साङ्ग्रिला बैंकद्वारा मावि सौडियारलाई फिल्टर सहयोग

दाङ, १५ माघ । साङ्ग्रिला विकास बैंक लिमिटेड घोराही शाखाले मावि सौडियारलाई इलेक्ट्रिकल पानी फिल्टर सहयोग गरेको छ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घोराही–७ सौडियारमा रहेको माध्यमिक विद्यालय सौडियारलाई इलेक्ट्रिकल पानी फिल्टर सहयोग गरेको हो।
बैंकका शाखा प्रबन्धक सुदर्शन बिष्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई र विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीलाई संयुक्त रूपमा फिल्टर हस्तान्तरण गरेका हुन्। बैंकको वार्षिकोत्सवको अवसर पारेर विद्यालयलाई छनोट गरी उक्त सहयोग गरिएको जानकारी दिँदै शाखा प्रबन्धक बिष्टले बैंक समाजको अभिन्न अंग भएकाले समाजसँग जोडिएर निरन्तर सामाजिक कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनहरूमा पनि सामाजिक गतिविधिहरूलाई निरन्तरता दिइने बताए।
फिल्टर हस्तान्तरण कार्यक्रममा बैंकका अपरेसन इन्चार्ज सरिता शर्मा, लोन अफिसर गौरव बाम र सहायक कर्मचारी भोजराज खनालको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वलीले बैंक परिवारप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता सहयोग कार्यक्रमहरूमा सहकार्यको अपेक्षा राखे। त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले बैंकबाट प्राप्त फिल्टरले विद्यार्थीहरूलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न सहज हुने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले गरेका थिए।