Goraksha

National Daily

राष्ट्रिय सभाको गरिमालाई थप विश्वसनीय बनाउनेछु : राष्ट्रिय सभा सदस्य घिमिरे [अन्तर्वार्ता]

नेपाल विद्यार्थी संघको राजनीति सुरुवात गरेका बासुदेव घिमिरे (जंगली) भर्खरै सम्पन्न राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशबाट उनीसँगै मुलुकभरबाट राष्ट्रियसभामा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने सदस्य संख्या २२ पुगेको छ । २०१४ सालमा हालको लमही नगरपालिका–२ बनकट्टामा जन्मिएका घिमिरेले २०३० सालमा सोह्र वर्षे उमेरमै घोराहीको पद्मोदय पब्लिक नमुना माविमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा उनले विद्यार्थी राजनीति सुरुवात गरे ।

अध्ययनकै क्रममा भारतको बनारस पुगेका घिमिरे नेविसंघको विदेश क्षेत्र विभागको अध्यक्ष बने । जुनबेला बनारसबाट अनेरास्ववियुको विदेश क्षेत्र संयोजक हाल एमाले महासचिव शंकर पोख्रेल थिए । विभिन्न चरणका आन्दोलनमा पक्राउ परी कारागार जीवन समेत भोगेका घिमिरे २०४० सालमै नेपाली कांग्रेसको जिल्ला सदस्यको भूमिकामा रहे । २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेका घिमिरे त्यसपछि नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिको भूमिकामा पनि लामो समयसम्म जिम्मेवारी निर्वाह गरे । तत्कालीन जिल्ला विकास सदस्य समेत रहेका घिमिरेको राजनीतिक निरन्तरताकै क्रममा गएको माघ ११ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा सदस्य पदमा लुम्बिनी प्रदेशमा निर्वाचित भए । सम्भवतः फागुन १८ गते पछि उनले विधिवत रुपमा राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा भूमिका निर्वाह गर्ने छन् ।

राजनीतिक समर्पणका नेता तथा राष्ट्रिय सभा सदस्यमा निर्वाचित बासुदेव घिमिरे (जङ्गली) सँग राष्ट्रियसभाको गरिमा र पदीय भूमिकाका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले गरेका कुराकानीको सार सङ्क्षेप ।

— बधाई अनि स्वागत छ, तपाईलाई गोरक्ष समसामयिक सातावार्तामा ।

धन्यवाद, तपाई अनि यस गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई । मलाई समसामयिक विषयमा बोल्न आमन्त्रण गर्नुभएकोमा ।

— के गर्दै हुनुहुन्छ अहिले ?

जिल्लामै हिडडुल घुमफिर । अघिल्लो कार्यकालका सदस्यहरूको पदावधि अझै समाप्न भई नसकेकाले त्यो समयसम्मका लागि यही जिल्लामा सहयात्री साथीभाइ, अग्रज तथा अन्य भिन्न–भिन्न क्षेत्रसँग सल्लाह सुझाव लिइरहेको छु । राष्ट्रिय सभाका सदस्यको पादवधि सकिनुभन्दा एक महिना अघिनै सो पदका लागि निर्वाचन गरिसक्नु पर्ने कानुनी व्यवस्था अनुसार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएँ । तर, अझै विधिवत रूपमा मैले पद बहाली गरेको छैन ।

फागुन १८ गते सेवा अवधि भुक्तान भएपछि बल्ल हामी नवनिर्वाचित सदस्यहरूले पदभार ग्रहण गर्ने हो । त्यो दिन अझै निश्चित भएको छैन । त्यसैले अहिले जिल्लामै भेटघाटमा व्यस्त छु । अग्रजहरूको आशिर्वाद र पार्टीको सल्लाह लिँदै तोकिएको दिन काठमाडौँ गएर पदभार ग्रहण गर्ने छु ।

— तपाईलाई पार्टीले दिएको टिकट र विजयलाई कसरी लिनु भएको छ ?

