दाङ,२३ माघ । प्रज्ञान एकेडेमीको प्रथम वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । घोराही उपमहानगरपालिका–१३ बडहरामा रहेकोे एकेडेमीले शुक्रवार विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरेर प्रथम वार्षिकोत्सव मनाएको हो ।
प्रज्ञान एकेडेमीका बोर्ड अफ डाइरेक्टरका अध्यक्ष आइतमाली विकको अध्यक्षता तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रकी सस्थापक अध्यक्ष तथा समाजसेवी विमला योगीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । त्यसअवसरमा बोर्ड अफ डाइरेक्टर अध्यक्ष आइतमाली विकले विद्यालयले छोटो अवधिमै शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रज्ञान एकेडेमीलाई नमुना शैक्षिक केन्द्रका रूपमा विकास गर्न अभिभावक, शिक्षक र समुदायको निरन्तर साथ आवश्यक रहेको बताएकी थिइन।
प्रमुख अतिथि विमला योगीले शिक्षा समाज रूपान्तरणको मुख्य आधार भएको धारणा राख्दै निजी विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै संस्कार र सीप विकासमा जोड दिनुपर्ने बताइन । उनले प्रज्ञान एकेडेमीले छोटाे समयमा गरेको प्रगतिको प्रशंसा गर्दै समयको विकाससंगै गुणस्तरीय शिक्षामा जोड दिएन आग्रह गरेकी थिइन ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले शिक्षासँगै सिर्जनशीलता र सामाजिक उत्तरदायित्वलाई जोड्नुपर्ने बताएका थिए ।त्यसैगरी प्याब्सन लुम्बिनी प्रदेश उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि अमर सुवेदी विद्यालयको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी क्षेत्रको शिक्षाले दाङको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
प्याब्सन घोराही नगर उपाध्यक्ष तथा गोरखा इन्टरनेसनल पब्लिक स्कुलका प्रिन्सिपलले विद्यालयबीच सहकार्य र अनुभव आदान–प्रदान आवश्यक रहेकोमा जोड दिएका थिए।मेचीकाली सेकेन्डरी स्कुलका प्रिन्सिपल चक्र रावतले विद्यार्थीको सर्वाङ्गीण विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखेका थिए । विद्यालयका प्रिन्सिपल विरेन्द्र चन्दले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक उपलब्धि, भावी योजना तथा पूर्वाधार विकासबारे जानकारी गराएका थिए ।
कार्यक्रममा जिके स्टार अफ द इयर २०८२ बाट कक्षा ८ की छात्रा ज्योति दर्लामीलाई नगद २५०० र ट्रफीद्वारा पुरस्कृत गरिएको थियो । साथै वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खेल सप्ताहअन्तर्गत विभिन्न विधाका प्रतियोगिता विजेता हुने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा तेक्वान्दो डेमो, विद्यार्थीका आकर्षक नृत्य, योगा प्रदर्शन तथा शिक्षकहरूको सामूहिक नृत्यले माहोल उल्लासमय बनेको थियो।
प्रथम वार्षिकोत्सबका अवसरमा अभिभावकको मत्रीपूर्ण कुर्सी दौडमा प्रथम हुने पुष्पा विक, द्वितीय हुने लालकुमारी बिक, तृतीय हुने अमृत परियार, त्यसैगरी घैटोफोरका विजेता अमृता बुढा मगरलाई सम्मान गरिएको थियो । पहिलो वार्षिकोत्सवमै प्रज्ञान एकेडेमीले देखाएको उत्साह, कुशल व्यवस्थापन र विद्यार्थी प्रतिभाले विद्यालयको उज्ज्वल भविष्यको स्पष्ट संकेत गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।
ईसिए कोअर्डिनेटर राजेन्द्र चन्द र विद्यार्थी ज्योति दर्लामीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका भाइस प्रिन्सिपल नवराज खत्रीले गरेका थिए ।