भूवन पोख्रेल
लोकतन्त्रमा सबैभन्दा प्रिय नेता हुन्छन् । नेतृत्वले देखाएका सपनाबाट हौसिएर नागरिक आन्दोलनमा लाग्छन् । नेताका पछाडि लाग्नुको अर्थ परिवर्तनप्रतिको उत्कट अभिलाषा हो । अहिलेका नेता पनि हिजोका राजाकै नयाँ अवतार बन्ने हो भने त जनताका सपना फेरि चैते हुरीले उठाउने छन् । आफूले सबैभन्दा बढी सम्मान गरेका नेता नराम्ररी बिग्रिएपछि स्वाभाविक रुपमा आम नागरिकमा निराशा पैदा हुन्छ । अचेल सर्पसाधारणले पूर्व राजालाई भन्दा नेतालाई बढ्दा गाली गरेको सुनिन्छ । आम नागरिकको धारणा किन यसरी निराशावादी भयो ? भन्नेतर्फ नेताले ठेक्क पु¥याउन नसकेको देखिन्छ । आफूलाई जनमतबाट अलग राख्दै केही नभएजस्तो गरी हिड्न उचित होइन ।
राजा महाराजाहरुले पनि सर्वसाधारणसँग गोप्य रुपमा आफूले चलाएको शासन व्यवस्थाबारे बुझ्दथे । निरंकुशकालमा सिधै सर्वसाधारणले टिप्पणी नगर्ने हुनाले उनीहरको धारणा गोप्य रुपमा बुझ्नुपर्दथ्यो । तर अहिलेका नागरिक त्यस्ता छैनन् । लोकतन्त्रका नागरिकले खुलेर चित्त नबुझेका विषयमा आफ्नो प्रतिक्रिया राख्छन् । अझ सामाजिक सञ्जालको यो युगमा आफ्ना धारणा राख्न अन्य कुनै मञ्चको प्रतीक्षा समेत गर्नु पर्दैन । आफ्नै हातमा रहेको मोवाइल खोलेर त्यसमा आफ्ना प्रतिक्रिया राख्न सर्वसाधारण यतिबेला सक्षम भइसकेका छन् । सबैले बोल्न पाउने यो बेलामा अनुशासनहीनता बढेको पनि अनुभव हुन्छ । गालीगलौज र आरोप्रत्यारोपको दोहोरीले सामाजिक सञ्जाललाई नै ढाकेको हुन्छ । हिजो सरकारको विरोध गर्न सडकमै आन्दोलनमा उत्रनु पर्दथ्यो । तर आज कोठामै बसेर सामाजिक सञ्जालबाट विरोधका स्वरहरु उराल्न सकिन्छ ।
पुष्पकमल दाहाल (प्रचण्ड)लाई जुम्लाका एक युवक रतन तिवारीले जुत्ता प्रहार गरे । विरोधको यो स्वरुपलाई कुनै पनि अर्थमा उचित मान्न सकिँदैन । तर लोकतन्त्रमा शिष्ट ढङ्गले बोलेर, लेखेर, आफ्ना असन्तुष्टि प्रकट गर्न पाइन्छ, संगठन बनाउन पाइन्छ, जनपरिचालन गरी सरकारको विरोध गर्न र आफ्ना विचार फैलाउन पाइन्छ । दाहाल लक्षित जुत्ता प्रहारले लोकतन्त्रको शिष्ट विरोध शैली उपयोग नगरी अन्य बाटो अपनाउन खोजेको देखाउँछ । यस्तो तरिका बेठीक हो तर यस किसिमका नेता विरुद्धका हर्कत र आक्रमण निरन्तर भइरहेका छन् । यस अघि पूर्व लडाकु पदम कुवँरले पनि अध्यक्ष दाहाललाई थप्पड हानेका थिए । पार्टीले आयोजना गरेको चियापान समारोहमा उनी विरुद्ध आक्रमण भएको थियो । यसपटक पनि पार्टीले राष्ट्रिय सभागृहमा आयोजना गरेको भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा क्रममा दाहाल विरुद्ध जुत्ता प्रहार गरिएको हो । यस अघि कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए ।
हाल नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई पनि सुनसरीका देविप्रसाद रेग्मीले सुनसरीमै थप्पड हानेका थिए । यसबाट के प्रष्ट हुन्छ भने सर्वसाधारणले नेतालाई जति सम्मान गरेका छन् त्यो भन्दा बढी घृणा पनि गरेका छन् । कहिलेकाहीँ नेताहरुले ज्यानले पनि धान्न नसक्ने माला समेत पाउँछन् । त्यो बेला कार्यककर्ता र अनुयायी सर्वसाधारण मात्र होइन, चाटुकारहरुले समेत तीनलाई खुशी पार्ने मौका पाउँछन् ।