मैले यसलाई निष्ठाको राजनीतिको सम्मानका रूपमा लिएको छु । किनकि यस पटक सम्मानकै लागि पार्टीले टिकट दिएको थिएन, जित्ने निश्चित भएपछि दिइएको टिकटलाई मैले विशेष रूपमा आफू पार्टीबाट सम्मानित भएको रूपमा लिएको छु । नेपाली कांग्रेसमा योगदानको मूल्याङ्कन गर्ने पद्धति रहेछ भन्ने रूपमा मैले लिएको छु ।

मैले नेपाली मुलुकमा विभिन्न चरणका आन्दोलनमा लोकतन्त्रको स्थापनाका लागि कांग्रेसमा आवद्ध भएर वा नेतृत्व गरेर जे–जसो भूमिका निर्वाह गरेँ, त्यसलाई पार्टीले सुक्ष्म रूपले नियालिरहेको रहेछ भन्ने मलाई आत्मबोध भएको छ । त्यसैले अन्य राजनीतिक सहकर्मीहरूलाई पनि मैले भनेको छुँ, योगदानको उचित समयमा उचित सम्मान र कदर हुने रहेछ । त्यसैले पनि आस्था र विश्वासलाई अटल राखेर अघि बढौँ । एकदिन सबैको पालो आउँछ ।

— लामो समयसम्मको राजनीतिक संघर्षपछि तपाइ राष्ट्रियसभामा छिर्दै हुनुहुन्छ, त्यहाँ तपाईको भूमिका के रहन्छ ?

हाम्रो संविधानले उपल्लो सदनका रूपमा राष्ट्रियसभालाई संस्थागत गरेको छ । राष्ट्रियसभाको आफ्नै भूमिका रहन्छ । खासगरी कानुन निर्माण र प्रमाणीकरणका सन्दर्भमा । तल्लो सदनबाट आएका ऐन कानुनहरू राष्ट्रियसभाले गहन अध्ययन गरेर उचित देखेमा मात्रै त्यसलाई पास गर्नका लागि फेरि तल्लो सदन प्रतिनिधिसभामा पठाउने हो ।

राष्ट्रियसभाबाट पास भएपछि मात्र त्यो कानुनलाई सम्माननीय राष्ट्रपतिज्युले प्रमाणीकरण गरी लालमोहर लगाउने हो । त्यसैले म जति समय राष्ट्रियसभामा रहने छुँ, राष्ट्रियसभाको भूमिका र गरिमालाई अझै विश्वसनीय बनाउन पहल गर्ने छ । किनकि कानुन निर्माण भनेको गम्भीर विषय हो । त्यसको चेक एण्ड व्यालेन्स हुन नितान्त आवश्यक छ ।

कुनै–कुनै विषय भुलबस वा जबरजस्त र नियतबस कानुनमा घुसाएर राष्ट्रियसभामा पठाउने अभ्यासहरू पनि हामीले देखेका छौँ । मैले के पनि प्रतिज्ञा गरेको छु भने राष्ट्र र राष्ट्रिय गरीमामा आंच आउने तथा कसैको निहित स्वार्गमा आउने ऐन काननुनलाई गहन रूपमा अध्ययन गरी त्यसको पृष्ठपोषण राष्ट्रियसभालाई दिन सक्ने छु भन्ने विश्वास छ ।

जस्तै अघिल्लो प्रतिनिधिसभाले निजामती ऐन पास गर्नका लागि राष्ट्रियसभामा रोकियो नी पुर्न संशोधनका लागि, हो त्यस्ता गम्भीर विषयहरूमा मेरो सक्रिय भूमिका रहने छ । कपटपूर्ण रूपमा पनि केही ऐनहरू राष्ट्रियसभामा आउन सक्छन्, राष्ट्र र राष्ट्रिय अखण्डता एवम् मुलुकको सार्वभौमसत्तामै आँच आउने शब्दावलीहरू पनि कानुनमा पर्न सक्छन् त्यसैले त्यस्ता हरेक विधेयकहरूका विषयमा गहन अध्ययन हुने छ भन्ने पनि मैले आम नागरिकलाई विश्वास दिलाउँछु ।

— तपाईको बुझाइमा के हो राष्ट्रियसभा ?

