‘क्वारेन्टाइनको क्षमता बढाउन मुख्यमन्त्रीको निर्देशन’

गोरक्ष समाचारदाता
दाङ, ३१ बैशाख । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले क्वारेन्टाइनको क्षमता बढाउन पालिका प्रमुखहरुलाई निर्देशन दिएका छन् । ‘दुई हजार पाँच सय मानिस बोर्डरमा आइसकेका छन् । क्वारेन्टाइनको क्षमता बढाउनुस् । परीक्षण गरेर मात्रै घर पठाउन सकिन्छ’, जिल्ला प्रशासन कार्यालय दाङले गरेको छलफलमा मुख्यमन्त्री पोख्रेलले भने– ‘क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढेमा सामुदायिक क्वारेन्टाइन वडा तहमा बनाउने र घरबाट बिच्छ्यौना ल्याउने, घरबाटै खाना ल्याउने नमुना क्वारेन्टाइन बनाउन सकिन्छ ।’ दक्षिण भारत र दिल्लीबाट नेपाल आउने हरेक व्यक्तिको कोरोना परीक्षण गरिनेसमेत उनले बताए । भारतको क्वारेन्टाइनमा बसेकाहरुलाई स्वास्थ्य परीक्षण नगरी नेपाल फर्काउन थालेपछि कोरोना संक्रमण हुने खतरा रहेको भन्दै उनले समीा क्षेत्रमा आउने सबैलाई क्वारेन्टाइनमा राखिने र कोरोना परीक्षण गरेर मात्रै घरसम्म पु¥याउन सकिने बताए ।

कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले भारतले डब्लुएचओको मान्यता पालना नगरेकाले सीमा क्षेत्रमा थप झमेला उत्पन्न भएको बताए । ‘भारतबाट आउने श्रमिकबाट जोखिम छ । ल्याउँदा कोरोना पनि सँगसँगै आउने जोखिम छ’, उनले भने– ‘असुरक्षित नागरिक अन्य ठाउँ पठाउन मिल्दैन ।’ छलफलमा पालिका प्रमुख तथा जनप्रतिनिधिहरुले भारतमा काम गर्ने नेपालीहरु सीमा क्षेत्रमा आउन थालेपछि घर ल्याउन दबाव बढेको बताएका थिए । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई घरसम्म ल्याउन अनिवार्य कोरोना परीक्षण गर्न र तिनीहरुको व्यवस्थापनको लागि केन्द्र र प्रदेश सरकारले तत्काल योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराए । ‘भारतको रुपैडिहा नजिक बाबागञ्जमा बबई गाउँपालिकाका १७ जना नागरिक बसेको खबर आएको छ । ‘हरेक दिन नागरिकहरुले फोनमार्फत जानकारी दिइरहनुभएको छ । उहाँहरुलाई कसरी घरसम्म ल्याउने हो ?’ बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले भने– ‘उहाँहरु घर आउन आतुर हुनुहुन्छ । कसरी ल्याउने हो ?’ जिल्लाका सीमा नाका प्रयोग गरेर ६ हजार मानिस भित्रने आँकलन गरिएको छ । ती मानिसहरु आएमा उनीहरुको व्यवस्थापन गर्न क्वारेन्टाइन बनाउन तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । गढवा, राजपुर, लमही र राप्ती गाउँपालिकामा क्वारेन्टाइन बनाउनेतर्फ ध्यान दिएका छौं’ उनले भने– ‘क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरेर मात्रै सम्बन्धित ठाउँमा पठाउन सकिन्छ ।’

आत्मबल बढाएर उपचार गर्न आग्रह
यसैबीच मुख्यमन्त्री शंकर पोख्रेलले बिरामीहरुको आत्मबल बढाउनेगरी त्रासमुक्त वातावरणमा उपचार गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीको स्थलगत अनुगमनका क्रममा मन्त्री पोख्रेलले कोभिड–१९ का बिरामीको उपचारलाई प्रभावकारी बनाउन पनि आग्रह गरे ।

निरीक्षणका क्रममा मुख्यमन्त्री पोख्रेलले तनावरहित वातावरणमा बिरामीको आत्मबल बढाएर उपचार गर्न आग्रह गरे । प्रदेश नं. ५ मा रहेका कोरोना विशेष अस्पतालमा तत्कालका लागि पाँच सय जना बिरामीको उपचार गर्न सक्ने क्षमता रहेको भन्दै मुख्यमन्त्री पोख्रेलले वर्तमान अवस्थामा ५ नं. प्रदेशभरी ७० जना बिरामीमात्र रहेकाले आत्तिनुपर्ने अवस्था नआएको बताए ।
कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले कोरोना विशेष अस्पताललाई एक सय बेडसम्म सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार र जनशक्तिको बारेमा जानकारी लिएका थिए । अस्पतालको निरीक्षणपश्चात् आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री पोख्र्रेलले भारतबाट आएका सम्पूर्ण नागरिकहरुलाई क्वारेन्टाइनमा राखेर पिसिआर चेक गर्न निर्देशन दिए । कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले भारतमा रेल सेवा शुरु भएसँगै त्यहाँबाट नेपालीहरु आउने क्रम बढ्ने भन्दै प्रत्येक नेपालीलाई क्वारेन्टाइनमा राख्न र पिसिआर चेकजाँच गर्न निर्देशन दिए ।
छलफल कार्यक्रममा अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले अस्पतालमा रहेको हालको जनशक्तिले ८० जनासम्म बिरामीको सेवा दिन सक्ने र सोभन्दा बढी थपिए जनशक्तिको व्यवस्थापन गरिनुपर्ने बताए । कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. रामकामेश्वर यादवले कोरोना विशेष अस्पतालमा रहेका बिरामी र स्वास्थ्यकर्मीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने च्यवनप्राश, जेष्ठीमधु, लहरे गुर्जेको चूर्ण वितरण गरिएको जानकारी गराएका थिए ।

