महिला समूहको सामूहिक प्याज खेती

आलोक भावुक
गढवा, २४ माघ । गढवा गाउँपालिका–७ घोराहा, देउखुरीमा उद्यमी महिला समूहले सामूहिक प्याज खेती सुरु गरेका छन् । गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित लालीगुराँस उद्यमी महिला समूहका सदस्यले आयआर्जनका लागि सामूहिक प्याज खेती थालेका हुन् ।

लालीगुराँस उद्यमी महिला समूहकी अध्यक्ष मन्जु चौधरीका अनुसार २६ जना महिला सदस्यले पालिका तथा भिटा परियोजनाको सहयोगमा १० कट्ठा क्षेत्रफलमा प्याज खेती सुरु गरेका हुन्् । सामूहिक खेतीबाट महिलाको आयआर्जन बढ्ने विश्वास गरिएको छ । भिटा परियोजना अन्तर्गत गठन भएका उद्यमी महिला समूहले गढवा गाउँपालिकाका विभिन्न वडामा राजमा खेती, बेसार खेती तथा धान खेती गर्दै आएका छन् ।

यसरी गरिएको सामूहिक खेतीबाट समूहलाई राम्रो आम्दानी हुने गरेको छ । यसैगरी वडा नं. ७ को विजयपुरमा गठित चेतनशील महिला उद्यमी समूहले सामूहिक व्यावसायिक खेती गर्दै हालसम्म एक लाख रुपैयाँ बढी आम्दानी गर्न सफल भएको समूहकी अध्यक्ष गौरी बोहराले बताइन् ।

सामूहिक प्याज खेतीको अनुगमनका क्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सामूहिक रूपमा व्यवसाय गर्ने उद्यमी महिला समूहलाई गाउँपालिकाले आवश्यक सहयोग निरन्तर गर्ने बताए । ‘महिला सशक्तीकरणलाई केन्द्रमा राख्दै गाउँपालिकाले कृषि, पशुपालन र व्यावसायिक उत्पादनमा तालिम, प्रविधिसहितको ज्ञान, सिप तथा उन्नत जातको बिउ, बोका र राँगा वितरण गर्दै आएको छ । यसको प्रत्यक्ष लाभ अहिले किसानले पाइरहेका छन्’, उनले भने ।

भिटा परियोजना कार्यक्रम संयोजक वसन्तकुमार शर्माले भिटा परियोजनाको मुख्य उद्देश्य महिलालाई आत्मनिर्भर बनाउने रहेको बताए । उनले भने ‘सामूहिक खेती र व्यवसायमार्फत् महिलालाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यसहित परियोजना सञ्चालन गरिएको हो । प्याज खेती जस्ता व्यावसायिक कार्यक्रमले महिलाको आयआर्जन बढाउनुका साथै स्थानीय उत्पादन प्रवर्धनमा समेत टेवा पु¥याएको छ ।’ प्याज खेती गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजनाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ ।