गोरक्ष समाचारदाता
दाङ, १८ माघ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले शिक्षाको विकासको लागि तीन पक्षको सम्बन्ध रहेको बताएका छन् ।
लिटल एञ्जल स्कुल घोराहीको छैटौँ किड्स ओलम्पियाड तथा २९औँ वार्षिकोत्सवको उद्घाटन गर्दै निवर्तमान अध्यक्ष पोख्रेलले अभिभावक, शिक्षक, विद्यार्थीको सुमधुर सम्बन्धबाट मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताएका हुन् । एक पक्षको मात्र अगाडि बढेर शिक्षाको विकास हुन नसकेको भन्दै उनले भने, ‘अभिभावक यसमा जिम्मेवारी हुनु पर्दछ, विद्यालयलार्ई मात्र जिम्मा लगाएर हुँदैन ।’ उनले भोलि समाज चलाउने आजका बालबालिका भएकाले उनीहरूमा लगानी गर्नुपर्ने बताए ।
सिकाइका लागि उपयुक्त वातावरण दिनु पर्ने उनको भनाइ छ । ‘विद्यालयले समय सापेक्ष आफ्ना क्रियाकलाप अगाडि बढाउँदै लगेको छ’ उनले भने । अहिले गरिएको लगानीले भविष्यमा प्रतिफल दिने उनले बताए । बालबालिकाको सिकाइका लागि उपयुक्त वातावरण आवश्यक रहेको बताएका छन् । नयाँ पुस्तालाई सही मार्गमा ल्याउनु पर्ने बताए । नयाँ पुस्ताले भविष्यको जिम्मेवारी रहेकाले उनीहरूलाई अहिले लगानी गर्नु पर्ने पोख्रेलको भनाइ छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले समय सापेक्षा शिक्षालाई अगाडि बढाउनु पर्ने बताए । विद्यार्थीलाई व्यवहारिक सिकाइको लागि छैटौँ किड्स ओलम्पियाडको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल यादव गिरीले बताए ।
खेलकुदको माध्यमबाट विद्यार्थीले आफ्नो दैनिक जीवनमा गर्ने कार्य तथा सहकार्य गरेर कसरी अगाडि बढ्नु पर्दछ भनेर व्यवहारिक रूपमा सिकेको उनले बताए । खेलले माध्यमबाट सिकेको सिकाइ प्रभावकारी सिकाइ हुने विद्यालयले जनाएको छ । विद्यार्थीले खेलमा सहभागी हुँदा अभिभावकको ध्यान आकर्षण गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गिरीको अध्यक्षता तथा भ्वाइ प्रिन्सिपल विमल रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक विन्दु पाण्डे र प्रकाश खनालले गरेका थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए भने उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।