प्रेरणाको विन्दु : औँठीको मूल्य
तुफानबाबु श्रेष्ठ
एकजना उत्साही युवक एकदिन आफ्नो गुरुको सामु पुग्यो र जिज्ञासापूर्वक भन्यो– ‘गुरुज्यू, तपाई किन यति साधारण कपडा लगाउनुहुन्छ ? तपाईं जस्तो ज्ञानी व्यक्ति, जसले सयौँ शिष्यलाई शिक्षा दिनुभएको छ, तपाइको पहिरन त अत्यन्त साधारण देखिन्छ ।’ गुरु मुस्कुराए । केही क्षणपछि उनले आफ्नो औँलाबाट एउटा औँठी निकालेर शिष्यलाई दिँदै भने– ‘तिम्रो प्रश्नको उत्तर म अवश्य दिनेछु, तर पहिले मेरो एउटा सानो काम गर ।’
यो औँठी लिएर बजार जाऊ र कुनै तरकारी बेच्ने वा सामान बेच्ने व्यापारीलाई बेच्ने प्रयास गर । तर, ध्यान राख, यसको मूल्यमा कम्तीमा एउटा सुनको अशर्फी अवश्य ल्याउनु ।’ शिष्य तुरुन्तै बजार गयो, तर केही बेरमै औँठी वापस लिएर फर्कियो । गुरुले सोधे– ‘के भयो, तिमी किन फर्कियौँ ?’ शिष्यले केही लजाउँदै भन्यो– ‘गुरुज्यू, मैले यो औँठी तरकारीवालासँग, किरानावालासँग र अरू साना व्यापारीहरूसँग बेच्ने प्रयास गरेँ, तर कसैले पनि यसको बदला सुनको अशर्फी दिन मानेनन ।’
गुरुले मुस्कुराउँदै भने– ‘ठीक छ, अब यो औँठी लिएर कुनै जौहरी कहाँ जाउ र बेच्ने प्रयास गर ।’ शिष्य पुनः गयो । यस पटक फर्किँदा उसको अनुहारको भाव बद्लिएको थियो । गुरुले सोधे– ‘के भयो, यसपालि पनि कसैले अशर्फी दिन मानेन ?’ शिष्यले उत्साहित हुँदै भन्यो– ‘होइन गुरुज्यू ! यो त अनमोल रत्न रहेछ । जौहरीहरूले त भने, यो औँठीको मूल्य त लाखौँ अशर्फीले पनि पुग्दैन । यसलाई त हामी सबै मिलेर पनि किन्न सक्दैनौँ ।’
गुरु मुस्कुराए र शान्त स्वरमा भने– ‘यही त तिम्रो प्रश्नको उत्तर हो, बाबु । जसरी यो औँठी बाहिरबाट साधारण देखिन्छ तर वास्तवमा अत्यन्त मूल्यवान छ, त्यस्तै मानिसको मूल्य पनि बाहिरी रूपबाट थाहा हुँदैन । साँचो ज्ञान, शुद्धता र मूल्यवानता उसको अन्तर आत्मामा लुकेका हुन्छन् । बाहिरी वस्त्र त कुनै पनि धारण गर्न सकिन्छ, तर भित्री गुण र चरित्र नै उसको असली पहिचान हो ।’ शिष्यको मन शान्त भयो । उसले बुझ्यो– व्यक्तिको मूल्य उसको कपडामा होइन, उसको आत्मामा हुन्छ ।
आजको आधुनिक समाजमा के लगायौँ, कस्तो देखियौँ भन्ने कुराको निश्चित महत्व छ । साक्षात्कार, औपचारिक बैठक वा सार्वजनिक स्थानमा रूप–रंगले केही प्रभाव पार्छ । तर, यो पनि सत्य हो कि केवल बाहिरी देखावटबाट मानिसलाई मूल्याङ्कन गर्न मिल्दैन । हामीले कहिल्यै कसैलाई केवल त्यसले राम्रो कपडा नलगाएको भनेर तुच्छ नठानौँ र कसैलाई केवल सुन्दर पोशाक लगाएको कारण महान् पनि नमानौँ ।
मानिसको वास्तविक सुन्दरता उसको विचार, व्यवहार र हृदयको पवित्रतामा निहित हुन्छ । त्यसैले बाहिरी आवरण होइन, भित्री चरित्रको कदर गरौँ । यही नै जीवनको साँचो गहना हो ।
