Goraksha

National Daily

स्थापना दिवसमा १६ जनाद्वारा रक्तदान

दाङ, १ फागुन । महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, सौडियारले आफ्नो २३औँ स्थापना दिवसका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ।

“अरू दानभन्दा रक्तदान महादान” भन्ने मूल भावनासहित सहकारीका १६ जना सदस्यहरूले रक्तदान गरेका हुन्। रक्तदान गर्ने सदस्यहरूमा कमला अधिकारी, कमला वली, कम पुन मगर, आरती पुन मगर, खिमबहादुर सुनार, सुधा गौतम, उषा न्यौपाने, मिना डिसी, नम्रता पन्त, रिता गिरी, अनिल डिसी, मञ्जिला डाँगी, पुष्पा महरा, केशव चन्द, निर्मल आचार्य र मनोज पुन रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि वडा नं। ६ का अध्यक्ष विष्णुराम आचार्यले बिरामीलाई आवश्यक रगत अभाव हुँदा ब्लड बैंक धाउँदा नपाउँदाको मानसिक तनाव कति पीडादायी हुन्छ भन्ने कुरा आफन्तसँग सोध्दा मात्र थाहा हुने बताए । उनले सहकारीले समय–समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रमहरू सञ्चालन गर्दै आएको भन्दै संस्थाको प्रशंसा गरेका थिए।

सहकारी सस्थाकी अध्यक्ष प्रेमदेवी डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कृषि सहकारी संघ दाङकी अध्यक्ष पद्मा आचार्य तथा रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलीप न्यौपानेले रक्तदानजस्तो पुण्य कार्यले समाजमा सकारात्मक सन्देश दिने बताएका थिए। कार्यक्रमको सञ्चालन संस्थाकी सहायक प्रबन्धक रञ्जु खनाल अधिकारीले गरेकी थिइन्।