दाङ कांग्रेसको पार्टी सदस्य भेटघाट कार्यक्रम
खेमराज रिजाल
दाङ, २९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको हितका निम्ति आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनउन अपरिहार्य रहेको बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उपसभापति शर्माले मुलुकलाई वर्तमान विषम परिस्थितिबाट पार लगाउन कांग्रेस मात्रै विकल्प हुने बताएका छन् ।
‘मुलुकमा हरेक खालका राजनीतिक परिवर्तन ल्याउन र हरेक पटकको सङ्कटको घडीबाट पार लगाउन नेपाली कांग्रेसको अग्रणि नेतृत्वमा मात्रै सम्भव भएको छ, यस पटक पनि मुलुकलाई यो विषम परिस्थितिबाट पार लगाउन कांग्रेसकै नेतृत्वको सरकार आवश्यक छ’, कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले भने । यो निर्वाचन अन्य नियमित निर्वाचन जस्तो नभएकाले मुलुकको लोकतन्त्रको रक्षा गर्न र मुलुकलाई सही ट्रयाकमा हिंडाउन कांग्रेसको विकल्प नरहेको शर्माले दाबी गरे ।
राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्रसहितको संवैधानिक राजतन्त्रको स्थापना, मुलुकमा गणतन्त्रको स्थापना तथा लोकतान्त्रिक संविधान जारी गर्नसमेत कांग्रेसकै नेतृत्वको सरकार विकल्पका रूपमा आएको बताउँदै जेन–जी आन्दोलनपछि विषम परिस्थितिमा पुगेको मुलुकलाई उकास्न कांग्रेसले नै भूमिका खेल्नु पर्ने शर्माले बताएका छन् । ‘०६४ को जस्तो गल्ती स्वीकार गरी २०७० को जस्तो विशेष आगामी निर्वाचनमा पु¥याउनुस्’, उपसभापति शर्माले भने ।
टोपी लगाउनेको पनि यो देश हो, धोती लगाउनेको पनि यो देश हो, सबैको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार कांग्रेससँग मात्रै रहेको उल्लेख गर्दै उपसभापति शर्माले अहिलेको निर्वाचन उम्मेदवारलाई जिताउन मात्र नभएर सिङ्गै देशका लागि जिताउन अनुरोध गरे । ‘किन ७४ जना आमाको काख रित्तियो, किन संसद् र सर्वोच्च अदालत जल्यो ? भनेर एक पटक हामीले गम्भीर आत्मसमीक्षा गर्नु आवश्यक ठान्यौँ र पार्टीलाई पुनर्गठन ग¥यौँ’, उपसभापति शर्माले भने ।
‘फागुन २१ को निर्वाचन अघि विशेष महाधिवेशनको बहस नगर्न नेता, कार्यकर्तालाई निर्देशन दिए । मुलुकलाई निकाश दिन र वर्तमान सङ्कटबाट पार लगाउन अर्जुनदृष्टि चुनावमा मात्रै केन्द्रित गर्न उनको आग्रह थियो । पार्टी पुनर्गठन भएको छोटो समयमै मुलुकका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी टुङ्गो लगाउन सक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको उल्लेख गर्दै उनले अब मुलुक भरका कांग्रेसले रुख चिह्न बाहेक अन्त मत हाल्नु नपर्ने बताए ।
‘हामी प्राइमेरी इलेक्सनबाटै उम्मेदवार टुङ्ग्याउन डकुमेन्ट गरेका थियौँ तर समय पुगेन’, उपसभापति शर्माले भने । यति हुँदाहुँदै पनि पुनर्गठित कांग्रेसले यो चुनावमा झन्डै दुईतिहाइ नयाँ उम्मेदवार बनाएको र झन्डै दोब्बर महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको बताए । अब चाँडै नै स्थानीय र प्रदेश तहका निर्वाचनको तयारी गर्न उनले नेता, कार्यकर्तालाई आह्वान गरे ।
‘अब तपाईं उम्मेदवार बन्न केन्द्रतर्फ मन्टो फर्काउनु पर्नेछैन, वडाको अध्यक्ष वडाकै क्रियाशील सदस्यले टुङ्ग्याउनेछन्, पालिकाको पालिकाकै र क्षेत्रका उम्मेदवार क्षेत्रकै क्रियाशील सदस्यले टुङ्ग्याउने छन्’, उपसभापति शर्माले भने । पर्टीलाई नयाँ सोचका साथ अघि बढाउने समय आएको भन्दै उपसभापति शर्माले आसन, भाषण, रासन र शासनको पद्धतिमा परिमार्जन गर्न जिल्ला नेतृत्वलाई आग्रह गरे ।
कांग्रेसले आगामी निर्वाचन लक्षित कार्यक्रममा आफ्नै कुरा राखे काफी हुने बताउँदै प्रतिपक्षी नेताको आलोचना नगर्न निर्देशन दिए । ‘राम्रा काम जनतालाई भन्न सकिएन, नराम्रा काम सच्याउन सकिएन, त्यसैको प्रतिफल जेन–जी आन्दोलन हो, सबथोक ठिक भएको भए जेन–जी विद्रोह हुने थिएन’, उपसभापति शर्माले भने ।
