किशोरीलाई एचपिभी खोप लगाउन सुरु, पहिलो दिन सत्र सय बढीलाई खोप

घोराही,२६ माघ । दाङमामा पहिलो दिन सत्र सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । पहिलो चरणको अभियानअन्तर्गत घोराही उपमहानगरसहित लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा एक हजार सात सय ७२ जना किशोरीलाई खोप लगाइएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रासँगै विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर जिल्लामा पहिलो चरणमा घोराही उपमहानगरपालिकासँगै लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा खोप लगाउन सुरु गरिएको छ । जसअन्तर्गत पहिलो दिन घोराहीमा नौ सय ३८ जना, लमहीमा तीन सय तीन जना, राप्तीमा तीन सय ५७ जना र गढवामा एक सय ७४ जना किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पहिलो चरणमा माघ २५ देखि २७ गतेसम्म घोराही उपमहानगरसहित लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा खोप अभियान सञ्चालन गर्ने भएपनि प्राविधिक समस्याका कारण राजपुरमा सोमवारदेखि खोप लगाउन सुरु गरिनेछ । गतवर्ष खोप अभियानका क्रममा जिल्लामा छुटेका सात हजार आठ सय २९ जना किशोरीमध्ये पहिलो चरणमा पाँच स्थानीय तहमा रहेका चार हजार पाँच सय २५ जना किशोरीलाई खोप लगाउन सुरु गरिएको छ । जसअनुसार घोराहीमा दुई हजार छ सय १७ जना, लमहीमा छ सय २९ जना, राप्तीमा पाँच सय ४५ जना, गढवामा चार सय ३७ जना र राजपुरमा तीन सय एक जना किशोरीलाई खोप लगाइने छ ।

खोप लगाउनका लागि विभिन्न विद्यालयमा दुई सय ४९ वटा, स्वास्थ्य संस्थामा ४९ वटा र बाह्य स्थानमा पाँच वटा गरी दुई सय ९९ वटा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दोस्रो चरणमा माघ २८, २९ र फागुन १ गतेसम्म तुलसीपुर उपमहानगरसहित बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बङ्गलाचुली गाउँपालिमा खोप लगाइनेछ ।

जसअन्तर्गत तुलसीपुर उपमहानगरामा दुई हजार एक सय ७७ जना, बङ्गलाचुली गाउँपालिकामा दुई सय ९२ जना, दंगीशरण गाउँपालिकामा एक सय ९४ जना, बबई गाउँपालिकामा तीन सय २६ जना र शान्तिनगर गाउँपालिकामा तीन सय १९ जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाउने छ । गतवर्ष अभियानका क्रममा ३६ हजार नौ सय ७६ जनालाई एचपिभी खोप लगाइएको थियो ।

ढुक्कसँग खोप लगाउन आग्रह

यसैविच लमही नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाउन सुरु गरिएको छ । अभियानका क्रममा लमहीका विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरेर किशोरीलाई निःशुल्क खोप लगाउन सुरु गरिएको छ । लमही नगरपालिका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर स्वास्थ्य समस्या भएकाले यसको रोकथामका लागि एचपिभि खोप अत्यन्त प्रभावकारी हुने बताइन । उनले लक्षित समूहका सबै किशोरीलाई रोगको जोखिमबाट बच्नका लागि ढुक्कसँग खोप लगाउन आग्रह गरिन ।

‘रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हुन्छ’,उपप्रमुख योगीले भनिन्,‘रोगको जोखिमबाट बचाउनका लागि सरकारले निशुल्क रुपमा खोप लगाउन थालेको छ । यो अभियानमा जोडिएर ढुक्कसँग खोप लगाउनुहोस र जोखिमबाट बच्नुहोस ।’ एचपिभी खोपले भविष्यमा हुने पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरणमा सहयोग गर्ने भएकाले अनिवार्य रुपमा खोप लगाउन किशोरीलाई स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्माले आग्रह गरेका छन् । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले स्वास्थ्यप्रति सचेत हुँदै समयमै खोप लगाएर भविष्यमा हुने जोखिमबाट बच्न समेत आग्रह गरेका छन् ।

अभियानअन्तर्गत लमहीको वडा नं.–१ स्थित सूर्य विनायक माध्यमिक विद्यालय नर्ती, हिमाल आधारभूत विद्यालय सोनपुर, माध्यमिक विद्यालय फल्कापुर, आधारभूत विद्यालय वनगाउँ, लिटिल स्टार स्कुल घुम्ना, जइन्द्र बोर्डिङ स्कुल, ज्योतिष्मती विद्यापीठ, खिमबहादुर शाह माध्यमिक विद्यालय कोलही, नगर स्वास्थ्य केन्द्र कोलही, गोरखा बोर्डिङ स्कुल लमही, आदर्श माध्यमिक विद्यालय देउपुर, माध्यमिक विद्यालय हसनापुर, राप्ती माध्यमिक विद्यालय उचानिम्बु, आधारभूत विद्यालय भत्तरकुण्डा, आधारभूत विद्यालय असानी, सतवरिया स्वास्थ्य चौकी, बगारवावा माध्यमिक विद्यालय रिहार तथा माध्यमिक विद्यालय अमिलियालाई खोप केन्द्र तोकेर खोप लगाउन सुरु गरिएको छ ।