दाङ,२९ माघ । दाङको देउखुरीमा सिकलसेल बिरामीको परीक्षण सुरु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पश्चिम नेपालको थारु समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको ‘सिकलसेल एनिमिया’को बृहत् परीक्षण सुरु गरेको हो ।
पहिलो चरणमा ५ हजार जनाको निःशुल्क परीक्षण गर्ने तयारी गरेसंगै देउखुरिलाई लक्षित गरेर राप्ती आधारभुत अस्पताल सिसहनियामा सिकलसेलको परिक्षण गरिएको छ । परिक्षणमा ५ सय बढिको जाच गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा डा जनार्दन पन्थीले जानकारी दिएका छन् । उनका अनुसार प्रतिष्ठानको संयोजनमा भएको शिबिरमा २ सय ३५ जना पुरुष र ३ सय २८ जना महिला गरेर ५ सय ६३ जनाले परिक्षण गराएका छन् । प्रतिष्ठानका अनुसार अस्पतालमा मात्रै ३ सय २० जनाले जाच गराएका छ्न । शिबिरमा डिन, डाईरेक्टर, २ जना फिजिसियन चिकित्सक, मेट्रोन,४ जना नर्स, ल्याब टेक्निसियम ६ जना, बिएनएस बिद्यार्थी ४ जना, नर्सिङ लेक्चरर १ र सेक्सन अफिसरको सहभागिता रहेको थियो ।
प्रतिष्ठानमा सिकलसेल परिक्षणका लागि अत्याधुनिक मेसिन जडान भएसँगै परिक्षण अभियान सञलन गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए । उनका अनुसार प्रातिष्ठानले सिकलसेल एनिमिया परीक्षण गर्ने कार्यक्रम शुरू गरेको छ । ‘यो आर्थिक वर्षमा पाँच हजार जनसंख्यामा परीक्षण गर्छौ, आगामी आ. व. २०८३÷ ०८४ मा दशहजार जनसंख्याको परीक्षण गर्ने लक्ष्य रहेको छ’,प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार लम्सालले भने,‘जिल्लाका सबै जोखिममा रहेका सर्वसाधारणको परीक्षण गर्छौ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा प्रातिष्ठानले कार्यक्रम सन्चालन गरिरहेको र यसलाई बृहत बनाउदै लैजाने योजना रहेको प्रतिष्ठानका निमित्त डिन प्राडा रमेश कडेलले जानकारी दिएका छन् । प्रतिष्ठानले ३ वर्षमा पैतिस हजार व्यक्तिमा र ५ वर्षमा कम्तिमा ७० हजार व्यक्तिको परीक्षण गरी अनुसन्धान गर्ने लक्ष्य राखेको रजिस्ट्रार लम्सालले बताए । हाल प्रतिष्ठानमा ३ सय १५ जना सिकलसेलका बिरामीले नियमित औषधि उपचार सेवा लिइरहेका छन् । तथ्यांकअनुसार एक वर्षका शिशुदेखि ६५ वर्षका वृद्धसम्ममा यो रोग देखिएको छ भने एउटै परिवारका चार जनासम्म संक्रमित भेटिएका छन्। यो रोग विशेषगरी थारु समुदायमा बढी देखिए पनि पछिल्लो समय योगी र दलित समुदायमा पनि बिरामी भेटिएका छन ।