स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ । यी तीनवर्ग भनेको यो संक्रमण विरुद्धको लडाईका अग्रमोर्चाका पहरेदार हुन् । उनीहरुलाई उच्च मनोबलका साथ यो लडाईमा सक्रिय बनाइराख्नका लागि राज्यले उपयुक्त वातावरण तयार गर्नुपर्ने हुन्छ । यी वर्ग असुरक्षित हुँदै गर्दा संक्रमण विरुद्धको लडाई नै कमजोर हुने खतरा हुन्छ । स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रहरुमा जाने नागरिक नै स्वास्थ्यकर्मीहरुसँग तर्सिने अवस्था बन्न दिनु हुँदैन । यसैगरी अहोरात्र सुरक्षामा खटिने सुरक्षाकर्मीहरु तथा समयमै सही सूचना प्रवाह गरेर नागरिक तहमा हुनसक्ने अन्योल, खुल्दुली र अफवाह मेट्ने, रोक्ने सञ्चारकर्मीहरुको स्वास्थ्यको नियमित जाँच र समस्या देखिएमा तत्काल अलग्यै उपचारको प्रबन्ध गर्नुपर्ने हुन्छ । यसका लागि स्वास्थ्य संरचनाहरुले योजना बनाउन आवश्यक छ ।
यसो भन्दै गर्दा नागरिक स्तरमा पनि सामाजिक दूरी कायम राख्न र संक्रमितहरुको ‘ट्रयाकिङ हिस्ट्री’ लिने कुरालाई सबैभन्दा उच्च प्राथमिकतामा राखेर काम गर्नका लागि प्रतिबद्ध हुने कुराबाट विचलित भने हुनु हुँदैन । सबैको एकताबद्ध प्रयत्नबाटै यो जोखिमले पार पाउने हो । त्यसका लागि सबैलाई सँगसँगै हिडाएर लैजाने र सबैको सकारात्मक भूमिका सुनिश्चित गर्ने कुरालाई कुनै पनि क्षण भुल्नु हुँदैन । यता बढी जोखिममा रहनुपर्ने वर्गका रुपमा परिभाषित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मीहरुले पनि विशेष सतर्कता अपनाउन आवश्यक छ । आफ्नो काम गर्ने तरिकालाई परम्परागत शैलीभन्दा पनि समयको चुनौतीसँग जोगिएर गर्ने नयाँ शैलीमा आफूलाई अभ्यस्त बनाउनुपर्ने अवस्था छ । यतातर्फ पनि पेशाकर्मीहरुले विशेष ध्यान दिन आवश्यक हुन्छ । आफ्ना कारणले कतै भीडभाड त भइरहेको छैन ? तथा आफ्ना कारणले संक्रमण फैलने वा सर्ने अवस्था निर्माण त भइरहेको छैन ? यी दुई सवाल हरक्षण आफैसँग गर्दै आत्मसमीक्षा गर्ने बानीको विकास गर्न जारुरी देखिएको छ ।
कुनै पनि वहानामा कसैको पनि लापरवाही यस्तो बेलामा स्वीकार्य हुनै सक्दैन । राज्य पनि अझ गम्भीर बनेर प्रस्तुत हुनुपर्ने बेला भएको छ । लकडाउनको ५० दिन कट्दै गर्दा नागरिक सामाजिक दूरी बनाउने सन्दर्भमा सकारात्मक नै देखिएका हुन् । तर, अप्ठ्यारोमा परेका नागरिकको समस्या बुझ्ने, आवतजावतलाई व्यवस्थित गर्ने, समयमै शंकास्प्रदको परीक्षण गरिहाल्ने, किटको उपलब्धतालाई प्राथमिकतामा राख्नेजस्ता कुराहरुमा सरकार पटक–पटक चुकेकै कारण संक्रमितको संख्या बढेको निष्कर्ष निकाल्नुपर्ने वाध्यता हाम्रा सामू छ । त्यसकारण अब राज्यका सबै संरचनाहरुलाई चुस्तदुरुस्त पार्ने, स्तरीय स्वास्थ्य उपकरणहरुको उपलब्धतामा समस्या हुन नदिने, समस्यामा परेका कारण आवतजावत गर्न वाध्यहरुको सूची बनाएर सम्बोधन गर्ने दायित्व राज्यले निर्र्वाह गर्नुपर्छ भने जोखिममा रहेको वर्गले पनि अधिक्तम सुरक्षा सावधानी अपनाउने गरी नयाँ ढङ्गले काम गर्ने बानीको विकास गर्न जरुरी छ ।