गोरक्ष समाचारदाता
तुलसीपुर, २१ माघ । तुलसीपुर–१७ रमाइलोगाउँ झिँगैस्थित फोर्टिनाइन अङ्ग्रेजी माध्यमिक विद्यालयको ३२औँ वार्षिकोत्सव मङ्गलवार सम्पन्न भएको छ । वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले शिक्षामा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न राज्यले उदार शैक्षिक नीति अवलम्बन गर्न आग्रह गरेका छन् ।
‘निजी विद्यालयप्रति सरकारको दृष्टिकोण अझै सकारात्मक बन्न सकेको छैन, निजी विद्यालयलाई यो र त्यो वहानामा उपेक्षा गरिरहेको देखिन्छ’, प्रमुख अतिथि न्यौपानेले भने, ‘मुलुकको शैक्षिक विकासमा निजी विद्यालयका योगदानलाई राज्यले सम्मान गर्न आवश्यक छ ।’ निजी विद्यालयले शैक्षिक गुणस्तरलाई कायम राख्दै विद्यार्थीको रुचि र क्षमताको पहिचान गरी मार्गदर्शन गर्न आवश्यक रहेको उनले बताए । निजी क्षेत्रले नै मुलुकको शैक्षिक गुणस्तरलाई धानेको तथा दक्ष जनशक्ति उत्पादन गरेको उल्लेख गर्दै प्रमुख अतिथि न्यौपानेले विद्यार्थीको ‘राइट टु च्वाइस’को अधिकारलाई वञ्चित गर्न नहुने बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष गेहराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत मनबहादुर खड्काले विद्यार्थीलाई सही गन्तव्यमा पु¥याउन विद्यालय व्यवस्थापनको भूमिका गहन हुने बताए । ‘अक्सिजनलाई हाइड्रोजनमा मिसाए पानी बन्छ, कार्बनमा मिसाए आगो बन्छ, छान्ने जिम्मा तपाईंहरूको हो, तपाईंलाई के आवश्यकता छ, त्यसैलाई अघि बढाऔँ’, विशिष्ठ अतिथि खड्काको आग्रह थियो ।
विद्यालयका संस्थापक प्रिन्सिपल तथा शेयर सदस्य केशवराज रिजालको स्वागतबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्राचार्य वामदेव पोख्रेलले विद्यालयको समग्र वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा तुलसीपुर नगर प्याब्सनका अध्यक्ष डम्बर डाँगी, बालअमृत अङ्ग्रेजी माध्यमिक विद्यालय दुधरासका प्रिन्सिपल युवराज डाँगी, अभिभावक डिल्ली डाँगी, विद्यार्थी आयुष भण्डारी, समन्ता अधिकारी, सप्दीका बस्नेत, रोहित भण्डारीलगायतले वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा सनम पौडेलले कविता वाचन गर्नुका साथै विद्यार्थीले थारू संस्कृति झल्कनेदेखि विविध सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
हरेक वर्ष झैँ यो वर्ष पनि वार्षिकोत्सवकै अवसरमा फोर्टिनाइन स्टारका रूपमा कक्षा १० का रोहित भण्डारीलाई सम्मान गरिएको थियो भने वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद सप्ताहमा प्रथम, द्वितीय र तृतीय हुने विभिन्न विधाका खेलाडीलाई पुरस्कृत गरिएको थियो । यसैगरी वार्षिकोत्सवकै अवसर पारेर विद्यालयले स्थापना गरेको झरना बस्याल स्मृति पुरस्कार कक्षा १ का विद्यार्थी प्रिन्सु नेपालीलाई प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट शिक्षकका रूपमा दयानिधि घिमिरे र मिनराज डाँगीलाई सम्मान गरिएको थियो भने नियमित शिक्षकबाट बिमला बस्नेतलाई सम्मान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रमको सहजीकरण शिक्षक माधवा रेग्मी र मिनराज डाँगीले गरेका थिए । २०४९ सालमा स्थापना भएको सो विद्यालयमा हाल नौ सय बढी विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारी ४५ जना छन् ।