उम्मेवार घिमिरेको घरदैलो, स्थानीय समस्या पूरा गर्ने प्रतिवद्धता

दाङ,२९ माघ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरणकिशोर घिमिरेले घोराही–१६ स्थित बाहँुनडाडा टोलमा घरदैलो तथा स्थानीयसँग संवाद गरेका छन् ।

निर्वाचन प्रचारप्रसार कार्यक्रमअन्तर्गत उम्मेवार घिमिरेले विहीवार बाहुनडाडामा पुगेर भेटघाट तथा घरदैलो गरेका हुन । भेटघाट तथा घरदैलो अभियानका क्रममा उम्मेवार घिमिरेले स्थानीयसँग विकास निर्माण तथा आगामी योजनाका बारेमा संवाद गरेका थिए । त्यस क्रममा स्थानीयले उम्मेदवार घिमिरेसँग गाउँका समस्या राख्दै उम्मेदवारलाई बिजयको शुभकामना दिएका थिए । त्यसक्रममा उम्मेवार घिमिरेले जनतासँग नजिकिएर उनीहरूको भावना बुझ्ने प्रयास गर्दै क्षेत्रको समग्र विकास र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने विश्वास दिलाएका थिए ।

घोराही बजार क्षेत्र नजिकै रहेको क्षेत्रमा अहिलेपनि शिक्षा, स्वास्थ्यसँगै रोजगारीलगायतको समस्या रहेको भन्दै योजना निर्माण गरेर जनताको जीवनमा परिर्वतन ल्याउने गरि काम गर्ने विश्वास व्यक्त गरेका थिए । त्यसअघि उम्मेदवार घिमिरेले घोराही–१४ स्थीत पुरानो बसपार्क–मिलनचोक क्षेत्रमा घरदैलो गरेका थिए । पुरानो बसपार्क–मिलनचोक क्षेत्रमा घरदैलो गर्दै स्थानीयसँग गुनासो सुनेका थिए । देशको समग्र अवस्थाबारे मतदातासँग खुला छलफल गरेका उम्मेदवार घिमिरेलाई स्थानीय व्यवसायीले बजार सुस्ताएको, युवाहरू विदेश पलायन बढेको र साना व्यापारी मारमा परेको गुनासो गरेका थिए ।

ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा र सामाजिक सुरक्षा प्रभावकारी हुन नसकेको बताएका थिए भने युवापुस्ताले रोजगारी र अवसर अभावप्रति चिन्ता व्यक्त गरेका थिए । स्थानीयको गुनासो सुनेपछि उनले स्थानीय समस्यालाई राष्ट्रिय नीतिसँग जोडेर समाधान खोज्नुपर्ने बताए । ‘स्थानीय बजार किन सुस्तायो भन्ने प्रश्न देशको अर्थतन्त्रसँग जोडिएको छ । युवाहरू किन बाहिरिन बाध्य छन् भन्ने कुरा राष्ट्रिय रोजगारी नीतिसँग सम्बन्धित छ’, उम्मेवार घिमिरेले भने,‘स्थानीय आवाजलाई संसदसम्म पुर्याएर नीति निर्माणमा प्रभावकारी भूमिका खेल्छु ।’ उनले राजनीतिक स्थायित्व, सुशासन र उत्तरदायी नेतृत्व बिना विकास सम्भव नहुने उल्लेख गर्दै मतदातालाई सचेत निर्णय लिन आग्रह गरेका थिए ।