भरत विश्वकर्मा
रोल्पा, २४ माघ । रोल्पामा सुन्तला खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् । अन्य उत्पादनभन्दा सुन्तलाले बढी आम्दानी दिन थालेपछि किसान यसतर्फ आकर्षित हुन थालेका हुन् ।
सुनिलस्मृति–७ तेबाङकी दुरिकला घर्तीले गहुँ, मकैलगायतका नगदेबालीबाट सोचे जस्तो उत्पादन नभएपछि करिब २० वर्ष पहिले बाँझो बारीमा सुन्तला खेती गरेकी थिइन् । अहिले उनको मुख्य आयस्रोत नै सुन्तला बनेको छ । तेबाङमा पछिल्लो समय सुन्तला उत्पादमा वृद्धि भएको छ । यस क्षेत्रको सुन्तला बिक्रीको लागि नजिकमा रहेको सुलिचौर बजार हो ।
यहाँ उत्पादित सुन्तला प्युठान, दाङ, बुटवल, पोखरालगायतका मुख्य सहरमा निर्यात हुने गर्छ । यहाँको सुन्तला उत्पादन क्षेत्रलाई सुन्तला पकेट क्षेत्रको रूपमा विस्तार गरिएको छ । सुन्तला उत्पादनमा वृद्धि भएपछि बजार समस्याका कारण लामो समयसम्म बोटमै रहने गरेको अर्का कृषक रेगबहादुर घर्ती मगरले बताए ।
‘गाउँमा पछिल्लो समय सुन्तला उत्पादनमा वृद्धि भएको छ, नयाँ पुस्ताले यसलाई व्यवसायीकरण गर्दै छन् । त्यसकारण सुन्तलाले सोचे जस्तो मूल्य पाउन सकेका छैनन्’, उनले भने, ‘चिस्यान केन्द्रको व्यवस्था हुन सके भण्डारण गरेर पछिसम्म सुन्तला बिक्री गर्न सकिने थियो ।’
तेबाङमा सुन्तला खेतीमा आबद्ध करिब ५०–६० घरपरिवारमध्ये केहीले पछिल्लो समय व्यवसाय नै दर्ता गरेर खेती सुरु गरेका छन् । कतिपय कृषकहरू व्यवसाय दर्ता गरेर सुन्तला खेतीलाई थप व्यवस्थित गर्ने सोचमा छन् । सुनिलस्मृति–७ कै अर्का किसान दुजराम रोका मगर व्यसाय नै दर्ता गरेर सुन्तला खेतीमा लागेका छन् ।
२०७१ सालमा विदेश जाने सोच त्यागेर सुन्तला खेती सुरु गरेका उनले अहिले सात रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । यसलाई अझै वृद्धि गर्ने सोचमा रहेको उनले बताए । यस वर्ष सुन्तला बिक्रीबाट पाँच लाख रुपैयाँ बराबरको आम्दानी भएको उनले बताए । रोका मगर जस्तै पछिल्लो समय सुन्तला खेतीमा अन्य किसान पनि आकर्षित हुन थालेका छन् ।
सोही गाउँकी कृषक पूर्णिमा घर्ती मगर पनि सुन्तला खेतीमा रमाएकी छिन् । उनले यस वर्ष मात्र करिब दुई लाख बराबरको सुन्तला बिक्री गरेको बताइन् । परम्परागत रूपमा धान, कोदो, मकै एवम् गहुँलगायतका खेती गर्दै जीविकोपार्जन गर्दै आएका तेबाङका स्थानीयले नगदेबालीको रूपमा सुन्तला खेतीलाई विस्तार गरेर आम्दानी गरिरहेका छन् । अहिले सुन्तला उत्पादनमा वृद्धि हुन थालेपछि तेबाङको खोरबाङ, सराङ्गेपोखरालगायतका टोलका करिब ५०–६० घरपरिवारको जीवन उकास्नमा यसले सहयोग गरेको छ ।
कृषिमा आत्मनिर्भर बन्नका लागि एकद्वार प्रणालीमार्फत् कृषकका लागि अनुदानलगायत सम्पूर्ण कुराहरूमा जोड्ने तयारी गरिरहेको वडाध्यक्ष रेशम शर्माले बताए । जीविकोपार्जनको मुख्य आधार नै कृषि भएकोले समग्र कृषि क्षेत्रलाई जोड्ने खालको कानुन बनाएर गाउँपालिका अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
तेबाङको गाउँमा मात्रै अहिलेसम्म करिब ३०–४० लाख मूूल्य बराबरको करोबार भएको उनले बताए । ‘सुन्तला उत्पादनले गर्दा तेबाङका धेरैको रोजीरोटी चलेको छ’, वडाध्यक्ष शर्माले भने, ‘यस क्षेत्रमा सुन्तला उत्पादनको अत्यन्त सम्भावना भएकोले युुवाहरू विदेश जान छाडेर सुन्तला खेतीतर्फ लाग्न आग्रह गर्दछु ।’ यहाँका अधिकांश कृषक कुनै तालिम र प्राविधिकको सहायताविनै सुन्तला खेतीमा आकर्षित छन् ।
पछिल्लो समय व्यावसायिक खेती गरिरहेका किसानको लागि गाउँपालिकाले प्रत्येक वडामा कृषि प्राविधिक खटाएको सुनिलस्मृति गाउँपालिका कृषि शाखा प्रमुख डिल्ली केसीले बताए । उत्पादनमा वृद्धि गर्न र व्यावसायिक खेतीतर्फ किसानलाई सघाउन पालिकाले किसानलाई बिरुवा वितरण, प्राविधिक ज्ञान प्रदान गर्ने गरेको उनको भनाइ छ ।
जिल्लामा उत्पादन हुने फलफूलमध्ये सबैभन्दा बढी उत्पादनको हिस्सा सुन्तलाको रहेको छ । कृषि ज्ञान केन्द्र रोल्पाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा जिल्लामा आठ सय २५ हेक्टर क्षेत्रफलमा गरिएको फलफूल खेतीमा १७ हजार टन फलफूल उत्पादन भएको थियो ।
जसमा आठ हजार टन सुन्तला मात्रै उत्पादन भएको हो । जिल्लामा उत्पादन हुने फलफूलको झन्डै आधा हिस्सा सुन्तलाले लिएको छ । जिल्लामा पछिल्लो समय सात सय ७९ हेक्टर क्षेत्रफलमा सुन्तलाको खेती गरिएको छ ।