अमरराज आचार्य
दाङ, २४ माघ । दाङमा छ महिनामा ७२ करोड बढीको लगानी भएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को पुस महिनासम्म साना उद्योग तथा वाणिज्यमा ७२ करोड आठ लाख ४० हजार आठ सय रुपैयाँ लगानी भएको छ ।
घरेलु तथा साना उद्योगतर्फ ४२ करोड ३२ लाख ५२ हजार पाँच सय र वाणिज्यतर्फ २९ करोड ७५ लाख आठ हजार तीन सय रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङको छ महिनाको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लामा घरेलु तथा साना उद्योगहरूको सम्भावना राम्रो भए पनि त्यस अनुसार सञ्चालनमा आउन सकेका छैनन् ।
दर्ता भएका उद्योगहरू पनि उत्पादनमा भन्दा कागजी रूपमा देखिने गरेका छन् । छ महिनाको अवधिमा उद्योग र वाणिज्य फर्म गरी पाँच सय आठ वटा दर्ता भएका छन् । जसमा उद्योग दुई सय ५० दर्ता भएका छन् । वाणिज्य फर्म तीन सय ३८ दर्ता भएका छन् । यसरी थपिएका उद्योग तथा व्यवसायमा तीन सय ५७ जना उद्यमी बनेका छन् । जसमा पुरुष दुई सय १० जना र महिला एक सय ४७ जना रहेका छन् ।
यसरी थपिएका उद्योग व्यवसायमा नौ सय ६२ जनाले रोजगारी प्राप्त गरेका छन् । पाँच सय ८२ जना पुरुष र तीन सय ८० जना महिलाले रोजगारी प्राप्त गरेको छ महिनाको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लामा कृषि, जडिबुटी, सेवामूलकलगायतका साना उद्योगहरू थपिएका छन् ।
पुस मसान्तसम्म दुई सय ४८ उद्योग तथा वाणिज्य फर्म बन्द भएका छन् । बन्द हुनेमध्ये उद्योगतर्फ एक सय तीन वटा र वाणिज्यतर्फ एक सय ४५ वटा फर्म रहेका छन् । यो सङ्ख्या कार्यालयसम्म पुगेर बन्द गराउनेको हो । धेरै उद्योग व्यवसाय बन्द भए पनि आधिकारिक रूपमा बन्द गराउनेको सङ्ख्या कम रहेको व्यवसायही बताउँछन् ।
बैंकको ऋणका लागि कागजी रूपमा बन्द नगराउने गरेको बताइएको छ । छ महिनामा एक हजार तीन सय ९५ वटा उद्योग वाणिज्य फर्म नवीकरण भएका छन् । यसरी नवीकरण हुनेमा उद्योगतर्फ पाँच सय ६४ र वाणिज्यतर्फ आठ सय ३१ वटाको नवीकरण गरिएको हो । यस अवधिमा चार सय ३२ वटा उद्योग तथा व्यवसायले अन्य संशोधन गरेका छन् । जसमा एक सय ५० वटा उद्योग र दुई सय ८२ वाणिज्य फर्मले संशोधन गरेका हुन् ।
उद्योगको लगत कट्टा गर्ने व्यवसायीलाई कार्यालयले लगत कट्टा गर्नुको कारण सोध्दा व्यवसाय नचलेका कारण बन्द गर्नुपरेको बताउने गरेका छन् । ‘लगत कट्टा गर्नेले व्यवसाय नचलेका कारण बन्द गर्नु परेको बताउने गरेका छन्’, घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले भने, ‘अधिकांशले पसल÷व्यवसाय नचलेको र त्यही कारणले बाहिर जान चाहेको बताउने गरेका छन् ।’
घरेलु तथा साना उद्योग कार्यालय दाङमा नयाँ व्यवसाय दर्ता गर्न आउने व्यवसायीमा उत्साह नभएको उनले बताए । देशको अहिलेको अवस्थाले पनि आकर्षण नबढेको हुनसक्ने यस क्षेत्रका जानकार बताउँछन् । लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेर ऋणमा फसेको, विदेश जानु पर्ने भएकाले व्यवसाय बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको बताउने गरेको सूचना अधिकारी पौडेलले बताए ।
उनले भने, ‘जिल्लामा नयाँ व्यवसाय दर्ता गर्ने र बन्द गर्नेको तथ्याङ्क हेर्दा खासै अन्तर देखिँदैन् । व्यावसायिक क्षेत्रमा खासै उत्साह देखेको छैन ।’ लगानीमैत्री वातावरण सिर्जना नहुँदा लगानी गर्नेको मनोबल घट्दै गएको निजी क्षेत्रका अगुवाहरू बताउँछन् । सरकारले लगानीको वातावरण बनाएर लगानीको सुरक्षा गर्न नसक्दा यस्तो अवस्था भएको उनीहरूको भनाइ छ ।
करिब ८२ लाख बढी राजस्व
जिल्लामा घरेलु उद्योग तथा वाणिज्य फर्मबाट छ महिनाको अवधिसम्म करिब दुई लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । पुस मसान्तसम्म ८१ लाख ८७ हजार तीन सय चार रुपैयाँ राजस्व सङ्कलन भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । सङ्कलन भएको राजस्वमध्ये उद्योगबाट ३२ लाख १६ हजार दुई सय ६५ रुपैयाँ र वाणिज्य फर्मबाट ४९ लाख ७१ हजार ८३ रुपैयाँ रहेको छ ।