निर्वाचन लक्षित सुरक्षा सुदृढीकरणबारे छलफल

गोरक्ष समाचारदाता
दाङ, १६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुखसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका देउखुरीमा बिहिबार आयोजित भेटघाटमा मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी नायव महानिरीक्षक भुपेन्द्रबहादुर खत्रीबिच निर्वाचन लक्षित सुरक्षा रणनीति र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको हो ।

छलफलका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका सबै जिल्लामा निर्वाचन लक्षित सुरक्षा योजना तयार भइसकेको उल्लेख गर्दै शान्ति सुरक्षाको व्यवस्थापनमा प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । मुख्यमन्त्री आचार्यले, ‘अति संवेदनशील मानिएका क्षेत्रमा थप ध्यान पुग्ने नै छ । नागरिकको साथ र सहकार्य लिएर निर्वाचन सुरक्षालाई अझ सुदृढ बनाउन आवश्यक छ ।’

भेटमा प्रहरी नायव महानिरीक्षक खत्रीले निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराएका थिए । उनले शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रहरीको सक्रियता बढाइएको र सबै सुरक्षा निकायबिच समन्वयका साथ काम भइरहेको बताए ।