बंगुर पालनबाट वार्षिक १२ लाख आम्दानी

भरत विश्वकर्मा
रोल्पा, १८ माघ । रोजगारीको खोजीमा दिन प्रतिदिन हजारौँको सङ्ख्यामा युवा विदेशिने क्रम बढ्दो छ । तर, कतिपय युवाले भने देशमै व्यवसाय गरी मनग्य आम्दानी गरिरहेका छन् । तीमध्येका एक हुन् रोल्पाको सुनछहरी गाउँपालिका–२ भित्रिगामका मनकुमार बुढामगर ।

मनकुमार पछिल्लो समय व्यावसायिक बंगुर पालनमा जुटेका छन् । करिब बाह्र वर्ष पहिले वैदेशिक रोजगारीको क्रममा कतार पुगेका उनी त्यहाँबाट फर्किएपछि व्यावसायिक बंगुर पालनतर्फ आकर्षित भएका हुन् । विदेशमा भोग्नु परेको दुःख र गर्नु परेको मेहनत सम्झँदै नेपालमै सुन फलाउने योजनाले यो व्यवसायमा लागेको उनको भनाइ छ । उनले मेहनत र श्रम गरे देशमै राम्रो कमाई गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।

बुढामगरले २ वर्ष विदेशमा काम गरेर फर्किएपछि रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौर बजारमा व्यावसायिक बंगुर पालन सुरु गरेका हुन् । ७ वर्ष पहिले १२ लाख लगानीमा सुरु गरेको व्यवसायले अहिले राम्रो आम्दानी गर्दै आएको छ । बजार नजिकै जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेको उनले बताए । बंगुर पालन व्यवसायमा राम्रो सम्भावना देखेपछि त्यसलाई विस्तार गर्दै लगेको उनले बताए ।

७ वर्षदेखि मनकुमार दम्पती नै व्यावसायिक बंगुर पालनमा सक्रिय छन् । मनकुमारको साथमा श्रीमती तिला घर्तीमगर पनि दिनभर फर्ममा बंगुरको स्याहारमा व्यस्त हुन्छिन् । बंगुरको पालनबाट मनकुमार दम्पत्तीले मनग्य आम्दानी गर्दै आएका छन् । व्यावसायिक बंगुर पालनबाट मनकुमार दम्पत्तिले लाखौँको आम्दानी गर्दै आएका छन् ।

फर्ममा अहिले करिब ५० को हाराहारीमा बंगुरका पाठापाठी रहेको उनले बताए । मनकुमार दम्पत्तिको दैनिकी बंगुरको स्याहार र दानापानी गर्नमै बित्छ । विदेशमा गर्ने मेहनत नेपालमै गर्नसके मनग्य आम्दानी गर्न सकिने मनकुमारको अनुभव छ । ‘१२ वर्ष पहिले विदेशमा थिएँ, विदेशमा दुःख छ त्यहाँको जस्तो संघर्ष नेपालमै गर्नसके राम्रै आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘पहिले व्यवसाय सुरु गर्ने बेलामा बंगुरको मूल्य खासै थिएन् अहिले राम्रो छ, वर्षमा १२ लाख बराबरको आम्दानी गर्न सकिन्छ ।’

मनकुमारको बंगुर फर्म मात्र नभइ सुलिचौर बजारमा आफ्नै फ्रेस हाउस पनि छ । जसले गर्दा मासु बिक्रीमा समस्या नभएको उनी बताउँछन् । ‘अधिकांश मासु स्थानीय स्तरमै खपत हुने गर्दछ, केही परिणाममा मात्र बाहिर पठाउने गरेको छु’ उनले भने । पैसा सहजै रूपमा कमाउन नसकिने उनी बताउँछन् । ‘पैसा त फोहोर मै हुन्छ’, उनले भने, ‘सहजै पैसा कमाउन सकिने भए किन विदेश जानु पर्दथ्यो र ?’ पैसा कमाउन मेहनत गर्नुपर्ने उनको भनाइ छ । युवालाई देशमै मेहेनत र परिश्रम गर्न उनको सुझाव छ । विभिन्न निकायले पटक–पटक बंगुर पालनका लागि अनुदान समेत प्रदान गर्ने गरेको उनले बताए ।