दाङमा तोरी उत्पादन बढ्दै

अमरराज आचार्य
दाङ, २६ माघ । दाङमा पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । विगत चार वर्षको तथ्याङ्क हेर्दा तोरी उत्पादनमा वृद्धि भएको हो । तोरी खेती गर्ने किसानको सङ्ख्या, उन्नत जातको तोरी खेती र क्षेत्रफलसमेत बढ्दा उत्पादन बढेको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वन इकाइ दाङका तोरी जोन अनुसार क्षेत्रफलसँगै उत्पादन वृद्धि भएको हो । तोरी जोन सुरु भएपछि जिल्लाको पश्चिम क्षेत्रमा व्यावसायिक रूपमा खेती गर्ने कृषकको सङ्ख्या वृद्धि भएको छ । आम्दानी राम्रो हुने भएपछि तोरी खेतीमा आकर्षित हुनेको सङ्ख्या बढ्दै गरेको कृषक बताउँछन् ।

आर्थिक वर्ष २०७९÷०८० मा तोरी जोन अन्तर्गतको क्षेत्रमा एक हजार दुई सय हेक्टरमा खेती गरिएको थियो । जसमा एक हजार नौ सय ३२ मेट्रिक टन तोरी उत्पादन भएको तोरी जोनका प्रास सूर्यज्योति केसीले जानकारी दिइन् । आर्थिक वर्ष २०८०÷०८१ मा एक हजार दुई सय हेक्टरमा तोरी खेती गरिएकोमा दुई हजार चार मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

आर्थिक वर्ष ०८१÷०८२ मा एक हजार दुई सय ४२ हेक्टरमा तोरी खेती गरिएकोमा दुई हजार एक सय २३ दशमलव ८२ मेट्रिक टन उत्पादन भएको हो । आर्थिक वर्ष ०८२÷०८३ मा एक हजार दुइ सय ७८ दशमलव शून्य दुई हेक्टरमा तोरी खेती गरिएकोमा दुइ हजार एक सय ९८ दशमलव १९ मेट्रिक टन उत्पादन भएको छ । प्रतिहेक्टर एक दशमलव ७२ उत्पादकत्व रहेको छ । तोरी जोनले कृषकलाई प्राविधिक, बिउ तथा प्रविधिमा सहयोग गर्दै आएको प्रास केसीले बताइन् । तोरी जोन पश्चिम क्षेत्रको दंगीशरण, शान्तिनगर, बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाको केही वडामा सञ्चालनमा रहेको छ । तोरी खेती गर्ने कृषकले क्षेत्रफलसमेत विस्तार गदै गएको छन् ।

पहिले एक बिघामा खेती गर्नेले अहिले साढेदुई बिघा बढी क्षेत्रफलमा तोरी खेती गर्दै आएको परियोजनाले जनाएको छ । तोरीबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएकाले यसलाई विस्तार गर्दै गएको कृषकको भनाइ छ । उत्पादन भएको तोरी बिक्रीमा समेत कुनै समस्या नभएको कृषक बताउँछन् । उत्पादन भएको तोरी घरबाटै बिक्री हुने गरेको र तोरीको मूल्यसमेत राम्रो पाएको परियोजनाले जनाएको छ ।

कृषकले प्रतिक्विन्टल १४ हजार रुपैयाँमा तोरी बिक्री गरेको बताएका छन् । पश्चिम क्षेत्रमा उन्नत जातको तोरीको खेती गर्दै आएको परियोजनाका प्रास केसीले बताइन् । कृषकलाई तोरी जोनले बिउमा ५० प्रतिशत अनुदान, प्राविधिक सहयोग तथा प्रविधिमासमेत अनुदान दिँदै आएको छ । यसले कृषलाई तोरी खेतीमा लाग्न प्रेरित गरेको उनले बताइन् । कृषकले उत्पादन गरेको तोरी राख्नका लागि गोदाम घर तथा तोरी पेल्ने मिलमा तोरी जोनले अनुदान दिएको छ । ‘यसले कृषकलाई धेरै सहयोग पुगेको छ’ उनल भनिन् ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९÷०८० मा १६ हजार चार सय १० हेक्टर क्षेत्रफलमा गरिएको तोरी खेतीबाट १८ हजार पाँच सय ४३ दशमलव तीन मेट्रिक टन तोरी उत्पादन भएको देखाएको छ । उत्पादकत्व एक दशमलव १३ रहेको थियो । आर्थिक वर्ष ०८०÷०८१ मा १६ हजार छ सय १५ हेक्टरमा तोरीखेती भएको थियो ।

आर्थिक वर्ष ०८१÷०८२ मा ३१ हजार पाँच सय ६८ दशमलव पाँच मेट्रिक टन तोरी उत्पादन भएको थियो । जसमा तोरीको उत्पादन १३ हजार २५ दशमलव दुई मेट्रिकटन तोरी उत्पादन वृद्धि हो । गत वर्षभन्दा यस वर्ष तोरीको उत्पादन वृद्धि ६८ दशमलव १४ प्रतिशत रहेको छ । जिल्लाको सबै क्षेत्रमा तोरी खेती हुँदै आएको छ । प्रायः देउखुरी, पश्चिम क्षेत्र तथा घोराही क्षेत्रमा तोरी खेती हुने गरेकोे छ ।

तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानको रूपमा रहेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिए । यसको पहिचान जोगाइराख्नु पर्ने उनको भनाइ छ । दाङकोे तोरीको तेलको मागसमेत अन्यत्र जिल्लामा धेरै रहेको उनले बताए ।

दाङको तोरीको माग काठमाडौं, पोखरा, चितवन, नेपालगन्जलगायतका जिल्लामा धेरै रहेको उनले बताए । ‘पहिलेदेखि नै दाङको तोरीको माग बाहिरी जिल्लाबाट धेरै हुने गरेको छ’, प्रमुख भण्डारीले भने । सहज रूपमा बिक्री भएमा कृषकको आकर्षण बढ्दै जाने उनको भनाइ छ । ‘उत्पादन भएको तोरी कुनै पनि कृषकलाई बजारको समयस्या नभएकाले पनि कृषकको सङ्ख्या तथा क्षेत्रफल बढेको हो’, उनले भने ।

तोरी खेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रसँग तथ्याङ्क छ ।