समृद्ध नेपाल, कसरी सम्भव होला ?

नारायणप्रसाद श्रेष्ठ

सम्वृद्धि नेपाल सुखी र खुसी नेपाली, यो नारा नेपाल र नेपालीको वृहत्तर हितका लागि परिकल्पना गरिएको सान्दर्भिक नारा हो ।तसर्थ यसलाई सार्थकता दिन यसको औचित्य र व्यवहारिकतालाई सबै जनजनको आचरण र व्यवहारमा परिणत गर्न सक्नुपर्दछ । यसको सफल कार्यान्वयनको लागि व्यक्ति, नेता, सरकार जिम्मेवार भई नीति र नैतिकतामा आधारित विचार र व्यवहारमा परिस्कृत भएको हुनुपर्दछ । औद्योगिक नीति र व्यवहारलाई परिस्कृत र सशक्त बनाउनुपर्दछ । समृद्धिको नारा केवल घोषणा र कागजमा सीमित हुनु हुँदैन ।

औद्योगिक नीति र व्यवहारमा एकरुपता कायम गरी मन, बचन र कर्मबाट यसलाई साकार गराउने संकल्प गर्नुपर्दछ । जहाँ शिक्षा नीति र औद्योगिक विकासले फड्को मार्दछ, त्यहाँको जनजीवन उच्च र आर्थिक अवस्था मजबुत हुन्छ । आर्थिक सम्पन्नताको बलियो आधार राष्ट्रिय औद्योगिक विकास नीति नै हो ।

उद्योगबाट नै राष्ट्रिय अर्थनीति बलियो हुन्छ । यसबाट रोजगारीको अवसर सिर्जना भई मानिसको जीवनस्तर मजबुत बन्दछ । जब शैक्षिक वातावरण राम्रो हुन गई चेतनाको अभिवृद्धिसँगै रोजगारीको अवसर जुट्न पुग्दछ, तब त्यहाँ मानव अन्तरनिहित सिर्जनात्मक प्रतिभाको प्रस्फुटन हुन पुग्दछ । तत्पश्चात मानिसमा अन्तरनिहित दिव्यताले मूर्त रुप लिने अवस्था सिर्जना हुन्छ । जब विचारमा शुद्धता र दिब्यता आउँछ, तब त्यहाँ समृद्धिका ढोका स्वतः उघारिँदै जान्छ ।

जब चेतनाको साथसाथै रोजगारीको अवसर सिर्जना हुन्छ । तब मानिसको सोच र चिन्तनमा सकारात्मक भाव जागृत भई राष्ट्र समृद्धितर्फ लाग्न पुग्दछ । जब विचार र संकल्पमा दृढता बढ्न सुरु हुन्छ तब त्यहाँ राम्रा र आवश्यकताको पहिचानसँगै विचारमा पवित्रता बोध हुने परिस्थिति जन्मन्छ । जब के खाउँ के लाउँ भन्ने अवस्थाको अन्त हुन्छ, तब त्यहाँ विचारमा परिस्कृत भई समय सुहाउँदो विकासको ढोका आफैं खुल्ने अवस्था हुन पुग्दछ ।

मानिस मानिसबिच सौहार्दपूर्ण वातावरण तयार हुन्छ । कर्म र व्यवहारमा शुद्धता, प्रेम र सद्भाव बढ्न पुग्दछ । सम्बन्धमा मजबुत आइ प्रत्येक नेपाली स्वरोजगार भएर विदेशी भूमिमा श्रम र सिप खर्चनु नपर्ने अवस्था हुँदैन । तसर्थ समृद्धिको नारा केवल कोरा कागजमा होइन नीति र व्यवहारमा लागु हुनुपर्दछ । अहिले २०८२ साल को निर्वाचनको लागि प्रत्येक दलले आ–आफ्ना घोषणापत्र जारी गर्दै छन् ।

यस अवस्थामा प्रत्येक दलले आफूलाई जिम्मेवारी र चरित्रवान भएर बचनको प्रतिबद्धता देखाउनु पर्ने अवस्था आएको छ । हिजोको अवस्थालाई हेर्दा दलले हिजो जे जस्तो गर्छौ भन्ने कबुल गरेका थिए, त्यो केवल किताबमा सीमित रहेको कुरा सबैलाई महसुस हुन पुगेको अवस्था छ । तसर्थ अहिले हुन लागेको निर्वाचन २०८२ को सन्दर्भमा आउने घोषणापत्र लामो फेहरिस्त नभई छोटो र आफूले निर्वाह गर्न सक्ने व्यवहार र कर्मलाई मात्र घोषणापत्रमा उल्लेख गर्नु पर्ने देखिन्छ । नत्र हिजो कै स्थिति दोहोरिने हो भने हाम्रो भविष्य कस्तो हुने हो सोच्नु पर्ने छ ?

