प्रिया स्मृती गजमेर
देउखुरी, १ फागुन । यतिबेला देश चुनावमय बनेको छ । जनताको मत पाएर निर्वाचित बनेका केही राजनीतिक दलका उम्मेदवारहरू फेरि जनताको आँखामा छारो हाल्ने प्रयाससहित मैदानमा उत्रिएका छन् ।
कसैले टिनको छाना हामीले दिएका हौं भनेर जनतालाई ढाटिरहेका छन् भने कसैले सामाजिक सुरक्षा भत्ता हाम्रै पालामा भएको हो अझै बढाइदिन्छौं भनेर जनतालाई भ्रममा पार्न खोजिरहेका छन् । तर अब जनता त्यति अबुझ छैनन् । अब जसले जनताको मन जितेर वास्तविक विकास गर्छ, उसैलाई जनताले संसद भवन प्रवेश गराउने निश्चित छ ।
नेपाली काङ्ग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्कापछि देउखुरीको विकासमा अग्रणी भूमिका खेल्ने नेताका रूपमा योगेन्द्र चौधरीलाई लिइन्छ । थोरै बोल्ने, आफूले गरेका कामको बढाइचढाइ गरेर प्रचारप्रसार नगर्ने स्वभावका कारण उहाँले अहिलेसम्म के–के गर्नुभयो भन्ने प्रश्न जनमानसमा उठ्नु स्वाभाविक नै हो । तर उहाँको राजनीतिक यात्रालाई नियाल्दा विकासका काममा निरन्तर लागिरहनु भएको स्पष्ट देखिन्छ ।
उहाँको राजनीतिक यात्रा सुरु भएदेखि नै स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राख्दै आउनु भएको छ । मधेसी जन अधिकार फोरम लोकतान्त्रिक नेपाली काङ्ग्रेसमा समाहित भएपछि पनि उहाँ काङ्ग्रेसको शक्ति केन्द्रमै रहनुभयो । त्यस समयमा योगेन्द्र चौधरीले देउखुरी मात्र होइन, दाङ जिल्लाकै महत्वपूर्ण स्वास्थ्य संस्था राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा स्तर वृद्धिका लागि अहोरात्र रूपमा पहल गरी संस्थाको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
लमही नगरपालिका वडा नम्बर २ छिगटपुरदेखि गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर जोड्ने राप्ती नदीको पुल निर्माणका लागि पनि उहाँको भूमिका उल्लेखनीय छ । तत्कालीन मधेसी जन अधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टीमा रहँदा र पछि सोही पार्टीबाट समानुपातिक सांसद बनेपछि उहाँले निरन्तर रूपमा उक्त पुलको योजना माग गर्नुभएको थियो । सुरुमा सडक विभागको टाइपिङ त्रुटिका कारण सो पुल चितवनको राप्ती नदीमा निर्माण गर्ने उल्लेख गरिएको थियो । पछि योगेन्द्र चौधरीकै पहलमा सो आयोजना संशोधन भई दाङकै देउखुरी क्षेत्रमा निर्माण गर्ने निर्णय भयो र उक्त योजना रातो किताबमा समेत सूचीकृत भइसकेको छ ।
त्यतिबेला योगेन्द्र चौधरी संविधानसभा सदस्य हुँदा उहाँका प्रतिनिधिका रूपमा काम गर्नुभएका हालका नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सचिव खेम चौधरीका अनुसार दाङ देउखुरीमा थुप्रै विकास आयोजना भित्र्याउन उहाँ सफल हुनुभएको थियो । यी सबै विषयलाई पुष्टि गर्ने थुप्रै आधार र प्रमाणहरू अहिले पनि उपलब्ध छन् ।
तत्कालीन भौतिक योजना तथा उपप्रधानमन्त्री विजय कुमार गच्छदारको कार्यकालमा दाङ देउखुरीमा विकासका काम अघि बढाउन योगेन्द्र चौधरीलाई अझ सहज वातावरण बनेको थियो । सोही समयमा सिसहनियादेखि महदेवा जोड्ने राप्ती पुल, जहरेदेखि जंग्रहवा जोड्ने राप्ती पुल तथा सडक, सतबरियादेखि राजपुरको कालिपुरवा जोड्ने राप्ती पुल, साथै लमही नगरपालिका वडा नम्बर ७ हसनापुरदेखि राजपुर गाउँपालिका वडा नम्बर २ बेला जोड्ने राप्ती पुल निर्माणमा उहाँको विशेष पहल रहेको थियो ।
पुल निर्माणसँगै सडक निर्माणका काम पनि तीव्र रूपमा अगाडि बढाइएका थिए । लमहीको हसनापुर चोकदेखि बेला, तब्दारपुर, ताउले, माररीखोला हुँदै भारतसँग सिमा जोडिएको राजपुर गाउँपालिकाको पटौली र सिरिया नाका जोड्ने सडक निर्माण भइसकेको छ । अहिले उक्त सडकको स्तर उन्नति गर्ने काम बाँकी रहेको छ । यस आयोजनामा तत्कालीन मधेसी जन अधिकार फोरमका सांसद योगेन्द्र चौधरीका प्रतिनिधिका रूपमा काम गरेका खेम चौधरीका अनुसार यी सबै पूर्वाधार विकासले देउखुरी क्षेत्रको आर्थिक, सामाजिक र भौतिक विकासमा ठूलो टेवा पुगेको छ ।
समग्रमा हेर्दा, थोरै बोल्ने तर काममा विश्वास गर्ने नेता योगेन्द्र चौधरी देउखुरी विकासका लागि निरन्तर रूपमा लागिरहनु भएको नेता हुनुहुन्छ । उहाँले गरेका कामहरू प्रचारभन्दा बढी परिणाममुखी रहेकाले आज पनि जनताले उहाँलाई विकासप्रेमी र भरोसायोग्य नेताका रूपमा लिने गरेका छन् । यही कारण आगामी निर्वाचनमा पनि देउखुरीवासी जनताले विकासलाई प्राथमिकतामा राख्ने उम्मेदवारका रूपमा उहाँप्रति आशा र भरोसा राखिरहेका छन् ।