Goraksha

National Daily

विकासका लागि भाषणभन्दा काम गर्ने नेतृत्व आवश्यक

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि राजनीतिक दलहरू प्रचारप्रसारमा सक्रिय छन् भने निर्वाचन आयोगले मतपत्र छपाईको तयारी गरिरहेको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदाता फकाउनका लागि प्रचारप्रसारमा व्यस्त छन् । मतदाताको मत आफ्नो पक्षमा पार्नका लागि दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले घरदैलो, भेटघाट तथा संवाद कार्यक्रमहरू आयोजना गरिरहेका छन् ।

प्रचारप्रसारका क्रममा उम्मेदवारले मतदाता भेटघाटका क्रममा आफूले निर्वाचन हेर्दा दाङ विकास निर्माणमा पछाडि परेको र आफूलाई जिताए विकास निर्माण हुने समेत भनिरहेका छन् भने कतिपय सुशासन र परिवर्तनको नारालाई लिएर जनतालाई पकाउने काम गरिरहेका छन् । यसै सन्दर्भमा, गोरक्ष राष्ट्रिय दैनिकले दाङको समग्र विकास र संसदमा जिल्लासँगै नागरिकका मुद्दा उठाउन सक्षम उम्मेदवारका बारेमा मतदाता अभिमत सङ्कलन गरेको छ । नागरिकले विकासमुखी, इमानदार, कुशल र जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउनका लागि कस्ता उम्मेदवारलाई मत दिनुपर्छ भनेर अभिमत सङ्कलन गरेको छ ।

जनप्रतिनिधि चुन्दा विवेक प्रयोग गर्नुपर्छ
माधव केसी
घोराही–१३ दाङ
निर्वाचन सधै आउने होइन, पाँच वर्षमा एक पटक आउने अवसर हो । संयोग यस पटक जेन–जी आन्दोलनपछि चाडै निर्वाचन हुन थालेको छ । देशमा बढेको भष्टाचार, कुशासन र सामाजिक सञ्जालमा गरिएको प्रतिवन्धका कारण अहिलेको अवस्था सिर्जना भएको छ ।

जटिल परिस्थितिबाट देश गुर्जिरहेको समयमा देशलाई सही दिशा प्रदान गर्नका लागि निर्वाचन जनताका लागि ठुलो अवसर हो । यो अवसरमा आफ्नो मतलाई सही सदुपयोग गर्नुपर्छ, दंगालीका लागि निर्वाचन झन महत्वपूर्ण छ । विकास निर्माणका दृष्टिले दाङ पछाडि परेको हामीलाई महसुस हुन्छ । हाम्रै आँखा अगाडि घोराही–तुलसीपुर चारलेन सडक बन्न सकेको छैन,भलै अहिले काम अघि बढेको छ । दाङलाई साविकको राप्तीका जिल्लासँग जोड्नका लागि राम्रा बाटो छैनन् ।

कृषिको विकासका लागि सिँचाइको अभाव छ । हवाई यातायातको पनि ठुलो समस्या छ । त्यति मात्र होइन, प्रजातन्त्र स्थापनापछि सुर्खेत, सल्यानदेखि प्युठानको पानी दाङ ल्याएर सिँचाइँ गर्ने भाषण गर्ने नेताहरू अहिले पनि उम्मेदवार छन् । ती उम्मेदवारले विगतमा गरेका बाचा पूरा गर्न सकिन्न तर देशका विभिन्न पदमा बसेर अवसर प्राप्त गरिसकेका छन्, के फेरि तीनै नेतालाई मत दिन आवश्यक छ । अहिले जनताले सोच्नु पर्ने समय आएको छ ?

अहिले निर्वाचनमा उम्मेदवार बनेका, आफूलाई हेवीवेटका नेताहरूले त्यही एयरपोटलाई वर्षौँदेखि आफूलाई निर्वाचित गराए पूरा गर्ने भनेर मत मागेका छन् । जितेका पनि छन्, दंगालीको ठुलो सपनाका रूपमा रहेको एयरपोट बन्न सकेको छैन । सडकहरू बन्न सकेका छैनन् । जनताले सहजै उपचार पाउन सक्ने अवस्था बन्न सकेका छैनन् । दाङकै एक मात्र नाकाका रूपमा रहेको कोइलावास नाका सञ्चालन हुन सकेको छैन तर पनि फेरि तीनै नेताहरूले अहिले पनि आफूलाई निर्वाचित गरेर दाङको विकासका लागि पहल गर्ने भनेर जनता झुक्याउँदै छन् ।

