दाङ,२६ माघ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरणकिशोर घिमिरेले आइतबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का विभिन्न टोलमा पुगेर मतदातासँग भेटघाट गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ अन्तर्गत खैरेनी, दोगरे, रनिया टोल (कुटीचौर), स्यालापानी, कुइरे ताल, बाहिरी संग्राम, भित्री संग्राम हुँदै बिजौरी थानगाउँसम्म पुगेर स्थानीयसँग भेटघाट तथा स्थानीयसँग संवाद गरेका हुन । भेटघाटका क्रममा स्थानीयले खानेपानी, सडक, विद्युत्, शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता आधारभूत समस्याहरू वर्षौंदेखि समाधान नहुँदा जनजीवन प्रभावित भएको गुनासो गरेका थिए । त्यस क्रममा नेताका आश्वासनभन्दा पनि व्यवहारिक, जवाफदेही र जिम्मेवार नेतृत्व आवश्यक रहेकोमा बताएका थिए ।
स्थानीयको गुनासो सुन्दै उम्मेदवार घिमिरेले आफू चुनाव जित्नका लागि मात्र नभई जनताको आवाज सुन्न र समस्या समाधान गर्न चुनावी मैदानमा आएको बताएका थिए । स्थानीयका गुनासालाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनतासँगको निर्वाचनमा सहयोग गर्न माग गरेका थिए । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।