नेपाल भूपरिवेष्ठित राष्ट्र हो । सामुहिक सुविधाबाट केही टाढा भए तापनि यहाँको भौगोलिक बनोट प्राकृतिक धरातल वातावरण अनुकुल भएर देखा परेको छ । हिमाल पहाड तराई भएर रहेको यहाँको पर्यावरणीय परिवेश स्वच्छ सफा र सुन्दर हरियालीले परिपोषित भएर रहेको छ । यहाँको सुन्दरता संसारको लागि आकर्षकको केन्द्रको रुपमा परिचित छ ।

सर्वोच्च शिखर हिमालको काखमा रहेको यहाँको पाखा, पर्वत, हिम श्रृङ्खला, झरना तथा समथर भूमि एवम् तराईका फाँटमा फलेका धानका बाला साँच्चिकै मनमोहकको रुपमा प्रस्तुत भएका छन् । प्राकृतिक सुन्दरताले ओतप्रोत यहाँको बस्ती समाज तथा यहाँका बासिन्दाको असल व्यवहार एवम् संस्कार सबैको लागि आकर्षकको केन्द्र भएर बाहिर प्रस्तुत भएको छ ।

यहाँको खनिज र पर्यटन व्यवस्थालाई हेर्दा हामीले केवल यसको औचित्यलाई पुष्टि गर्न सके मात्र पनि यहाँको विकासको लागि नयाँ अध्याय सुरु हुन सक्छ । पर्यटनको साथसाथै यहाँको जडिबुटी, पर्यावरणलाई विश्वसामु परिचय गराउन सके मात्र पनि यहाँको आर्थिक अवस्था मजबुत हुन गई प्रत्येक नेपालीले घर आँगनमा रोजगारीको अवसर जुटाउन सक्ने अवस्था देखिन्छ ।

नेपालीको विशेषता भनेकै इमान्दारिता र पारदर्शिता भएकोले यसको गरिमालाई विश्वसामु लैजान सके मात्र पनि हाम्रो भविष्य सुन्दर शान्त सम्वृद्धि नेपाल भनेर चिनिने अवस्था छ । तसर्थ अहिले दलले आफ्नो घोषणापत्रमा प्रतिबद्धता देखाउन सक्नुपर्दछ । सुशासनयुक्त असल शासन नेपाल र नेपालीको चाहना भएकोले भ्रष्टाचार मुक्त समाजको यथार्थ चित्रण जनता सामु प्रस्तुत गर्दै हामी यसरी भ्रष्टाचार मुक्त सुशासन कायम गर्न सक्छाँै र यसबाट नै भौतिक उन्नति र समृद्धिको आधार तयार हुन सक्छ भन्ने आधार अहिले दलले प्रस्तुत गर्न सक्नुपर्दछ ।

लामो समय अवधि राखेर १०, १५ वर्षमा हामी यस्तो गर्र्छौ भनी सपनाको महल खडा गर्नुभन्दा हाम्रो पदावधि ५ वर्षको हुन्छ । पाँच वर्षमा हामी यो यो कर्म र कार्य गरी रोजगारीको अभिवृद्धिसँगै हाम्रो भूगोललाई र जन जीवनलाई यसरी सम्वृद्धि गर्न सक्छौ भनी उदाहरण बन्न सक्नु पर्छ । यहाँको खनिज तथा पानीको स्रोतलाई सदुपयोग गरी समृद्ध नेपाल बनाउन सक्छु भन्ने खाका प्रस्तुत गर्नुपर्छ ।

हिजोको अवस्था फेरि दोहोरिन नदिने गरी प्रत्येक दलले आफूलाई नयाँ सिराबाट अघि बढ्ने संकल्प गर्नुपर्दछ । सपनाको महल खडा गरी जनतालाई रनभुल्लमा पार्ने कार्य अहिले जनताले पत्याउने छैनन् । किनकी भाद्र २३ र २४ गतेको घटना त्यसै आएको होइन ? तसर्थ अहिले प्रत्येक दलको लागि चुनौती पनि देखिन्छ । म हाम्रो पार्टीले यस्तो गर्छौँ, उस्तो गर्छौँ भनेर सपनाको खेती नगरे कै वेश । हात्तीको देखाउने दाँत र खाने दाँत अलग भए झै गरेको देखिछ । त्यसले खासै उपलब्धि होला र मुलक सम्वृद्धि होला जस्तो देखिँदैन ।

अहिले उद्योग कलकारखाना बिना राष्ट्रको श्रमशक्ति विदेशिन बाध्य भएको छ । पूर्वाधार विकास र संकल्प बिना केही हुनेवाला छैन । न त यो बनाउनका लागि कुनै आधार तयारी अवस्थामा छन ? पूर्वाधारबिनाको उद्योगले केही नहुने तितो सत्य हामी सबैले भोगिसकेका छाँै ।

नेता र दलले जतिसुकै मिठा कुरा गरे पनि जनतामा विश्वासको खडेरी बढेको छ । यसलाई कसरी विश्वासको वातावरण बनाउन सकिन्छ यो चुनौतीको विषय बनेको छ । जनतालाई सहुलियत दिन खोजे पनि ठूला–ठूला औद्योगिक कलकारखानाबिना स्वरोजगारी हुने कुरा असम्भव हुन्छ । हिजोको तुलनामा वर्तमानमा उद्योग शून्य जस्तै देखिन्छ । बर्सेनि नेपाली विदेश जाने क्रम बढिरहेको छ । यस अवस्थामा यदि दलले जनविश्वास पैदा गर्न सकेनन् भने के हुने हो सबै गम्भीर बन्नु पर्ने बेला आएको छ ।

