‘भारतले रामको मार्केटिङ गर्छ भने हामीले बुद्धको किन नसक्ने’
अर्थतन्त्र लक्षित नीति मिमांसा
खेमराज रिजाल
देउखुरी, १ फागुन । युवाहरूलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउन र मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले युवा लक्षित अर्थतन्त्र संवाद बिहिबार लुम्बिनी प्रदेश सभाहलमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सभा अन्तर्गतको अर्थ, उद्योग तथा पर्यटन समिति, लुम्बिनी प्रादेशिक विश्वविद्यालय नेपालगन्ज र सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङको आयोजना तथा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, र लुम्बिनी प्रदेश योजना आयोगको सहकार्यमा भएको युवा अर्थनीति सवलीकरणमा प्रदेश, स्थानीय सरकार, विश्वविद्यालय, निजी क्षेत्र र नागरिकसँग संवाद कार्यक्रमका सहभागीले युवालाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउन स्पष्ट खाका निर्माणमा जोड दिए ।
‘भारतले भगवान श्रीरामको मार्केटिङ गरी मुलुकको अर्थतन्त्रको ठुलो हिस्सा उठाउन सकेको अवस्थामा हामीले भगवान् बुद्धको मार्केटिङ गरी अर्थतन्त्रको सवलीकरण गर्न किन नसक्ने ?’ नीति मिमांसा कार्यक्रममा लुम्बिनी प्रदेश युवा तथा खेलकुदन्त्री सन्तोष पाण्डेले भने । नेपालको आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए ।
छिमेकी भारतले भगवान् बुद्धले खुट्टा टेकेको बोधगयालाई त स्वर्ग जस्तो बनाएर पर्यटकीय क्षेत्र बनाएको छ भने नेपालले भगवान् बुद्ध जन्मिएको स्थानलाई प्रमुख पर्यटकीय गन्तव्य बनाएर ठुलो धनरासी आयआर्जन गर्न सक्ने मन्त्री पाण्डेको जिकिर थियो । भारतको प्रायागमा अघिल्लो वर्ष सम्पन्न भएको महाकुम्भ पनि धर्म, संस्कृतिसँगै सिङ्गै भारतको अर्थतन्त्रसँग जोडिएको उनले खुलासा गरे ।
‘प्रयागको महाकुम्भमा बग्ने पानी हाम्रै नेपालको हो, हामीले त्यहाँ पुगेर स्नान गर्दा एक जना नेपालीले हजारौँ रुपैयाँ भारतमा खर्च ग¥यौँ तर यहीँकै पवित्र तीर्थस्थललाई आयआर्जनको माध्यम बनाउन सकेका छैनौँ’, मन्त्री पाण्डेले भने हामीसँग पनि दरिलो इच्छाशक्तिसहित स्पष्ट नीति निर्माण हुन आवश्यक छ । मेहनत गर्ने ऊर्जाशील शक्ति भनेकै युवा भएकाले युवाले मुलुकमै आन्तरिक रोजगारी सिर्जना गर्न सक्ने नीति ल्याउन सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे ।
नेपाललाई विश्वसामु चिनाउने विश्वकै अग्लो शिखर सगरमाथा, भगवान् गौतम बुद्धको जन्मस्थल, ऐतिहासिक धार्मिकस्थल स्वर्गद्वारी जस्ता ऐतिहासिक एवम् धार्मिक धरोहर रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले युवालाई आयआर्जनमा जोडेर मुलुकमा आर्थिक गतिविधिमा लाग्न अवसर सिर्जना गर्नु पर्ने बताए । युवा उमेरले मात्र नभएर ऊर्जाशील विचारले परिपक्व हुनु पर्ने उल्लेख गर्दै युवा पलायन रोक्न सके मात्र मुलुकमा आर्थिक वृद्धिदर बढ्ने र आन्तरिक गाह्र्यस्थ उत्पादनमा वृद्धि हुने उनको अभिव्यक्ति थियो ।
नीति मिमांसा कार्यक्रमको विषयप्रवेश गराउँदै लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालयका सचिव खिमकुमार कुवरले युवा ऊर्जालाई सम्बोधन गर्न उत्पादन र उपभोगलाई वृद्धि गर्न आवश्यक रहेको बताए । त्यसका लागि युवालाई उत्पादनशील कार्यमा प्रोत्साहन गर्न आवश्यक नीति निर्माण प्रदेश सरकारले गर्दै रहेको बताए । मुलुकको कूल गाह्र्यस्थ उत्पादनको वृद्धि गर्न उत्पादन र उपभोगको सन्तुलन हुनुपर्ने बताए । यसका लागि बुद्धिस्ट इकोनोमीको अनुशरण गर्न पनि उनको आग्रह थियो ।
