले जनाएको छ ।
जस अन्तर्गत फागुन २ गते वडा नं. ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानी, फागुन ४ गते वडा नं. ८ को सामुदायिक बहुउद्देश्यीय भवन पिपरी र फागुन ५ गते वडा नं. ४ स्थित मौरीघाट सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन गरिनेछ । अभियानमार्फत् नागरिकलाई घरआँगनमै स्वास्थ्य परीक्षण सेवा प्रदान तथा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।