नारायणप्रसाद श्रेष्ठ
हाम्रो दाङ हाम्रो गौरव, स्वच्छ र सुन्दर दाङ हाम्रो चाहना, हाम्रो सोच र चिन्तनभित्र लुकेको सुन्दर परिकल्पनाको सहर दाङ हाम्रो भविष्य, यी हाम्रा सोच र चिन्तन तथा स्वाभिमानसँग गाँसिएका विचार हुन् ।
ऋषिमुनिको तपोभूमि, देवताको बासस्थान, कला संस्कृतिको बेजोड नमुना बोकेको क्षेत्र, पर्यटन र पर्यावरणीय दृष्टिकोणले उत्कृष्ट स्थान तथा महाभारत र चुरेभावरले संरक्षित रहेको समथर उर्वरा जमिन भएको स्थान, वन जंगल र जडिबुटीले सुशोभित हाम्रो परिवेश, भूगोललाई चिनाउने स्वर्गद्वारी तपोभूमि, यही तपोभुमीको काखमा रहेको भित्री मधेश, दाङ जिल्ला एसियाकै ठूलो उपत्यका मानिन्छ ।
अनादिकालदेखि आफ्नै संस्कृति र पौरख बोकी, भूमिपुत्रको रुपमा पहिचान बोकेको दंगीशरण ,देवपुरी क्षेत्र तथा अन्य सबै वर्ग क्षेत्र भएको यो स्थान भविष्यको आस लाग्दो क्षेत्रको रुपमा पहिचान भएको स्थान हो । विभिन्न भाषा, धर्म, संस्कार, संस्कृति र जाति भएको यस क्षेत्र, अनेकतामा एकता कायम गरी विश्वास र भाइचाराको अभिवृद्धि गर्दै, विसं ८०६ भन्दा अघिदेखि परिचित हुँदै आएको इतिहास पाइन्छ । यस्तो मनोरम पवित्र भएको दाङ क्षेत्र नेपालकै नमुना जिल्ला भएर विकास हुने सम्भावना बोकेको स्थान मानिन्छ ।
प्राकृतिक सम्पदा र पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्रको विकासको कुरा गर्दा जलजंगल जमिन भएर पनि खासै सदुपयोग हुन नसकिरहेको देखिन्छ । विभिन्न किसिमको खानी जडिबुटी भएर पनि विधि प्रयोग नभई पूर्वाधार निर्माण हुन नसकि, यो क्षेत्र अहिले पनि विकास पर्खिरहेको छ । यहाँको वातावरण राजनीतिक सोच र चिन्तनमा देखिने समझदारीपन एवम्् भौतिक पूर्वाधार निर्माणको सहज भएर पनि अथवा धेरै सम्भावना बोकेर पनि हुन नसकेको विकासको अवस्था हेर्दा अहिलेसम्म यो क्षेत्र नेपालको नमुना सहरी क्षेत्र हुनु पर्ने अवस्था थियो तर विडम्बना मान्नुपर्छ यति सम्पदा र वौद्धिकता हुँदा हुँदै पनि क्षेत्रीय र भेगीय नाराले विकासका सम्भावना खुम्चेर रहन गयो ।
सोच र चिन्तनमा आएको विविधिकरण, समन्यायको सिद्धान्तप्रति एकैबद्धता हुन नसक्नु, राजनीतिक तानावानाले ल्यायको स्वार्थपनको अवस्था सिर्जना हुनु, वास्तवमा दाङ जिल्लाको लागि दुर्भाग्य मान्न सकिन्छ । हो ! व्यक्ति, समाज आफै परिपक्व हुँदैन । समय र परिस्थितिले सोच चिन्तनमा केही फरक हुन सक्नु यो स्वाभाविक पनि हो तर पनि समग्र विकासमा दाङ जिल्लाको विकासको अवधारणलाई हेर्ने हो भने राजनीतिक नेतृत्व तहको क्षमता र विवेकमा विचारको सामन्जस्य नहुनु सबै नेता एक हुन नसक्नु, यो क्षेत्रकै विडम्बना मान्नु पर्दछ ।
यसको ज्वलन्त प्रमाण, सात दशक अघिदेखि सुरु भएको तुलसीपुरमा रहेको एयरपोर्टलाई हेर्न सकिन्छ । अहिलेसम्म पनि त्यो एयरपोर्ट नियमित हुन सकेको छैन । जब–जब चुनाव आउँछ, तब–तब यसको कुरा उठ्छ । व्यवस्थित एयरपोर्ट नहुँदा यहाँ राजनीतिक उच्च तहका नेतादेखि विशेषज्ञको चहलपहल शून्य जस्तो देखिन्छ । जसको कारणले दाङमा राजनीतिक नेतृत्वकर्ताप्रति जनताको विश्वास पछि पर्न गएको पाइन्छ । यसरी हवाई यातायात लगायत स्वास्थ्य एवम् अन्य क्षेत्रमा पनि केही समय अगाडिदेखि देखिएको भेगीय नाराले पनि दाङ जिल्लाको विकासमा केही असजिलो भएकै हो ।
वास्तवमा हिजोको राजनीतिक नेतृत्वको सोच र चिन्तनले जुन अवस्था सिर्जना भएको थियो, भेगीय नाराले जिल्लाको विकासमा जुन किसिमको अवरोध देखा परेको थियो र एउटै योजना दुईतिर तानातान गरी योजना निर्माणमा अवरोध हुन पुगेको थियो, वास्तवमा यो सबै राजनीति नेतृत्वको सोच चिन्तनले ल्याएका परिणाम हुन् । अझै पनि विकासको कुरा गर्दा कोही घोराही, कोही तुलसीपुर, कोही लमही, कोही भालुवाङ, कोही पुरुन्धारा, यसरी दाङ जिल्लाको भविष्यसँग एउटा योजना सञ्चालन गर्दा तानातान भएको अवस्था अहिले पनि देख्न सकिन्छ । यी क्षेत्र दाङ होकि होइन ?