उत्पादन र उपभोगबाट नैतिक मूल्यमा ह्रास आयो भने त्यसले प्रतिफल भने दिन नसक्ने उनको निचोड थियो । सो अवसरमा अर्थशास्त्री निशान्त खनालले लुम्बिनी प्रदेशको आन्तरिक गाह्र्यस्थ उत्पादन औषतभन्दा माथि नै रहेको उल्लेख गर्दै यद्यपि यहाँका आर्थिक समृद्धिका सम्भावना अझै समेटिन नसकेको तर्क गरे । उनले कृषिलाई व्यवसायीकरण गर्न ठुलो समस्या रहेकाले यसमा सरोकारवाला निकायले थप जिम्मेवारी वहन गर्नु पर्ने बताए ।
‘किसानको सबैभन्दा ठुलो समस्या भनेको आफूले गरेको उत्पादनको बजारीकरणको समस्या हो, राज्यले किसानको ‘पोस्ट हार्भेस्ट लस’ हुनबाट रोक्न कोल्ड चेन स्थापनालगायतका विषयमा ध्यान दिन आवश्यक छ’, अर्थशास्त्री खनालले भने । कार्यक्रममा युवा उद्यमी अङ्कित शर्माले पेसा र पैसा प्रदेशमै रहेकाले यसलाई टिप्न सक्नु पर्ने तथ्य प्रस्तुत गरे । ‘कक्षाले सिद्धान्त सिकायो, मैदानले वास्तविकता सिकायो’, अङ्कितले भने सिपलाई व्यावहारमा कार्यान्वयन गर्न सक्नु नै युवा हो ।
नीति मिमांसा कार्यक्रममा प्राविधिक विश्वविद्यालय बाँकेका रजिस्ट्रार रेगबहादुर भण्डारीले सूचना प्रविधिमा युवा सहभागिता बढाएर डिजिटल मार्केटिङको अवधारणा कार्यान्वयन गर्न प्रदेश सरकारलाई सुझाव दिए । ‘अहिलेको प्रविधि भनेको डिसिजन फ्रम डेटा हो, यसैले सूचना प्रविधिको भरपुर उपयोगमा युवालाई क्षमतावान् बनाउन आवश्यक छ’, भण्डारीले भने, ‘त्यसैले मुलुकको आर्थिक विकासमा युवालाई ऐच्छिक होइन अपरिहार्यताका रूपमा समाहित गर्न आवश्यक छ । त्यसका लागि आवश्यकता र अवसरको पहिचान गर्न राज्यले युवालाई प्रोत्साहन गर्न आवश्यक छ ।’
कार्यक्रममा युवाहरूको ऊर्जाले उदाहरणिय पेसा गर्न सकिने तर्क युवा व्यवसायी विप्लव क्षेत्रीले सुनाए । रुपन्देहीमा सुरुआत गरेको अर्गानिक डिभाइन ग्रुपले दाङमा समेत अर्गानिक खाद्यान्न एवम् जडिबुटी खेती र प्रशोधनको कामसमेत गरिरहेको छ । घोराही उपमहानगरपालिका–१७ मा रहेको खाली जग्गामा रोजिली खेती गरेर दर्जनौँ किसानले आयआर्जनमा जोडिएको उनले बताए ।
‘पैसा खाडीमा होइन झाडीमा छ, सिस्नु अब घारीमा होइन बारीमा खेती हुनेछ’, विप्लवले भने, ‘आन्तरिक अर्गानिक उत्पादनलाई बढावा दिँदै अब सिस्नुको धुलोलाई ब्रान्डिङ गरी बजारमा ल्याउँदै छौँ ।’ युवालाई व्यवसायमा जोड्न फरक फरक बाटो सिकाउन उनको आग्रह थियो । सेवा प्रतिष्ठान नेपाल तुलसीपुरका अध्यक्ष एवम् लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष तथा स्थानीय सुशासन विज्ञ डा नहकुल केसीले स्थानीय अर्थतन्त्रको विकास तथा सवलीकरणका लागि सहकार्यका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसका लागि बेला बेलामा सरोकारवाला निकायबिच निरन्तर सहकार्य गर्न आवश्यक रहेको उनले बताए । ‘उत्पादन, प्रशोधन र बजारीकरणको दूरी घटाउन सहकार्य आवश्यक छ’, प्रस्तुतीकरणमा डा केसीले भने, ‘यसका लागि सहकार्य, सहअस्तित्व र समन्वयलाई सँगै लैजानु पर्ने उनको अभिव्यक्ति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले मुलुक सङ्घीयताको अभ्यास गरिरहँदा पनि संघले प्रदेशलाई स्वायत्त अधिकार नदिएको बताए । यहाँको शिक्षा घोक्ने र जागिर खानेमा मात्र केन्द्रित भएको भन्दै उनले टिक्ने र बिक्ने शिक्षा आवश्यक रहेको बताए । ‘हामीले स्थानीय उत्पादन लोकल रक्सीलाई ब्रान्डिङ गर्न केही वर्षदेखि निरन्तर लागिरहेका छौँ तर सङ्घीय कानुनले हामीलाई रोकिरहेको छ’, मन्त्री न्यौपानेले भने ।
प्रदेश सरकारले एउटा सचिवसमेत संघबाट काजमा ल्याउनु पर्ने बाध्यता रहेको बताउँदै उनले सङ्घीयतालाई सार्थक बनाउन स्यायत्त अधिकार दिनु पर्ने माग गरे । ‘मुलुकको अर्थतन्त्रको बलियो आधार पर्यटन हो तर पर्यटन क्षेत्रको सम्भावनालाई आम्दानीसँग जोड्न पर्याप्त योजनाहरू सरकारले ल्याउन सकेको छैन’, मन्त्री न्यौपानेले भने । कार्यक्रमको सहजीकरण सेवा प्रतिष्ठानका गोविन्द केसीले गरेका थिए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीलगायत सञ्चारकर्मीको सहभागिता थियो ।