“दीर्घकालीन योजना बनाएमा प्रतिष्ठानलाई सहयोग”
यसैबीच मुख्यमन्त्री पोख्रेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्वलाई दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिएका छन् । उनले त्यसको लागि योजना बनाएर बजेट माग गरेमा सरकार सहयोग गर्न तयार रहेको समेत बताए । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्थापना भएको दश बेडको आइसियुको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सबै खाले बिरामीको उपचार दाङमै हुने गरी प्रतिष्ठानलाई विकास गर्नुपर्ने बताए । ‘प्रतिष्ठान रिफर सेन्टर बन्नु हुँदैन’, मुख्यमन्त्री पोख्रेलले भने– ‘त्यसलाई रोक्नुको विकल्प छैन् ।’

उनले प्रतिष्ठानको विकासका लागि दीर्घकालीन योजनासहित बजेटको माग गरे आफूले प्रतिष्ठानको विकास र हितका लागि बजेट सहयोग गर्न तयार भएको उनको भनाइ थियो । ‘प्रतिष्ठानको विकास लागि योजना बनाएर अघि बढ्नुहोस्, त्यसका लागि मैले कहाँ सहयोग गर्नुपर्छ म तयार छु’, मुख्यमन्त्री पोख्रेलले भने । निरीक्षणका क्रममा मुख्यमन्त्री पोख्रेलले प्रतिष्ठानले अस्पतालको सेवा विस्तार र चिकित्सा शिक्षाका लागि जग्गा प्राप्तिदेखि सबै कुरामा स्थानीय समुदायको सहयोग लिएर काम गर्नसमेत सुझाव दिएका थिए ।

‘प्रतिष्ठानको विकास गर्दै सबै खाले बिरामीको उपचार गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्छ, त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको छ’, मुख्यमन्त्री पोख्रेलले भने– ‘अब स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट बिरामी रिफर गर्ने होइन, सबैखाले उपचारको लागि प्रतिष्ठान सक्षम छ भन्ने सन्देश दिनुपर्छ ।’ मुख्यमन्त्री पोख्रेलले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट जनतालाई बचाउनका लागि प्रतिष्ठानले सधै ढोका खुल्ला राख्नुपर्ने समेत बताए । मुख्यमन्त्री पोख्रेलले स्थानीयसँग विवादमा नबल्झिन प्रतिष्ठानको नेतृत्वलाई सुझावसमेत दिए । ‘स्थानीयसँग विवादमा बल्झियो भने राम्रो हँुदैन’, मुख्यमन्त्री पोख्रेलले भने– ‘सबैसँग समन्वय गरेर नेतृत्व अघि जानुपर्छ ।’ त्यस अवसरमा प्रतिष्ठानका बारेमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारी, प्रतिष्ठानका निर्देशक डा. सागर पन्थी, प्रतिष्ठानका डिन डा. बसन्त लामिछाने र डा. गोपाल लामाले प्रतिष्ठानले दिने सेवाका बारेमा जानकारी गराएका थिए ।

मुख्यमन्त्री नै भीडभाडमा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना भएको आइसियू बेड, पिसिआर मेसिनलगायतका दश बेडको आइसियू, भेन्टिलेटरसहितको एनआइसियू र पिआइसियू (बालबालिकाको सघन उपचार कक्ष)को उद्घाटनका क्रममा मुख्यमन्त्री पोख्रेल नै भीडभाडमा सहभागी भएका छन् । जनतालाई सामाजिक दूरी कायम राख्न आग्रह गर्ने प्रदेश सरकार प्रमुख नै सामाजिक दूरीको ख्याल नगरी भीडभाडमा सहभागी भएका हुन् ।

मुख्यमन्त्री पोख्रेलले कोरोना भाइरसको संक्रमणबाट बिरामी बढिरहेको समयमा सामाजिक दूरी उल्लंघन गरेका छन् । सरकारले २५ जनाभन्दा धेरै संख्यामा सार्वजनिक ठाउँमा भेला नहुन भनिरहेको समयमा मुख्यमन्त्री पोख्रेलले भने भीडभाडका बीच घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित पिसिआर मेसिनलगायतका दश बेडको आइसियू, भेन्टिलेटरसहितको एनआइसियू र पिआइसियू (बालबालिकाको सघन उपचार कक्ष)को उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्रीले आइसियू, भेन्टिलेटरसहितको एनआइसियू र पिआइसियू उद्घाटन गरे पनि त्यसका लागि पर्याप्त जनशक्तिको व्यवस्थापन भने भइसकेको छैन । कुनै बेला राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान आफ्नो क्षेत्राधिकारमा पर्दैन भनेर पन्छिने मुख्यमन्त्रीले जनशक्तिको व्यवस्थानका सम्बन्धमा सहयोग गर्ने नगर्ने भन्ने बारेमा भने प्रष्ट केही बोलेनन् । केही समय पहिले प्रतिष्ठानको उपकुलपतिलाई हटाउने नाममा भएको आन्दोलनमा सहमति जनाएका मुख्यमन्त्री पोख्रेल र प्रतिष्ठानबीच पछिल्लो समयमा समन्वय राम्रो बन्दै गएपछि त्यही सन्देश प्रवाहित गर्न लकडाउनको समेत बेवास्ता गर्दै उद्घाटन गर्न आएको टिप्पणी गरिएको छ ।