जनताले चिन्नु पर्ने समय आएको छ । मतदानको समयमा जनता सचेत हुनु पर्ने छ । मतदान गरेर पछुताउनुभन्दा बुझेर दाङको विकासका लागि पहल गर्ने, पटक–पटक परीक्षण भइसकेकालाई होइन, नयाँ गर्न सक्ने र जनताको पिर मर्का बुझ्न सक्ने नेतालाई मतदान गरेर जिताउन आवश्यक छ । त्यसमा जनता सचेत हुनुपर्छ ।

समयको आवश्यकता बुझ्ने नेतृत्व
असिम रावत
घोराही–१५ दाङ
देशमा राजनीतिक परिवर्तन त भएको छ, तर जनताका धेरै अपेक्षा अझै सम्बोधन हुन बाँकी छन् । लामो समयदेखि सत्ता र राजनीतिमा रहेका दलका नेतृत्वबाट समेत देशले स्पष्ट निकास पाउन नसक्दा आम नागरिकमा निराशा फैलिएको छ । जनताले अहिले परिणाममुखी काम, समयमा काम हुने सरकारी संयन्त्र र प्रभावकारी समन्वय चाहेका छन् ।

राजनीतिलाई सेवा होइन, शक्ति र पहुँचको माध्यम बनाउने प्रवृत्ति अझै अन्त्य हुन सकेको छैन । परिवारवाद, आफन्तको हालीमुहाली र सीमित व्यक्तिको घेराभित्र घुम्ने निर्णय प्रक्रियाले जनताको विश्वास कमजोर बनाएको छ । यही कारणले पुराना दलप्रति मात्र होइन, समग्र राजनीतिक प्रणालीप्रति नै विशेष गरी युवा पुस्तामा वितृष्णा बढ्दै गएको देखिन्छ ।

दाङ जिल्लाको सन्दर्भमा हेर्दा विकास निर्माणका सम्भावना धेरै छन्, तर अपेक्षाअनुसार काम हुन सकेका छैनन् । साना–साना कामका लागि पनि भनसुन र पहुँच खोज्नु पर्ने अवस्था अझै विद्यमान छ । यस्तो अवस्थाको अन्त्य गर्दै जिल्लाको विकास निर्माणलाई प्राथमिकतामा राखेर पहल गर्ने नेतृत्वको आवश्यकता स्पष्ट देखिन्छ । केवल नाम र पदका आधारमा ‘ठूला नेता’ माथि भरोसा गर्ने समय अब सकिएको छ । ठूला नेताबाट कति विकास भयो भन्ने मूल्याङ्कन जनताले अनुभवका आधारमा गरिसकेका छन् ।

नयाँ अनुहार देखिएका नेताका हकमा पनि केवल नयाँ भन्ने आधारमा होइन, उनीहरूको पृष्ठभूमि, व्यवहार, सोच र प्रतिबद्धता बुझेर निर्णय गर्न जरुरी छ । निर्वाचनका बेला विकास निर्माण गरिदिन्छु, जनताको समस्या फोनमै समाधान हुन्छ भन्ने आश्वासन दिने, वा ‘म जितेपछि मात्र विकास हुन्छ, मैले हारेकै कारण दाङ पछि परेको हो’ भन्ने अभिव्यक्ति सुनिनु सामान्य जस्तै बनेको छ तर साँच्चै उनीहरू हार्दा नै दाङको विकास रोकिएको हो त ? यदि कुनै विकास निर्माणका काम ‘मेरो पहलले अघि बढेका हुन्’ भन्ने दाबी गरिन्छ भने, जित्दा ती काम किन पूरा हुन सकेनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ । त्यसैले भावनामा होइन, तथ्य र व्यवहारको मूल्याङ्कन गरेर मत दिनु आजको आवश्यकता हो ।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । अब जनताले आ–आफ्नो क्षेत्रमा को योग्य, सक्षम र इमान्दार छ भन्ने कुरा बुझेर मतदान गर्नु पर्ने बेला आएको छ । आजको एक मतले भोलिको पछुतो होइन, दाङको विकास र परिवर्तनको आधार बन्न सकोस् भन्ने सचेत सोचका साथ मताधिकार प्रयोग गर्नु जरुरी छ ।

