तपाईंका आवश्यकता, हाम्रो प्रतिबद्धता : उम्मेदवार घिमिरे

गोरक्ष समाचारदाता
तुलसीपुर, २० माघ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारको घरदैलो बाक्लिन थालेको छ । घरदैलोकै क्रममा आफ्‌नो निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न स्थानमा सम्पर्क कार्यालय सञ्चालनमा आउनथालेका छन् । यसैक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले तुलसीपुर–१८ दुधरासमा प्रतिनिधि सभा निर्वाचन सम्पर्क कार्यालय सञ्चालन गरेको छ ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै निर्वाचन क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले स्थानीयका आवश्यकता नै आफ्‌ना चुनावी एजेन्डा हुने बताएका छन् । तुलसीपुर–१८ का सभापति वीरेन्द्र खड्काको अध्यक्षतामा भएको सङ्क्षिप्त कार्यक्रममा उम्मेदवार घिमिरेले सबै बस्तीका आवश्यकता बुझ्‌न आफू लागिरहेको बताउदै यिनै बस्तीका आवश्यकतालाई आफूले चुनावी एजेन्डाका रूपमा लैजाने बताए ।

‘तपाईंहरूका आवश्यकता नै हाम्रा चुनावी एजेन्डा हुनेछन्, हामी भाषण गरेर होइन काम गरेर जनतालाई देखाउन चाहन्छौँ’, उम्मेदवार घिमिरेले भने । जेन–जी उमेर समूहको भावना अनुरूप नेपाली कांग्रेस रूपान्तरण एवम् पुनर्गठन भएको भन्दै आम युवाहरूका आवश्यकतालाई आत्मसात गर्दै नेपाली कांग्रेसले काम गर्ने उम्मेदवार घिमिरेले बताए । ‘हामी समृद्ध नेपालको अभियानमा छौँ, सीमान्तकृत समुदाय, अल्पसङ्ख्यक, आदिवासी, जनजाति, दलित सबैका समस्यालाई सम्बोधन गर्न आफूले अहोरात्र पहल गर्ने उनले बताए ।

सोही अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्काले नेपाली कांग्रेस लोकतन्त्रको पहरेदार भएकाले झुठा आश्वासनका पछि नलाग्न र एक भएर कांग्रेसमा मतदान गर्न सबैलाई आग्रह गरे । ‘अहिले मुलुक गम्भीर सङ्कटमा छ, यसलाई मुक्ति दिलाउन कांग्रेस नेतृत्वको सरकार अपरिहार्य छ, कांग्रेसको नेतृत्वविना लोकतन्त्रको रक्षा हुन सक्दैन’, क्षेत्रीय सभापति खड्काले भने ।

सङ्क्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले जेन–जी आन्दोलनको भावना अनुसार कांग्रेस पुनर्गठित भएको र आगामी सरकार गगन थापाको नेतृत्वमा गठन गर्न सबैले कांग्रेसलाई जिताउनुपर्ने बताए । ‘दाङका तीनवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसप्रतिको विश्वास थपिँदै गएको छ, तीनवटै उम्मेदवारलाई जिताएमा कांग्रेस नेतृत्वको सरकार बन्नेछ’, सभापति हमालले भने ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका—१९ का सचिव चित्र नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विदुर गौतमले गरेका थिए । यसैगरी उम्मेदवार घिमिरेले तुलसीपुर–१६ र १७ मा पनि भिन्दाभिन्दै स्थानमा मतदातासँग भेटघाट गरेर बस्तीका आवश्यकताका विषयमा चासो राखेका थिए । मुलुकलाई नयाँ दिशामा अघि बढाएर समृद्ध नेपाल निर्माणका लागि आवश्यकता अनुसार कानुन निर्माणमा जोड दिन उम्मेदवारलाई आग्रह गरेका थिए ।

कार्यक्रममा उम्मेदवार घिमिरेले स्थानीयको गुनासो र अपेक्षा गम्भीरतापूर्वक सुन्दै जनताको आवश्यकता र चाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैबिच उम्मेदवार घिमिरेले घोराही–१६ सर्रामा पनि चुनावी कार्यक्रमलाई सम्वोधन गरेका थिए ।