उपन्यासमा सम्वृद्धिको नयाँ आयाम
एकराज शर्मा अधिकारी
विचार
यदि साहित्य देश, माटो र सम्वृद्धिको विषयमा केन्द्रित हुन्छ भने यसले सबै वर्गका पाठकहरुलाई लाभ पु¥याउँछ । किसानले कृषि मोडल सिक्न सक्छ, युवाले उद्यमको महत्व बुझ्छ, नीति निर्माताहरुले जनचेतनाको आवश्यकता महसुस गर्छन् ।
नेपालको सन्दर्भमा यो परिवर्तन थप महत्वपूर्ण छ । हामीले अझै राजनीति स्थिरता हासिल गर्न सकेका छैनाँै । राजनीतिक स्थिरताबिना आर्थिक विकास हुन सक्दैन । अहिले नेपालमा आर्थिक विकासको खाँचो छ । तर, विकासको लागि राजनीतिक स्थिरता नै चाहिन्छ ।
राजनीति स्थिरता भएपछि जनमानसमा सकारात्मक सोचको उदय हुन्छ र जनताले सकारात्मक दृष्टिकोण दिन सक्छन् । आजकाल नेपाली उपन्यासले विज्ञान प्रविधि र राष्ट्रिय नीतिलाई समेटेर योगदान दिइरहेका छन् । यो प्रयोगलाई प्रोत्साहन दिनुपर्दछ । साहित्यिक संस्थाहरु, प्रकाशकहरु र पाठकहरुले यस्ता उपन्यासलाई प्राथमिकता दिनुपर्छ । अन्यथा साहित्य परिर्वतनको गतिसम्म तालमेल हुन सक्दैन ।
नेपाली साहित्यको इतिहासलाई हेर्दा मुख्यत प्रेम, माया, घरपरिवार र सामाजिक सम्बन्धको सेरोफेरोमा घुम्दै आएको पाइन्छ । कवि भानुभक्तको कालदेखि नै नेपाली साहित्यमा भावनात्मक, पारिवारिक सम्बन्ध केन्द्रित कथाहरुले प्राथमिकता पाउँदै आएका छन् । ती उपन्यासहरुमा प्रेमको, पीडाको, वैवाहिक जीवनको उतारचढाव, पारिवारिक कलह र समाजका स–साना घटनाहरुले पाठकहरुलाई आकर्षित गर्दै आएका छन् ।
यस्ता घटनाहरुले व्यक्तिगत जीवनको प्रतिविम्ब प्रस्तुत गर्दै साहित्यलाई जीवनन्त बनाएका छन् । तर, यो परम्परा ढाँचाले नेपाली उपन्यासलाई सीमित घेराभित्र राखेको छ । अहिले साहित्यमा एउटा नयाँ सकारात्मक परिवर्तन आएको छ । अहिले युवा उपन्यासकारहरुले देशको सम्वृद्धि, विकासका अवधारणा र राष्ट्रिय मुद्दाहरुलाई समेटेर नयाँ प्रयोग सुरु गरेका छन् । यस कार्यले नेपाली साहित्यलाई थप मद्दत पु¥याएको छ । पहिलेका साहित्य व्यक्तिगत सन्तुष्टीका लागि सीमित थिए तर अहिले साहित्यलाई समाजको दर्पणको रुपमा मात्र नभई मार्ग दर्शकको रुपमा स्थापित भएको छ ।
साहित्य समाजको प्रतिविम्ब हो । नेपाल जस्तो विकासोमुख देशमा साहित्यले नै राष्ट्रिय चेतना जगाउन सक्छ । हाम्रो समाजमा बेरोजगारी समस्या छ, विदेश पलायन हुने बानीको परम्परा बस्न थालेको छ । कृषिको पछौटेपन जस्ता समस्याहरु छन् । साहित्यलाई मनोरञ्जनको मात्र माध्यम नबनाएर विकासको प्रेरणाको स्रोत बनाउन सक्नुपर्छ । यदि साहित्यले देश सम्वृद्धिमा केन्द्रित भई कलम चलाउन सक्यो भने सबै वर्गलाई लाभ पुग्ने छ ।
नेपालमा आर्थिक विकासको खाँचो छ । साहित्यले नकारात्मक सोचलाई चुनौती दिँदै सकारात्मक दृष्टिकोण दिन सक्छ । समाज र राष्ट्रले यस्ता उपन्यासलाई प्राथमिकता दिन सक्नु पर्दछ । उपन्यास पनि स्तरीय हुनु पर्छ । उपन्यासले देशलाई सही मार्ग दिन सक्छ । उपन्यासकारहरुलाई मर्यादित दृष्टिले हेर्नु पर्छ ।