दाङको भविष्यका लागि सक्षम नेतृत्व
मदन धिताल
तुलसीपुर

समग्र विकास निर्माण र प्रभावकारी नीति निर्माण गर्न सक्ने उम्मेदवारलाई आफ्नो मत दिनु आजको आवश्यकता हो । प्रतिनिधि सभाको यो निर्वाचन केवल व्यक्ति चयनको प्रक्रिया मात्र होइन, संसद्मा जनताको आवाज उठाउने, नीतिगत निर्णयमा प्रभाव पार्ने र देशको विकासको दिशानिर्देश गर्ने प्रतिनिधि छान्ने महत्वपूर्ण अवसर हो ।

प्रतिनिधि सभाका सांसद संसद्मा उपस्थित हुने मात्र होइन, नीति निर्माणदेखि विकासका मुद्दा र जनताका सरोकारलाई सशक्त रूपमा उठाउन सक्ने हुनुपर्छ । जनताको दैनिकीसँग जोडिएका समस्या, विकास निर्माणका अवरोध र सम्भावनालाई केन्द्रीय तहमा पु¥याएर समाधान खोज्ने क्षमतावान उम्मेदवार आवश्यक छ ।

हाम्रो दाङको अवस्था हेर्दा विकास निर्माणलगायत धेरै क्षेत्रमा अन्य जिल्लाको तुलनामा अझै पछि परेको यथार्थ देखिन्छ । यही कमजोरीलाई बुझेर, केन्द्रीय स्तरमा दाङको विकास र जनजीविकासँग जोडिएका विषयहरू मजबुत रूपमा उठाउन सक्ने नेतृत्व आजको आवश्यकता हो ।

सक्षम, विकासप्रेमी र नीति–नियममार्फत् देशलाई अगाडि बढाउने स्पष्ट दृष्टिकोण भएको उम्मेदवारले मात्र दाङ र देशको अपेक्षा पूरा गर्न सक्छ । त्यसैले यो निर्वाचनमा भावनामा होइन, विवेक र जिम्मेवारीका साथ दाङको भविष्य निर्माणमा योगदान गर्न सक्ने उम्मेदवारलाई मत दिनु अपरिहार्य छ ।

विकासमुखी नेतृत्व आवश्यक

सञ्जयकुमार आचार्य
तुलसीपुर, दाङ

प्रतिनिधि सभाको निर्वाचनको माहोल अहिले देशभर तातेको छ । यो निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा मात्र होइन, विकास र भविष्यको दिशानिर्देशन गर्ने महत्वपूर्ण अवसर पनि हो । यस्तो अवस्थामा विकासप्रेमी जनताले ‘हाम्रो’ होइन, साँच्चै ‘राम्रो’ उम्मेदवारको छनोट गर्न आवश्यक छ ।

जनताले अब विकास निर्माणमा प्रत्यक्ष योगदान गर्न सक्ने, केन्द्रीय तहमा प्रभावकारी नीति निर्माणमा भूमिका खेल्न सक्ने र संसद्मा दाङका मुद्दा ज्वलन्त रूपमा उठाउन सक्ने प्रतिनिधि चाहेका छन् । संसद् केवल उपस्थित हुने थलो होइन, जनताको आवाज बुलन्द रूपमा राख्ने र नीतिगत निर्णयमा असर पार्ने ठाउँ हो भन्ने कुरा बुझ्ने उम्मेदवार आवश्यक छ ।

अहिले संविधानको प्रभावकारी कार्यान्वयनदेखि विभिन्न नीतिगत सुधारसम्म गर्नु पर्ने धेरै काम बाँकी छन् । ती काममा जिम्मेवारीका साथ अग्रसर हुने नेतृत्वको खाँचो छ । त्यसमाथि पनि विकास निर्माणका हिसाबले दाङ केही पछि परेको यथार्थलाई स्वीकार गर्दै, त्यसको पूर्तिका लागि ठोस पहल गर्न सक्ने प्रतिनिधि अत्यावश्यक छ ।

दाङको समग्र विकासका लागि स्पष्ट भिजन र व्यवहारिक मिशन भएको, केवल भाषणमा होइन काममा विश्वास गर्ने उम्मेदवारलाई मत दिनु आजको आवश्यकता हो । सक्षम, इमान्दार र केन्द्रमै दाङको विकासका पक्षमा सशक्त रूपमा आवाज उठाउन सक्ने उम्मेदवारले मात्र जिल्लाको अपेक्षा पूरा गर्न सक्छ ।

त्यसैले यो निर्वाचनमा भावनामा होइन, विवेकमा आधारित निर्णय गरौँ । हाम्रो एक मत दाङको भविष्यसँग जोडिएको छ भन्ने जिम्मेवारीबोधका साथ योग्य र विकासमुखी उम्मेदवारलाई मत दिऔँ ।

