‘भूस्वामित्व दिलाउन संसदीय आयोग’

गोरक्ष समाचारदाता
तुलसीपुर, २४ माघ । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूको घरदैलो थप जागरुक बनेको छ । उम्मेदवार चुनावी अभियान अन्तर्गत अहिले घरदैलो अभियानमा जाने र जनताका अपेक्षा बुझ्ने गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीलाई तुलसीपुर उपमहानगरपालिका–७ का मतदाताले भूस्वामित्वको मागलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन् । ‘खै के मागौँ, सिँचाइ माग्न हामीलाई जग्गा छैन, बाटो मागौँ भने घरकै स्थायित्व छैन, बसेकै घर ऐलानीमा छन्, हाम्रो पहिलो पाँर्थमिकता भनेकै भूस्वामित्व हो’, तुलसीपुर उपमहानगरपालिका–७ राजापुरस्थित भूमिहीन बस्तीमा मत माग्न पुगेका उम्मेदवार गिरीलाई स्थानीय भूमिहीन निर्मलाकुमारी गुप्ताले भनिन् ।

उनले चुनावमा प्रचारप्रसार गर्न धेरै उम्मेदवार आउने तर चुनाव जितेपछि, ‘बस्तीमा के कस्ता समस्या छन् ?’ भनेर कोही पनि फर्किएर नआउने गरेको निर्मलाको गुनासो थियो । ‘हामी कांग्रेसबाहेक अरू कोहिलाई मत दिँदैनौ तर हाम्रो विश्वासको प्रतिफल दिनुहोला’, निर्मलाले दोहो¥याइन् । राजापुरको धेरै भोक भनेको भूस्वामित्वकै रहेको उनको गुनासो थियो ।

तुलसीपुर–७ का धेरै स्थानमा भएको घरदैलोमा मतदाताले भूस्वामित्वलाई नै सम्बोधन गर्न उम्मेदवारसँग आग्रह गरेका थिए । धेरै पटक भूमिहीनको समस्या समाधान गर्न थुप्रै आयोग बने पनि ऐलानीमा बसेका उनीहरूले वर्षौंदेखि बसेको जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । वडा नं ७ कै पर्सेनीमा आयोजित घरदैलोमा पनि मतदाताको आशा ऐलानी जग्गामा बसोबास गर्दै आएकालाई जग्गाको स्वामित्व नै पहिलो माग थियो । त्यसो त मतदाताले पक्की बाटो, बाटोमा नालाको व्यावस्था, बाह्रैमहिना सिँचाइ सुविधा भए आफूहरूलाई नगरबासीको अनुभुति हुने आशा व्यक्त गरेका थिए ।

मतदाताका आग्रहलाई सम्बोधन गर्दै उम्मेदवार गिरीले तुलसीपुरका धेरै क्षेत्रमा समस्या भनेकै जग्गाको स्वामित्व रहेको आफूले बुझेको बताउँदै यसलाई सम्बोधन गर्न आफ्नो पहिलो पहल हुने बताए । ‘निर्मलाको अभिव्यक्तिले मेरो मन छोएको छ, साच्चै भूमिहीनको समस्या मुलुकमा विकराल छ, त्यसमा पनि तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा धेरै छ’, गिरीले भने, ‘आफूले फेरि प्रतिनिधि सभाको प्रतिनिधित्व गर्ने अवसर पाएमा उच्चस्तरीय संसदीय आयोग गठन गरी भूमिहीनको समस्या समाधान गर्नेछु ।

तुलसीपुर उपमहानगरपालिका भएर पनि यहाँका धेरै जसो बस्ती न गाउँ भन्न मिल्ने न सहर भन्न मिल्ने भएकाले सबै बस्तीलाई सहर बनाउन आफ्नो भरमग्दुर प्रयत्न हुने बताए । हरेक क्षेत्रमा पक्की नालासहितको कालोपत्रे सडक निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने र गर्न नसक्ने कामका लागि अन्य निकायमा समन्वय गर्ने उम्मेदवार गिरीको मतदातालाई आश्वासन थियो ।

गाउँका बस्तीमा सहरीकरण गर्न र कृषिलाई आयआर्जनमा जोड्न आफूले ड्रिम प्रोजेक्ट ल्याउने उम्मेदवार गिरीको लक्ष्य छ । दाङ कृषि उत्पादनका लागि ऊर्वर भूमि भएकै कारण आफूले छोटो समयमा सिँचाइ मन्त्री हुँदा दाङमै बृहत दाङ सिँचाइ परियोजना ल्याएको बताउँदै उनले कृषिलाई आधुनिकीकरण गर्दै किसानलाई समृद्ध बनाउन विभिन्न स्थानमा कोल्डस्टोर खोल्ने मतदातालाई आश्वासन दिए ।

यसैगरी अर्को प्रसङ्गमा उम्मेदवार गिरीले अहिले मुलुक गम्भीर सङ्कटबाट गुज्रिरहेकाले निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराई नयाँ जनादेश लिएर समृद्ध नेपालका लागि आफूले पहल गर्ने बताए । घरदैलोका क्रममा उम्मेदवार गिरीले मुलुकलाई नयाँ दिशामा लगेर समृद्ध बनाउन संविधान संशोधन आवश्यक भएकाले त्यसमा नेपाली कांग्रेसले अर्थपूर्ण पहल गर्ने बताए । ‘विकास निर्माणसँगै हामीले जनतालाई पाच्य हुने गरी संविधान संशोधन गर्नु पर्नेछ, त्यसका लागि नेपाली कांग्रेसलाई मत दिन आममतदातासँग आग्रह गर्दछु’, उम्मेदवार गिरीले भने ।

घरदैलो कार्यक्रममा समानुपातिकतर्फका उम्मेदवार देवकी नेपालीको पनि सहभागिता थियो । देशलाई समस्या पर्दा नेपाली कांग्रेस चट्टान जस्तै उभिने भएकाले आफूहरूलाई मतदान गर्न आग्रह गरिन् । मुलुकमा फेरि लोकतन्त्र सङ्कटमा पर्न थालेकाले लोकतन्त्रको संस्थागत विकासमा कांग्रेसको उपस्थिति अनिवार्य रहेको उनको अभिव्यक्ति थियो ।