केपी सुवेदी
राजनीतिमा नैतिकताको ख्याल गरिएन भने अवसरवाद हाबी हुनथाल्छ र विस्तारै त्यसले समाजलाई भ्रष्टाचारको भूमरीमा हेलिदिन्छ । आज हाम्रो समाज भ्रष्टाचारको भूमरीमै फसेको छ । त्यो भूमरीबाट मुलुक र हाम्रो समाजलाई बाहिर निकाल्न एउटै व्यक्ति वा पार्टीको प्रयासले सम्भव हुँदैन । सबैमा सदबुद्धिको जागरण हुन अनिवार्य छ ।
लोकतान्त्रिक व्यवस्था स्थापना भएपछि भ्रष्टाचार अन्त्यको प्रयास नभएको होइन तर जसलाई भ्रष्टाचार भएन भएको छानविन गरी त्यसको सत्यतथ्य सार्वजनिक गर्ने जिम्मा दिइयो स्वयम् भ्रष्टाचारमा रुमलिन थालेपछि अन्त्याको सम्भव नै बाँकी रहेन । राज्यको सबै निकाय र तहमा प्रतिनिधिको हैसियतले जिम्मेवारी पाएको होस् वा राष्ट्रसेवकको हैसियतमा जिम्मेवारी पाएको होस्, दुवैथरीबाट राष्ट्रिय स्वार्थ चटक्कै बिर्सेर निजीस्वार्थ राष्ट्रको सम्पत्ति चोरी गर्ने, लुट्ने वा दुरुपयोग गरेर आफ्नो बनाउने संस्कृतिकै विकास भएपछि कसले कसलाई सुधार्न सक्छ ?
कसैले यसको जवाफ दिन पनि सक्दैन र त्यो पत्याउन लायक पनि हुन्न । यो प्रसंग वा संन्दर्भको कुरा किन उठाइएको हो भने यतिखेर मुलुक चुनावी मौसमले रङ्गिएको छ र विभिन्न पार्टी र व्यक्तिहरुको देश बदल्ने अभिव्यक्ति प्रतियोगिता भइरहेको छ । यसै सन्दर्भमा कोही यथार्थमा आधारित हुनसक्छन् तथापि धेरैजसोमा यथार्थभन्दा धेरै अगाडि बढेर बाचा गर्ने होड चलाउँदै छन् । उनीहरुलाई पत्याउनु पर्ने बाध्यता नभए पनि भ्रम बेचेर जनमत किन्ने आँट गरिरहेका छन् ।
राजनीतिमा जबसम्म नैतिक मूल्य र मान्यतालाई आत्मसात गरिँदैन तबसम्म जिम्मेवारी अनि जवाफदेहिता व्यवहारमा देखिँदैन । समाज बदल्न सबैभन्दा पहिले आफूलाई बदल्नुपर्छ भनिन्छ । आफूलाई बदल्दा पनि सबैले देख्ने, सुन्ने र बुझ्ने गरी बदलिने प्रक्रियालाई भनिन्छ । यो सबै कुरा पारदर्शी तरिकाले हुनुपर्छ । बदलिएको ढोंग गरेर समाजलाई छल्ने कोशिस जहिलेसम्म ठूला भनाउँदा ठालुहरुबाट भइरहन्छ त्यतिबेला समाजलाई धोका हुन्छ, विश्वासघात हुन्छ, यस पटक फेरि त्यो प्रवृति हाबी भएको छ ।
जेन–जी पुस्ताको आवरणमा धेरै भूमिगत राजनीतिले मुलुकलाई घेराबन्दिमा पारेको छ । जेन–जी पुस्ताको भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शी शासन व्यवस्था मागेर गरिएको आन्दोलनलाई ध्वंसमा बदल्न भूमिका खेल्ने पात्रहरुले त्यसपछि गठन भएको सरकारलाई आफ्नो नियन्त्रणमा राख्ने कोशिश गरेका थिए र निर्वाचन हुन नदिने सम्मका धम्किको भाषा बोल्दै थिए मानाँै यो मुलुकमा अब उनीहरुनै सर्वेसर्वा भइसकेका छन् ।
उनीहरुले राजनीतिक दलको गतिविधिलाई नियन्त्रण र नियम नगर्ने हैसियत राख्छन् भन्ने मान्यता स्थापित गर्ने कोशिस गरे तर नेपाली जनता ध्वंसावशेषबाट माथि उठेर शान्ति र संवृद्धिको सपना देखिरहेको बेला ध्वंसका हिमायतीको हाली मुहाली स्वीकार्य हुने कुरै थिएन । त्यसकारण परिवर्तनको सकारात्मक विन्दुलाई प्रस्थानविन्दु मानेर लोकतान्त्रिक विधिबाट स्थापित हुने कानुनी शासनको पक्षमा उभिएका छन् ।
चुनावी सरगर्मी बढेसँगै जनमत सर्वेक्षणदेखि विभिन्न प्रयोग र परिक्षण गर्नेकाम भइरहेको छ । सामाजिक सञ्जालको चरम दुरुपयोगले उम्मेदवार र मतदाताको पनि मान हानी र चरित्र हत्या गर्ने अभिव्यक्ति संप्रेषण भइरहेकै छन् । सामाजिक सञ्जाललाई यही ढंगले दुरुप्रयोग गरेर चेतनाको ज्वारभाटा सम्झने हो भने त्यसले सबैभन्दा पहिले प्रयोगकर्ता त्यसको शिकार हुनुपर्ने छ ।
निर्वाचन कानुन उल्लंघन गर्ने, मतदाता प्रभावित गरेर मत बदल्न लगाउने सम्मका गतिविधि सामाजिक सञ्जालबाट भइरहेका छन् । भौतिक साधनको सदुपयोगले संसारको रुप बदल्न र कायापलट गर्न मानिसको सफल प्रयत्नलाई पछ्याउँदा स्वयम् अनुशासित हुनुपर्ने हुन्छ । यदी त्यसरी सम्भव नभए राज्यले कानुनको प्रयोग गरेर अनुशासन कायम गर्नुपर्छ । भ्रम छर्ने साधन बनाउन खोजिएकै कारण राज्यका सरोकारवाला निकायबाट यसलाई नियमन गर्न सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले नै उर्दि जारी गरेर गोपनीयताको रहस्य कायम राख्न सूचना गरेको सुनिँदै छ । तथ्यपरक सूचनाको हक तोडमोड गरेर भ्रिमित गर्न खोज्दा सत्य घटना पनि रहस्यमय बनाउन खोजिएको पाइन्छ । सत्यलाई बंग्याउन प्रयोग भएको पछिल्लो कृत्रिम वौद्धिकता देखाउने नमुनाले काम गरेको छ । जसरी पनि परिणाम आफ्नो पक्षमा पार्न सामाजिक सञ्जाललाई दुरुपयोग गर्न खोजियो भने कसैले पनि यसको जोखिमको अनुमान गर्न सक्दैन भन्ने लाग्छ । सामाजिक सञ्जालको प्रयोगबाट हुने हिंसा वा प्रतिहिंसा दुवै साइबर अपराध हो भनेर भनिरहँदा कुनैबेला निवर्तमान प्रधानमन्त्री केपी ओलीले पनि साइबर युद्ध चलाउने गर्थे ।
आफ्नो विपक्षमा भारी जनमत देखिन थाल्दा त्यसबाट पछि हटेर नियमन गर्ने अवस्थामा पुगे । उनको पछिल्लो कदमले उनलाई सत्ताबाट सडकमा पु¥यायो । अहिले दुरुपयोगमा रास्वपा, राप्रपा, राजावादी अगाडि छन् । भ्रम र यथार्थको अंश छुट्याउन त्यसबाट उपलब्ध परिणामको परिमाण प्राप्त भएपछि उसैका लागि प्रत्युत्पादक हुनेछ । सबैको परीक्षा समयलेनै लिनेछ त्यसमा सहभागी हुनैपर्छ मात्र धैर्य र संयमता अहिलेको आवश्यकता हो ।