लमहीमा पशु उपशाखा सञ्चालन

गोरक्ष समाचारदाता
देउखुरी, १६ माघ । लमही नगरपालिका पशु उपशाखा कार्यालय सञ्चालनमा आएको छ । लमही नगरपालिका प्रमुख जोगराज चौधरीले बिहिबार कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले पशुपालन क्षेत्र नगरपालिकाको आर्थिक विकासको प्रमुख आधार भएको बताउँदै अब कृषकले आवश्यक सेवा स्थानीय तहमै सहज रूपमा पाउने विश्वास व्यक्त गरेका छन् । नगर प्रमुख चौधरीले पशु उपचार, खोप, परामर्श तथा प्राविधिक सहयोगमार्फत् कृषकको आयस्तर बढाउन नगरपालिका प्रतिबद्ध रहेको बताए । उपप्रमुख लक्ष्मी योगीले महिलाको सहभागिता बढ्दै गएको पशुपालन व्यवसायलाई थप प्रोत्साहन गर्न नगरपालिका विभिन्न कार्यक्रम ल्याउने बताइन् ।

उनले कृषकको समस्या समाधानमा यो कार्यालय महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेकी थिइन् । स्थानीय किसानलाई आधुनिक पशुपालन प्रविधि अपनाउन आग्रह गर्दै यसले रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले लमही नगरपालिकाको पशु उपशाखा कार्यालय सञ्चालनमा आएसँगै पशुपालक किसानलाई सेवा लिन सहज हुने बताए । उनले लमही नगरपालिकामा कृषिसँगै पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै किसानको आयआर्जन बढाउने लक्ष्यसहित यो कार्यालय स्थापना गरिएको जानकारी दिए ।

पशुपालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन नगरपालिकाले आवश्यक बजेट, जनशक्ति तथा प्रविधिको व्यवस्था गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए । लमही वडा नम्बर ३ का वडाध्यक्ष मनोजकुमार चौधरीले लामो समयदेखिको माग पूरा भएको भन्दै अब पशुसम्बन्धी सेवाका लागि टाढा जानु नपर्ने अवस्था आएको बताए । कार्यक्रममा बोल्दै कृषक सुरेन्द्र खड्काले पशु उपचार र प्राविधिक सल्लाहका लागि धेरै समस्या भोग्नुपरेको स्मरण गर्दै अब उपशाखा कार्यालय सञ्चालनमा आएपछि पशुपालन पेसा थप व्यवस्थित र व्यावसायिक बन्ने आशा व्यक्त गरेका थिए ।

नयाँ पशु उपशाखा कार्यालय सञ्चालनमा आएसँगै लमही नगरपालिकाका कृषकलाई पशु स्वास्थ्य, उत्पादन वृद्धि तथा व्यवसायीकरणमा प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष दामोदर पौडेल, वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, कार्यपालिका सदस्य तुलसा विक, देवा परियार, सुनिता चौधरीलगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पशु शाखा प्रमुख शिवराज न्यौपानेले गरेका थिए ।