भाषण होइन, काम गर्ने नेता आवश्यक
टोपेन्द्रबहादुर पुन मगर
लमही–९ रिहार

आजको आवश्यकता भाषणमुखी होइन, काममुखी प्रतिनिधि हो । केवल चुनावको समयमा मात्र जनतामाझ देखिने होइन, सधैं जनताको दुःखसुखमा साथ दिने जनप्रतिनिधि दाङलाई चाहिएको छ । दाङ जस्तो कृषि प्रधान जिल्लामा किसानका समस्या बुझ्ने, सिँचाइ, मल–बिउ, बजार व्यवस्थापन र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सक्ने नेता आवश्यक छ ।

त्यस्तै, युवालाई रोजगारीका अवसर सिर्जना गर्ने, सिपमूलक तालिम र स्थानीय उद्योगलाई प्रोत्साहन गर्ने उम्मेदवार नै आजको आवश्यकता हो । शिक्षा र स्वास्थ्यलाई पनि प्रमुख प्राथमिकतामा राख्नुपर्छ । गुणस्तरीय शिक्षा सबैको पहुँचमा पु¥याउने, सरकारी विद्यालय र अस्पतालको स्तर सुधार्ने तथा गरिब र विपन्न नागरिकलाई सहज सेवा दिलाउने नेता संसदमा पुग्नुपर्छ ।

इमानदार, भ्रष्टाचाररहित र जनताप्रति उत्तरदायी उम्मेदवारले मात्रै दाङको समग्र विकास सम्भव छ । पार्टीभन्दा पनि व्यक्ति, विचार र कामलाई हेरेर मत दिनु उचित देख्दछु । संसदमा पुगेर जिल्लाको आवाज बुलन्द गर्ने, केन्द्रसँग प्रभावकारी रूपमा दाङका मुद्दा राख्न सक्ने र जनताको विश्वास नतोड्ने उम्मेदवार नै यो पटक मेरो मेरो रोजाइमा पर्ने छ ।

आजको राजनीतिक अवस्थामा जनताले भाषणमुखी होइन, काममुखी प्रतिनिधिको खोजी गरिरहेका छन्। चुनावको समयमा मात्र जनतामाझ देखिने र जितेपछि हराउने प्रवृत्तिले जनतामा निराशा बढाएको छ । अब जनताले सधैँ आफ्ना दुःखसुखमा साथ दिने, समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्ने प्रतिनिधिलाई प्राथमिकता दिनु पर्ने समय आएको छ ।

कृषि प्रधान जिल्लामा किसानका समस्या बुझ्ने नेतृत्व अपरिहार्य छ । सिँचाइ सुविधाको अभाव, मल–बिउको समयमै उपलब्धता, उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनजस्ता विषय किसानका मुख्य समस्या हुन् । यी विषयलाई केन्द्रीय तहसम्म पु¥याएर नीतिगत समाधान खोज्न सक्ने उम्मेदवार नै दाङको वास्तविक प्रतिनिधि हुन सक्छ ।

त्यसैगरी, युवाको बढ्दो बेरोजगारी पनि गम्भीर समस्या बनेको छ । युवालाई विदेश पलायन हुन बाध्य बनाउने अवस्था अन्त्य गर्दै, स्वदेशमै रोजगारी सिर्जना गर्ने, सिपमूलक तालिममार्फत् आत्मनिर्भर बनाउने र स्थानीय उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने स्पष्ट योजना भएको नेतृत्व आजको आवश्यकता हो ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखिनुपर्छ । गुणस्तरीय शिक्षा सबै नागरिकको पहुँचमा पु¥याउने, सरकारी विद्यालयको शैक्षिक स्तर सुधार्ने र सरकारी अस्पताललाई प्रभावकारी बनाउँदै गरिब तथा विपन्न नागरिकलाई सहज सेवा दिलाउने प्रतिनिधि संसद्मा पुग्नुपर्छ । इमानदार, भ्रष्टाचाररहित र जनताप्रति उत्तरदायी उम्मेदवारले मात्रै दाङको समग्र विकास सम्भव छ ।

पार्टीको झण्डाभन्दा पनि व्यक्ति, विचार, क्षमता र कामका आधारमा मत दिनु नै सही निर्णय हो । संसद्मा पुगेर दाङको आवाज बुलन्द गर्ने, केन्द्रसँग प्रभावकारी रूपमा जिल्लाका मुद्दा उठाउने र जनताको विश्वास नतोड्ने उम्मेदवार नै यस पटक मेरो रोजाइमा पर्ने छ ।