अहिले राष्ट्रिय अर्थतन्त्र रेमिट्यान्स र विदेशी ऋणमा चलेको अवस्था छ । उद्योग बिनाको औद्योगिक क्षेत्र घोषणाले मात्र राष्ट्र समृद्धि बन्न सक्दैन । राष्ट्रिय बजेटको आधाभन्दा बढी चालु खर्चमा देखिन्छ । देशको अर्थतन्त्र विदेशी ऋण र रेमिटान्समा अल्झिएको छ । उद्योग कलकारखाना निजीकरण हुँदै ठूला–ठूला उद्योग सुन्ने प्राय अवस्थामा छन् । औद्योगिक क्षेत्रको लगानी कमजोर छ ।

उद्योग बिनाको औद्योगिकीकरण सुन्य बराबर हुने कुराको बोध हुँदा हुँदै पनि विज्ञको सल्लाह र सुझावलाई दराजभित्र थन्क्याइएको अवस्था देखिन्छ । जति पनि नीति बनेका छन् त्यसको प्रभावकारी परिचालन भएको छैनन् । जति पनि आयोग बनेका छन्, ती केवल देखाउनको लागि गरिएको नाटक झै बनेका छन् । सुधारका सुझाव दराजभित्र थन्किएका छन् । स्वदेशमा उत्पादन भई आत्मनिर्भर रहन सकिने चामल समेत बाहिरबाट आयात भइरहेको छ ।

(स्मरण रहोस् २०४६ सम्म नेपालले चामल बाहिर निकासी गर्ने क्षमतामा थियो) । राजनीति र राजनीतिकको सोच र संकल्प आफ्नो सुविधातर्फ केन्द्रिकृत भएको छ । भ्रष्टाचार मुक्त र स्वार्थरहित चिन्तनबाट राजनीती अलग हुन सकेको छैन । विचार स्वार्थमा रोमलिएको छ । यस्तो अवस्थामा समृद्ध नेपाल सुखी नेपालीको जुन चाहना हो त्यो कसरी साकार होला ? सपना जस्तै बनेको छ ।

त्यसैले विकासको लागि राजनीति गरी सम्वृद्धि नेपालको सपना पूरा गर्नेतर्फ सबैको ध्यान पुग्न जरुरी छ । राजनीतिको लागि विकास गरी टोपल्ने प्रवृत्तिको अन्त्य हुन जरुरी छ । राष्ट्रिय राजनीतिलाई विकासको बलियो आधार बनाउन प्रत्येक दल र दलमा आबद्ध नेता र नेतृत्वले संकल्प गर्नु पर्ने अवस्था छ । बुद्धि र विवेकशीलता तथा दुरदर्शी चिन्तनको संकल्पबाट हाम्रो भविष्य हामीले नै निर्धारण गर्न सक्छौँ भन्ने बलियो आधार वर्तमानको आवश्यकता रहेको छ ।

रोजगारीको अभिवृद्धिसँगै श्रम र सिपलाई स्वदेशमै प्रयोग गरिने वातावरण अहिलेको आवश्यकता हो । भ्रष्टाचार मुक्त समाज, सुशासन र रोजगारीको ग्यारेन्टी अहिले नेता र नेतृत्वले गर्नु पर्ने छ । प्रत्येकले आफ्नो छातीमा हात राखी नेपाल आमाको कसम खाइ प्रतिबद्धता जनाउनु पर्ने भएको छ ।

भ्रष्टाचार मुक्त आदर्श समाज र समृद्ध नेपालको सपना यसरी सम्पन्न गर्न सकिन्छ भनेर नेतृत्वले प्रतिबद्धता सहित पारदर्शी चरित्र निर्माण गर्ने संकल्प गर्न सक्नुपर्दछ । जलस्रोतको धनी भएर पनि यसको उचित प्रयोग हुन नसकेर नेपाली श्रम र सिप विदेशलाई बेचिनु पर्ने समयको अन्त गर्नुपर्दछ । सुनको भाडोमा भिक्षा माग्नु पर्ने समयको अन्त गर्नु परेको छ ।

नेता र नेतृत्वले आफूलाई विश्वासको वातावरण बनाउन सक्नु पर्दछ । तब मात्र नेपाल र नेपालीले खोजेको समृद्ध नेपाल सम्भव हुन सक्छ । तसर्थ प्रत्येक दल र दलका नेतृत्वले समयमै आफूलाई सच्याई जन आकांक्षा अनुकूल समृद्ध नेपाल सुखी नेपाली भएर बाँच्न पाउने आधार तयार गर्न हामी सबैलाई अनुरोध बिसाउँछौँ । चेतना भया ।