नेपाली कांग्रेस दाङका सभापति शङ्करप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार योगेन्द्र चौधरीले आगामी प्रतिनिधि सभा निर्वाचन नियमित निर्वाचन नभएर विषम परिस्थितिमा हुन लागेको चुनाव भएकाले जेन–जी विद्रोहको मागलाई सम्बोधन गर्ने गरी सच्चिएर पार्टी अघि बढेको बताए ।
‘भदौ २३ को जेन–जी आन्दोलनमा केपी नेतृत्वको सरकारलाई साथ दिनु कांग्रेसको भुल थियो, भदौ २४ को घटना नियोजित थियो, यी दुवै परिघटनालाई मूल्याङ्कन गर्दै कांग्रेस आत्मसमीक्षासहित अघि बढ्नेछ’, सहमहामन्त्री चौधरीले भने । कांग्रेस नेतृत्वमा पुगेपछि अब विकासका मोडेल पूरै परिवर्तन गर्नु पर्ने नेता चौधरीले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र नं २ का उम्मेदवार किरणकिशोर घिमिरेले यो निर्वाचन आवधिक निर्वाचन नभएर युवा पुस्ताको आह्वान अनुसार हुन थालेको भन्दै युवा पुस्ताकै चाहनालाई सम्बोधन गर्दै कांग्रेस अघि बढ्ने सङ्कल्प गरे । उनले आगामी निर्वाचनका लागि ‘दुःखमा किरणकिशोर, विकासमा किरणकिशोर’ भन्ने मूल नारा लिएर चुनावमा पुग्ने बताए ।
सो अवसरमा बोल्दै निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार तथा पूर्व सिँचाइमन्त्री दीपक गिरीले कांग्रेस एउटा राजनीतिक दलको प्रतिनिधि मात्र नभएर आन्दोलनबाट खारिएर आएको विचार भएको उल्लेख गरे । ‘अहिले राष्ट्रलाई मात्र औँला ठड्याइएको छैन, सम्पूर्ण सनातन धर्म, संस्कृतिमाथि औँला ठड्याइएको छ, यसमा कांग्रेसले गम्भीर भएर सोच्नु पर्नेछ’, नेता गिरीले भने ।
अब जनताका विकासका आकाङ्क्षा पूरा गर्ने एक मात्र शक्ति नेपाली कांग्रेस भएको उल्लेख गर्दै उनले आममतदातालाई निर्धक्क भएर कांग्रेसलाई जिताउन आग्रह गरे । ‘राजनीतिमा प्रवेश गरेसँगै यहाँको विकासको नेतृत्व गरिरहेको बताउँदै उम्मेदवार गिरीले पश्चिम दाङ मात्र नभएर सिङ्गै जिल्लाको एकीकृत विकासमा आफूले पहल गर्दै आएको र गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आफू संसद्मा रहेको नाताले दाङको घोराही तुलसीपुर चारलेन सडकसँगै टरिगाउँ एयरपोर्ट विस्तारका लागि पटक पटक आवाज उठाए पनि चारलेन सडक निर्माण अघि बढ्दा एयरपोर्ट बन्न नसकेको बताए । उनले एयरपोर्ट निर्माणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले बजेट हाल्छौँ भनेर झुक्याएको बताए ।
नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समानुपातिकतर्फका उम्मेदवार मधु न्यौपाने, देविका नेपाली, संविधान सभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कार्यवाहक सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक राजु खनाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, केन्द्रीय सदस्य केशव आचार्य, लीला नेपाली, डा गोपाल दहित, प्रदीपराज शर्मा, निवर्तमान केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलगायतले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो शक्तिका रूपमा स्थापित गर्न आमनेता, कार्यकर्तालाई आग्रह गरेका थिए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेलाई उपसभापति शर्माले सदस्यता प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन योगीले गरेका थिए ।
दर्जन बढी कांग्रेसमा प्रवेश
कार्यक्रममा एक दर्जन बढी विभिन्न पाटी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव हिंकलाल चौधरी, नेकपा एमाले परित्याग गरी घोराही उपमहानगरपालिका–१५ निवासी आशीष पाण्डेय, अन्सारु अन्सारी, घोराही–१० निवासी एमबी मोतियुर, अरवाज खान, युव्राहन अन्सारी, चन्द्रप्रसाद चौधरी, सुरेश जैसवाल, धीरेन्द्र महतो, अब्दुल बासी, अनिलकुमार शाह कलवार, हर्षराज मल्ल, घोराही–१२ निवासी सरेश शाह नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
उनीहरूलाई नेपाली कांग्रेसका उपसभापति शर्माले अविर, टीका र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । ऊनीहरूलाई पार्टी सदस्यतासमेत वितरण गरिएको थियो ।