लुम्बिनीमा चार हजार नयाँ उद्योग व्यवसाय थप

अमरराज आचार्य
दाङ, २८ माघ । लुम्बिनी प्रदेशमा छ महिनाको अवधिमा करिब चार हजार उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ को पुससम्ममा प्रदेशमा तीन हजार छ सय ९१ उद्योग व्यवसाय थप भएको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रतिवेदनले देखाएको छ ।

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा उद्योग व्यवसाय थपिनेमा सुधार भएको पाइएको छ । गत वर्षसम्म नयाँ खुल्ने भन्दा बन्द हुने उद्योग व्यवसाय बढी भइरहेकोमा चालु आर्थिक वर्षमा उद्योग व्यवसाय थपिने क्रम बढेको छ । प्रदेशका १२ वटै जिल्लाको रेकर्डमा नयाँ उद्यमी थपिएका छन् ।

आर्थिक वर्ष २०८२÷०८३ मा तीन हजार छ सय ९१ नयाँ उद्योग व्यवसाय थप हुँदा एक हजार चार सय ५६ मात्रै बन्द भएका छन् । उद्योगतर्फ छ सय ८२ र वाणिज्य प्रशासनतर्फ सात सय ७४ गरी एक हजार चार सय ५६ उद्योग व्यवसायको लगत कट्टा भएको छ भने उद्योगतर्फ एक हजार सात सय ७१ र वाणिज्य प्रशासनतर्फ एक हजार नौ सय २० नयाँ थप भएका छन् ।

त्यसैगरी उद्योग व्यवसाय नवीकरणको अवस्था हेर्दा उद्योगभन्दा वाणिज्यतर्फ बढी भएको देखिएको छ । उद्योगतर्फ चार हजार आठ सय २४ को नवीकरण हुँदा छ महिनाको अवधिमा वाणिज्य प्रशासनतर्फका पाँच हजार दुई सय ४९ व्यवसाय नवीकरण भएको मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिए । चालु आर्थिक वर्षको छ महिनामा रुपन्देहीमा उद्योगतर्फ चार सय ७६ र छ सय दुई वाणिज्य फर्म दर्ता भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाँकेमा तीन सय ३० उद्योग र तीन सय २९ वाणिज्य फर्म दर्ता भएका छन् । नवलपरासी पश्चिममा एक सय ७८ उद्योग नयाँ दर्ता हुँदा एक सय ८४ वाणिज्य फर्म दर्ता भएका छन् । कपिलवस्तुमा उद्योगतर्फ दुई सय पाँच र दुई सय वाणिज्य फर्म दर्ता भएका छन् । दाङमा दुई सय ५० उद्योग र तीन सय ७८ वाणिज्य फर्म दर्ता भएका छन् ।

यसैगरी बर्दियामा एक सय छ उद्योग र एक सय १७ वाणिज्य फर्म दर्ता भएका छन् । पाल्पामा उद्योगतर्फ ४४ र ३९ वाणिज्य फर्म छ महिनाको अवधिमा नयाँ दर्ता भएका छन् ।

गुल्मीमा ३३ उद्योग र ३६ वाणिज्य फर्म दर्ता हुँदा अर्घाखाँचीमा ५३ उद्योग र १२ वाणिज्यतर्फका फर्म दर्ता भएका छन् । यसैगरी प्युठानमा उद्योगतर्फ ३५ र २० वाणिज्य फर्म दर्ता भएका छन् भने रोल्पामा २८ उद्योग र २५ वाणिज्य फर्म दर्ता भएका छन् । मन्त्रालयका अनुसार रुकुम पूर्वमा ३३ उद्योग र १८ वाणिज्य फर्म दर्ता भएका छन् ।

यसरी थपिएका उद्योग व्यवसायमा साढे १३ अर्ब लगानी भएको छ । प्रदेशका १२ जिल्लामा उद्योग र व्यवसाय क्षेत्रमा उक्त लगानी भएको हो । मन्त्रालयका अनुसार पुस मसान्तसम्म १३ अर्ब ५७ करोड ८९ लाख रुपैयाँ लगानी भएको छ । चालु आर्थिक वर्षको छ महिनामा घरेलु तथा साना उद्योगमा सात अर्ब ६० करोड ७७ लाख रुपैयाँ लगानी भएको छ ।

एक हजार सात सय ७१ वटा उद्योगमा उक्त लगानी गरिएको हो । यो अवधिमा वाणिज्य फर्मतर्फ पाँच अर्ब ९६ करोड १२ लाख रुपैयाँ लगानी भएको छ । एक हजार नौ सय २० वाणिज्य फर्ममा लगानी गरिएको हो ।

लगत कट्टाको अवस्था

यसैबिच लुम्बिनी प्रदेशमा यस अघि उद्योग व्यवसाय दर्ताको लगत कट्टा गर्नेहरूको सङ्ख्या धेरै थियो । चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा नयाँ दर्ता भइरहेका उद्योग व्यवसायको तुलनामा लगत कट्टा भएका उद्योगको सङ्ख्या आधा पनि छैन । मन्त्रालयका अनुसार रुपन्देहीमा उद्योगतर्फ एक सय एक र एक सय २९ वाणिज्य फर्म बन्द भएका छन् । बाँकेमा एक सय १७ उद्योग र एक सय ५८ वाणिज्य फर्म खारेज भएका छन् ।

नवलपरासी पश्चिममा ४९ उद्योग बन्द हुँदा ४८ वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । कपिलवस्तुमा ४५ उद्योग र ४४ वाणिज्य फर्मको लगत कट्टा भएको मन्त्रालयले जनाएको छ । दाङमा एक सय तीन उद्योग र एक सय ४५ वाणिज्य फर्म खारेज भएका छन् भने बर्दियामा छ महिनाको अवधिमा ७२ उद्योग र ४९ वाणिज्य फर्म खारेज भएका छन् । यसैगरी पाल्पामा ४३ उद्योग र ५० वाणिज्य फर्मको लगत कट्टा भएको छ ।

गुल्मीमा ६८ उद्योग र ८५ वाणिज्य फर्म खारेज भएका छन् भने अर्घाखाँचीमा १८ उद्योग र चार वाणिज्य फर्म खारेज भएका छन् । यसैगरी प्युठानमा २१ उद्योग र २१ वाणिज्य फर्मको लगत कट्टा गरिएको छ भने रोल्पामा ४० उद्योग र ३१ वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । रुकुम पूर्वमा पाँच उद्योगको लगत कट्टा हुँदा १० वाणिज्य फर्म बन्द भएको मन्त्रालयले जनाएको छ ।