मैले अघि भनिहाले कानुनको थप व्याख्या र थप परिमार्जनमा तल्लो सदनमा सुझाव सहित पठाउने । त्यसैगरी कुनै कारणबस प्रतिनिधिसभा विघटन भएमा मुलुकलाई जनप्रतिनिधिको भ्याकुम हुन नदिन राष्ट्रियसभाको परिकल्पना हाम्रो संविधानले गरेको छ । जस्तो अहिले प्रतिनिधिसभा विघटन भएर अहिले चुनावी सरकार बनेको छ ।

यस्तो अवस्थामा राष्ट्रियसभाको भूमिका अझै बढी हुन्छ । अहिले तल्लो सदनबाट आएका ऐन कानुनका विषयमा राष्ट्रियसभामा छलफल र बहस भइरहेको छ । यसपछि मात्रै कानुनमा राष्ट्रपतिले लालमोहर लगाएर प्रमाणीकरण गर्ने व्यवस्था संविधानमा छ । अझ भन्नु पर्दा हाम्रो संविधान संशोधन गर्नु परेमा तल्लो सदनको दुई तिहाइ बहुमतको जरुरी पर्दछ, त्यसरी नै राष्ट्रिय सभाको पनि दुई तिहाइ बहुमतले पास गरेमा मात्र संविधान संशोधन हुन सक्दछ ।

त्यसैले पनि राष्ट्रियसभाको महत्व र गरीमा निकै उच्च छ भन्ने मलाई लाग्छ । संवेदनशील कानुन निर्माण तथा स्वार्ग जोडिएका कानुनका विषयमा अन्तिम छलफल र बहस गरी कानुनलाई मूर्त रूप दिन पनि राष्ट्रियसभाको अहम भूमिका रहन्छ । त्यसैले पनि सङ्घात्मक लोकतान्त्रिक संविधानको कार्यान्वयन र संविधान अन्तर्गत ऐन कानुन निर्माणमा राष्ट्रिय सभाको निर्णयक भुमिका रहन्छ । कहीँ कसैले राष्ट्रियसभालाई सेरेमोनियल पनि भन्ने गरेको सुनिन्छ तर मलाई त्यस्तो लाग्दैन । मुलुकको वार्षिक बजेट समेत राष्ट्रियसभाबाट अनुमोदन नभई कार्यान्वयनमा आउन सक्दैन भने राष्ट्रियसभाको महत्व कति छ भनेर सायद भनिरहनु नपर्ला ।

— अन्तमा केही भन्नु छ कि ?

मलाई यो जिम्मेवारी सुम्पने पार्टी नेतृत्वप्रति विशेष कृतज्ञता व्यक्त गर्दछु । हामीले निरन्तर सात दशकसम्म आन्दोलन गरेपछि सङ्घीय लोकतान्त्रिक संविधान पाएका छौँ । संविधान परिवर्तनीय छ, तर पनि यो संविधानलाई विश्वकै उत्कृष्ठ संविधानका रूपमा पनि लिइएको छ । दुई–दुई पटक संविधान सभाको निर्वाचन गरी निर्माण भएको यो संविधानको रक्षा गर्नु हामी सबैको दायित्व हो ।

यद्धपि संविधानको सही व्याख्या र आवश्यकता अनुसार परिमार्जन पनि आवश्यक हुन्छ । जनताको म्यान्डेट अनुसार आवश्यकता अनुसार समयानुकुल संविधान संशोधन गर्न पनि आवश्यक हुने अवस्था आउँछ । यसमा पनि राष्ट्रियसभालाई बोल्ड बनाउन मेरो हर तरह प्रयत्न हुने छ भन्ने पनि यसै पत्रिकामार्फत् सबैलाई विश्वास दिलाउन चाहन्छु । फेरि पनि मलाई राष्ट्रियसभाका समसामयिक विषयमा कुरा राख्ने अवसर जुटाइदिएकोमा गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।