गोरक्ष समाचारदाता
तुलसीपुर, २८ माघ । दाङको सङ्घीय निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने राप्ती राजमार्ग (अमिलिया–तुलसीपुर खण्ड) को सडक मापदण्ड र विस्तारसम्बन्धी विषयमा छलफल कार्यक्रम भएको छ । राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्च, तुलसीपुर दाङको आयोजनामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्यका उम्मेदवारले सडक मापदण्डको समस्यालाई गम्भीरतापूर्वक लिएको भन्दै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले ध्यानाकर्षणपत्र अध्ययन गर्दा देशका धेरै राजमार्ग राज्य व्यवस्थामै अल्झिएको अनुभूति भएको बताए । उनले विकास र समृद्धि नागरिकमुखी हुनु पर्नेमा जोड दिँदै यस्ता यथार्थपरक र जायज मागलाई सदनमा निरन्तर उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले ढिलासुस्ती किन हुन्छ भन्ने विषयमा आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको र अब पनि चुप नबस्ने बताए । ‘मैले यस अघि पनि यस विषयमा धेरै सवाल उठाएको छु, यो विषयलगायत अन्य महत्वपूर्ण विषयलाई मैले बुझेको छु, मेरो पहलकदमी सधैँ हुनेछ’, गिरीले भने । कार्यक्रममा नेकपा एमालेका तर्फबाट क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम पाण्डेले ध्यानाकर्षणपत्रप्रति पूर्ण समर्थन जनाउँदै यस विषयलाई फेरि फेरि दोहो¥याएर उठाउन नपर्ने गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आफू मेयर हुँदा ‘तुलसीपुर बनाउने अभियान’ मा कानुनी सीमाभित्र रहेर काम गरेको स्मरण गर्दै सङ्घीय संसद्मा पुगेपछि ‘दाङ बनाउने अभियान’मा सक्रिय भूमिका खेल्ने उनको भनाइ थियो ।
‘जनपक्षीय कानुन निर्माण, कार्यालयमा सेवा लिन जाँदा देखिने कानुनी झन्झट अन्त्य, छिटो सेवा तथा तीव्र विकासका लागि पहल मैले गर्नेछु’, पाण्डेले भने । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले वषौँंदेखि थाँती रहेका समस्याको समाधानका लागि युवाको नेतृत्व आवश्यक भएकाले आफू उम्मेदवार बनेको बताए । उनले रोकिएका कामलाई निरन्तरता दिने र कर्णाली प्रवेशद्वारका रूपमा रहेको तुलसीपुरलाई सुन्दर र व्यवस्थित सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले राप्ती राजमार्गको अवस्थाका कारण आफू पनि पीडित बनेको उल्लेख गर्दै बजार व्यवस्थापनका लागि सडक फराकिलो बनाउनु पर्ने आवश्यकता औल्याए । यही सडक समस्याका कारण तुलसीपुर बजार नमुना बजारका रूपमा विकास हुन नसकेको भन्दै यसलाई प्रमुख मुद्दाका रूपमा आफूले निर्वाचित भएपछि सदनमा उठाउने र नभए पनि यसमा लाग्ने प्रतिबद्धता गरे ।
यसैगरी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार कमला जिसीले दिनानुदिन बढ्दो दुर्घटनाको जोखिमप्रति चिन्ता व्यक्त गर्दै सडक स्तरोन्नति अत्यावश्यक भइसकेको बताइन् । जिसीले सरोकावाला निकाय मौन बसेकोप्रति आपत्ति जनाउँदै सर्वसाधारणको वषौँंदेखिको जायज माग तत्काल सम्बोधन हुनु पर्ने बताइन् ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले सो सडक खण्डमा पर्ने जग्गाधनीहरूमा सधैँ अन्योलता सिर्जना भएको बताए । उनले जग्गाको राजस्व लिने तर पुर्जा नचल्ने समस्या भएको भन्दै यस समस्याका विषयमा निजी क्षेत्रबाट विभिन्न समयमा पहल भइरहेको बताए ।
कार्यक्रममा सहभागी सरोकारवालाले तुइसोता हाइवे क्षेत्र बस्तीबाट करिब एक किलोमिटरको दूरीमै १४ मिटर नाला निर्माण भइसकेको, आफ्नै निजी सम्पत्ति बाटोले खाइसकेको अवस्थामा पनि बस्ती क्षेत्रमा सडक फराकिलो हुन नसकेकोप्रति असन्तुष्टि जनाए । २०३१ सालको ऐन अनुसार कानुनी संरचना बनेको भए पनि समस्या ज्यूँका त्यूँ रहेको उनको गुनासो थियो ।
कार्यक्रममा कार्यदलका सदस्य डिल्लीबहादुर बस्नेतले अहिले सो क्षेत्रमा पर्ने जग्गाधनीले जग्गा धितो राखेर लोन लिन समस्या भइरहेको तथा नक्सा पास समेत नहुँदा समस्या भएको भन्दै समस्या समाधानका लागि सवैलाई गम्भीर हुन आग्रह गरे । कार्यक्रममा राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्च कार्यदलका अध्यक्ष नवराज लामिछानेले ध्यानाकर्षणपत्रको विषयमा विस्तृत रूपले जानकारी गराएको थिए । कार्यक्रमको सहजीकरण सचिव चेतन रेग्मीले गरेका थिए ।