Goraksha

National Daily

उज्यालो जीवनमा फर्किँदा…

घोराही उपमहानगरपालिका–१४ का बासिन्दा ४५ वर्षका योगी गुप्ताको जीवन संघर्ष, प्रेम र दृढ सङ्कल्पले भरिएको एउटा कथा रहेको छ । मानिसहरू खुुसी हुन अनेकौ कुराहरू प्राप्त गर्नु पर्ने हुन्छ । जन्मदेखि नै शारीरिक अपाङ्गता भएका योगी हिँड्न र काम गर्न सक्दैनन्, तर उनको जीवन कहिल्यै हार नमान्ने साहसको उदाहरण बनेको छ ।

२१ वर्षको उमेरमा, योगीले १७ वर्षकी कमारी गुप्तासँग विवाह गरे । दुवै निरक्षर भए पनि मेहनत थिए । परिवार चलाउन उनीहरूले स–साना ऐना र चुरा बेच्ने काम थाले । सानो आम्दानी भए पनि उनीहरूको ठूलो सपना थियो– परिवारलाई खुसी र सम्मानका साथ राख्ने । तर, नियतिको खेल क्रूर भयो । जब उनका एक मात्र छोरा विजय गुप्ता ७ वर्षको मात्र थिए, परिवारभित्रका व्यक्तिगत समस्याका कारण उनकी आमा कमारीको २०६३ सालमा निधन भयो ।

त्यो दिनदेखि सानो उमेरमै विजय आफ्ना बुबाको एक मात्र सहारा बने । विजयले आमाको हिम्मत र बुबाको संघर्षलाई आत्मसात् गरे । उनले आमा चलाउँदै आएको व्यवसाय ऐना, चुरा बेच्ने र छाता मर्मत गर्ने काम निरन्तर गरे । दुवै बुबाछोरा भाडाको घरमा बस्दै आफ्नो जीवनको यात्रा अघि बढाइरहे ।

तर केही समय पछी अर्को समस्या आयो । योगीका दुवै आँखामा धमिलोपन देखा प¥यो । पहिले नै शारीरिक अपाङ्गता बोकेका योगीका लागि यो अवस्था झन् कठिन भयो । तर, उनको भाग्यले फेरि साथ दियो र भाग्य फेरि चम्कियो । २०८२ साल असोज २३ गते, घोराही–१४ मा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबारे विजयले जानकारी पाए ।

यो कार्यक्रम नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती र लमही आँखा अस्पतालको संयुक्त आयोजनामा, एनएवीपी नर्वेको आर्थिक सहयोगमा आयोजना गरिएको शिविरमा उनले चेकजाँच गराएका थिए । बुबाको लागि केही गर्न सकुँ भन्ने इच्छाले विजयले आफ्ना अपाङ्ग बुबालाई काँधमा बोकेर शिविरमा लगेको सुनाए ।

उनको आँखा परीक्षण पछि चिकित्सकहरूले पत्ता लगाए कि योगीको दायाँ आँखाको दृष्टि १÷६० मात्र थियो र बायाँ आँखाले केवल उज्यालो मात्र महसुस गर्न सक्थ्यो । तुरुन्तै उनलाई लमही आँखा अस्पतालमा शल्यक्रियाका लागि सिफारिस गरियो । भोलिपल्ट अस्पतालको गाडीले उनलाई र अन्य बिरामीहरूलाई लमही पु¥यायो ।

प्राडा प्रदीप बस्तोला र उनको समर्पित टोलीले दुवै आँखाको सफल शल्यक्रिया गरे । शल्यक्रियापछि दायाँ आँखाको दृष्टि ६÷१८ र बायाँ आँखाको दृष्टि ६÷६० सम्म सुधार भयो । जब उनले भोलिपल्ट पट्टी खोलेर उनले आफ्नो छोराको अनुहार फेरि स्पष्ट रूपमा देखे, उनको आँखाबाट खुसीका आँसु बग्न थाले । उनी निकै खुसी भए र उनले हात जोड्दै प्राडा प्रदीप बस्तोला, लमही आँखा अस्पतालको सम्पूर्ण टोली र सहयोगी संस्थालाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरे ।

योगी गुप्ता भावुक हुँदै भने ‘म जन्मदेखि नै अशक्त थिएँ, तर भगवान्ले मलाई यी दयालु डाक्टर र सहयोगीहरूको रूपमा नयाँ दृष्टि दिए म पहिले जस्तै आँखा देख्ने भएँ म निकै खुसी छु ।’ उनको कथा एउटा सन्देश हो– अँध्यारो जति गहिरो भए पनि, स्नेह र सेवाको उज्यालो कहिल्यै निभ्दैन । गुप्ताले आफूले अन्धकारबाट उज्यालो संसार देखेको भन्दै खुसी व्यक्त गरे । उनले खुसीले गध–गध हुँदै रमाउँदै घरसम्म फर्किए । कोही नहुनेको भगवान् हुन्छ भन्छन् म निकै खुसी छु गुप्ताले भने । उनीले अन्धकारबाट उज्यालोको यात्रामा लागेकोमा खुसी व्यक्त गरे ।

प्रस्तुति : बालाराम खड्का