भन्ने गरी विचार सम्प्रेषण भएको देखिन्छ । समग्र दाङको विकासमा हाम्रो भावना एउटै हुनुपर्छ भने देखाउन नसकिएको कारण एयरपोर्टको कुरा पछि पर्न गएको छ । यो वास्तविकता हो वा होइन ? यसलाई चिन्तन गर्न जरुरी छ । राजनीतिक स्वच्छ चिन्तन हुन नसक्नु, साझा अवधारणा विकास हुन नसक्नु दाङ जिल्ला आफै पछाडि परेको त होइन ? यो बहसको विषय बन्नु पर्छ । जहाँ भए पनि दाङ देउखुरी एउटै हो । यहाँको प्राकृतिक स्रोत सम्पदा खनिज उर्वराभूमि यी सबै हाम्रै सम्पत्ति हुन्, हाम्रो भूगोल हाम्रो हो ।
हामी जहाँ रहे बसे पनि हाम्रै दाङ नै हो भन्ने यस्तो चिन्तन नेतृत्व तहमा अझै मौलाउन नसकेको हो कि भन्ने कुरा अहिले पनि यदाकदा देखिने गरेको देखिन्छ । एउटा योजना सम्पन्न नहुँदै त्यसको पक्ष विपक्षमा आवाज उठ्नु, राजनीतिक नेतृत्वको इच्छाशक्ति एकात्मक बन्नु, वास्तवमा समग्र दाङको विकासमा अवरोध भएर देखा पर्नु हो । दाङले धेरै अवसर पाएर पनि एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले दाङ जिल्लाले धेरै अवसर गुमाएको छ ।
समृद्ध दाङ हाम्रो परिकल्पनाको सहर भनी जुन किसिमको समर्पण भाव हुनु पर्ने थियो, जस्तरी पूर्वाधार योजनाका कुरा उठ्नु पर्ने थियो, त्यो वातावरण बन्न नसक्नु विडम्बना मान्नु पर्दछ । यिनै मानवीय सोच र चिन्तनमा देखिएको अहंकार र स्वार्थपनले निम्त्याएको द्वन्द्वको कारण दाङ अहिलेसम्म पछि परेको छ । अहंमवादी चिन्तनभित्र लुटपटिएको छ । फुटेर होइन जुटेर एकले अर्काको सहयोग र सद्भाव बढाई विकासका पूर्वाधार लगायतका विभिन्न कुरामा एकैबद्धता जनाउन नसक्नु राजनीतिक क्षेत्रको कमजोरी नै मान्नुपर्छ ।
हुन त यति कुरा गरिरहँदा यहाँ केही पनि भएको होइन भनेर भन्न पनि सकिन्न । किनभने यहाँ प्रशस्तै विकासका पूर्वाधार तयार भएका छन् । बाटाघाटादेखि विद्युतीय क्षेत्रलगायत शैक्षिक क्षेत्र तथा स्वास्थ्य क्षेत्र सञ्चारको क्षेत्रमा यहाँ प्रशस्तै विकास नभएको होइन । लुम्बिनी प्रदेशको सदरमुकाम दाङ देउखुरीमा कायम भएको छ । तथापि अहिलेको जनभावना अनुसार बढेको चिन्तालाई मध्यनजर गर्ने हो भने दाङ जिल्लाको विकासले जुन फड्को मार्नु पर्ने हो त्यो नभएको गुनासो सुन्नमा आउँछ ।
हिजोको आवश्यकता र वर्तमानको आवश्यकता तथा हिजोको परिवेश र वर्तमान परिवेशलाई हेर्ने हो भने अब विकासले नयाँ मोडका साथ अगाडि बढ्नु पर्ने अवस्था देखिन्छ । दाङ हाम्रो हो । यहाँको भूगोल माटो हाम्रै हुन् । यी हाम्री आमा पनि हुन् । आमाको त्याग र समर्पण हाम्रो आदर्श हो । तसर्थ आमाप्रतिको हाम्रो जिम्मेवारी अब कसरी सहज र गतिशील हुन्छ यहाँको हरेक बोट वृक्ष घासपात जंगल तथा उर्वराभूमि खोलानाला कसरी हाम्रो जीवनको बरदान बन्न सक्दछ यसतर्फ हामी सबैले गम्भीर रुपले चिन्तन गर्नु परेको छ ।
हिमालबाट सुरु भई तराईमा बग्ने खोलानाला स्वच्छ हावापानी यो क्षेत्रकै उत्कृष्ट गहना मान्न सकिन्छ । यहाँबाट उब्जिने जति पनि खाद्यान्य बाली छन् ती सबै हाम्रै जीवन धान्ने आधार पनि हुन् । प्राकृतिक माटो र ढुंगाले बनेको हाम्रो ओतबास बस्ने घर हाम्रो जीवनलाई सहज गति दिने आधार पनि हुन् । बोट बिरुवाबाट उत्पादित फलफूल हाम्रा लागि पौष्टिक आहार हुन् । स्वच्छ हावा हाम्रो जीवनको बाँच्ने आधार हो ।
अक्सिजन बिना मानिस बाँच्न सक्दैनन् न त बोटबिरुवा नै बाँच्न सक्छ । तसर्थ यसको संरक्षण सम्वर्धन हाम्रो जिम्मेवारी र दायित्व पनि हो । प्रकाश हाम्रो बाँच्ने आधार हो । प्रकाश बिना सृष्टि चक्रको इतिहास अधुरो पनि हुन्छ । प्रकृति शून्यमा परिणत पनि हुन्छ । तसर्थ जहाँ शुद्ध वनजंगल, खोलानाला, पानी पँधेरा, हावा पानी छ, जहाँ उर्वरा जमिन छ, जहाँ प्राकृतिक सत्य लुकेको आध्यात्मिक चैतन्य शक्ति छन्, त्यस क्षेत्रको समग्र विकास तथा मानव चिन्तनभित्र सलबलाउने जति पनि विचार र चिन्तनप्रति तथा यसको विकास संकल्पलाई विकासको पूर्वाधारसँग गाँसेर भोलिको भविष्य निर्माण गर्न अब सबैको ध्यान पुग्न जरुरी छ ।
दाङलाई साँच्चिकै नेपालकै उत्कृष्ट गन्तव्य बनाउन अब विकासको अवधारणा र चिन्तनमा प्रत्येक राजनीतिक चिन्तकले गम्भीर भएर चिन्तन गर्नुपर्दछ । यहाँको प्रकृति आफैमा सुन्दरताले भरिपूर्ण छ । तसर्थ दाङको समृद्धिमा भाषण र नारामा होइन सोच चिन्तन र कर्ममा व्यापक परिमार्जित सुधार गर्दै आपसी खिचातानलाई हटाई अहिले हामी सबै एकजुट हुनु पर्ने भएको छ ।
दाङको समग्र विकास तथा यहाँको भूगोललाई विश्वकै नमुना बनाउने जुन परिवेश यहाँ विद्यमान छ त्यसलाई साकार बनाउन अब प्रत्येक दल विशेष राजनीतिज्ञले गम्भीर रुपले चिन्तन गर्नुपर्ने बेला भएको छ । कर्म र व्यवहारमा शुद्धता हुनु विकासको मेरुदण्ड निर्माण गर्नमा महङ्खवपूर्ण आयाम मानिन्छ । स्वच्छ र पवित्र भावनाबाट नै विकासको खुड्किलो कर्मश विकसित हुँदै जान्छ । तसर्थ निर्माणमा सबै फुठेर होइन जुटेर अगाडि बढ्नु पर्ने बेला भएको छ ।
अहिले नेपाल अधिराज्य निर्वाचनको दिशामा अगाडि बढेको छ । २०८२÷११÷२१ मा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । त्यसको लागि मनोनयनपत्र दर्ता भई चुनाव चिन्ह लिएर अहिले नेता हाम्रो घर दैलोमा आउँदै हुनुहुन्छ । अहिले निर्वाचित प्रतिनिधि भनेको हाम्रो भविष्य निर्धारण गर्ने, नीति बनाउने, हिसाबले निर्वाचित हुँदै छन् । अहिले सबै गम्भीर हुनु पर्ने बेला भएको छ । लहलहैमा आफ्ना मत गलत ठाउँमा प्रयोग गर्ने बेला छैन ।
निकै सुझबुझ पूर्ण ढंगले अहिले आफ्ना विचार र मत दिनु पर्ने छ । पछि पछुताउनुभन्दा अहिले सोच्नु पर्ने बेला छ । ३ क्षेत्र मा ३ जना सक्षम नेता अब हामीले चुन्नु परेको छ । तसर्थ यसवेला दाङ किन पछि परेको छ यस्को समुचित मूल्याङ्कन गरी मताधिकार प्रयोग गर्नु परेको छ । सुन्दर र सम्वृद्धि दाङ हाम्रो चाहना हो र कसले समग्र दाङको विकास निर्धारण गर्न सक्लान् तिनको निर्कोल गर्नु परेको छ । हाम्रो चाहना भित्रको सुन्दर र सफा दाङ बनाउन को सँग के–के आधार छन् त्यस्को गम्भीर भएर मनन गरी उम्मेदवारलाई छनोट गरी पठाउनु पर्ने छ । चेतना भया ।