नेताहरु माथि आखिर किन आक्रमण हुन्छ ? जब सबैभन्दा निकट र प्रिय मानिसबाट अपेक्षा अनुसार काम हुँदैन तब सर्वसाधारणलाई निराश बनाउँछ । तिनले आफ्ना निराशा यसरी अस्वभाविक तरिका अपनाएर पनि प्रकट गर्छन् । कार्यकर्ताले जहिल्यै आफ्ना नेता नेताको छवि उच्च रहेको परिकल्पना गरेका हुन्छन्, तर जब वास्तविकतामा उल्टो पाउँछन्, तब आक्रोश पोख्छन् । नेतृत्वमा पुगेका व्यक्तिका निम्ति सामान्य लागेका व्यवहार समेत कार्यकर्ताका निम्ति असामान्य हुन्छन् । कार्यकर्ता र सर्वसाधारणले यतिबेला सत्तारुढ नेकपा भित्रै शक्ति हत्याउन गरिएका प्रयासलाई नजिकबाट नियालेका छन् । त्यति मात्र होइन, निर्वाचनमा पराजित बामदेव गौतमजस्ता नेतालाई पुनः अर्को निर्वाचनसम्म प्रतीक्षा गराउनेभन्दा पनि तत्कालै सत्तामा पु¥याउने हतारो देखिन्छ । राष्ट्रिय सभामा मात्र पु¥याएर पुगेको छैन, अझ संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउनुपर्ने समेत भएको छ ।
यी सबै परिस्थिति देख्दा सर्वसाधारणलाई असाध्यै झोक चल्छ । मुलुकका विकास निर्माण र अग्रगमनसम्बन्धी अनेक सवाल छन् । प्राथमिकतामा परेका अनेकन काम सम्पन्न भएका छैनन् । तर राजनीतिकवर्गको प्राथमिकता भने अन्यत्रै छ । यी यावत कारणले आम नागरिकमा निराशा उत्पन्न भएको छ । हिजोका आन्दोलनकालीन आदर्शको विघटन नागरिक निराशाको प्रमुख कराण हो । राजनीतिक नेतृत्वकर्ताले यस्ता विषयमा बालेमा ध्यान पु¥याउँदा नै आफ्नो सम्मानले निरन्तरता पाउने छ ।
विगतको लामो समयदेखि निकै व्यवस्थित देखिने एमाले पार्टी नेकपा भएपछि अस्तव्यस्त देखिएको छ । गएको चुनावबाट संसद्मा पाइएको करिब दुईतिहाई विश्वासको मतलाई यसले सम्मान गर्न जानेको देखिएन । चुनावताका केपी शर्मा ओलीको नेतृत्वप्रति गरिएको अपार भरोषा दुरुपयोग भएको छ । नागरिकलाई कमजोर बनाए, सरकार र देश बलियो हुने उल्टो सिद्धान्तबाट यो प्रेरित छ । राज्य पीडकको पृष्ठपोषक भएको छ । संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने नागरिकको मौलिक हक कुण्ठित हुँदै गएको यसको सरकार गठन भएयता महशुस गर्न थालिएको छ ।
राजनीतिमा अपरिहार्य मानिएको नैतिकताको धरातल खस्किएको छ । द्वेधचरित्र धमाधम खुल्दै छन् । भ्रष्टाचार विरुद्ध ‘शून्य सहनशीलता’ कथनीमा सीमित छ । गुटबन्दीको राजनीति चरम उत्कर्षमा छ । राष्ट्रिय स्वार्थभन्दा निजी लाभहानीको प्राथमिकता पाएको छ । दण्डहीनताले अत्यधिक प्रश्रय पाएको छ । नागरिक तहबाट उठेका आवाज तथा आलोचनाप्रति राज्यको प्रवृत्ति असहिष्णु बन्दै गएको छ । अकल्पनीय ढङ्गबाट गणतन्त्र बदनाम हुँदै छ । सत्ता कब्जाको वास्तविक रुप र परिभाषा खुल्न थालेको छ । राजनीति फोहरी भएको प्रमाणित गरिँदै छ । एउटा दापमा दुईवटा खुकुरीझै नेकपा माओवादीलाई एमालेको दापमा राखेर नेकपा बनेको जगजाहेर छ । बराबरी हैसियत भनिएका दुई अध्यक्ष एउटै शरीरका दुईवटा टाउकाझैँ सावित भएका छन् र फरक–फरक अभिव्यक्ति दिँदै हिड्छन् । पार्टी एक भए पनि यसका चरित्र दुई छन् । यिनीहरुबीच जितहारको द्वन्द्व जारी छ । गुट बलियो पार्ने दाउँपेचमा दुवै पक्ष लागेका छन् । गुटभित्र पनि व्यक्तिनिहित स्वार्थको राजनीति झाँगिएको छ । एकले अर्कोलाई सिध्याउने राजनीतिक खेलमा लागिपरेका छन् । यही आन्तरिक द्वन्द्वबाट कुन शक्ति खुकुरी दापभित्र अटाउने वा फालिने होडबाजीबाट नेकपा ग्रस्त छ । चुनाबी मैदानमा डबल तागतमा करिब दुईतिहाई मत ल्याएर सरकार बनाए पनि राजनीतिक कलह रोकिएको छैन । दुईवटा खुकुरीलाई एउटा दापमा व्यवस्थापन गर्न राजनीतिक सकस परेको छ ।
पहिलो कार्यकालमा ओलीको छवि नागरिक तथा राष्ट्रप्रति इमानदार देखिएको थियो । त्यसको पुनःस्थापना गर्न खोजे मतदाताले गएको चुनावमा तर यसको विपरित ‘कम्युनिष्ट सत्ता’को दनादेश पाएको जस्तो उसले ठान्यो । यस उन्माद र धङधङीले ऊ बरालिँदै गयो । नागरिकका अधिकार र स्वतन्त्रताको अवमुल्यन गर्न थाल्यो । आफ्ना विपक्षमा लेख्ने, बोल्नेलाई वर्गशत्रु ठान्यो । नागरिक समाज कमजोर भए आफू बलियो हुने भ्रम पाल्यो । द्वन्द्वकालका कठिन आयामदेखि १२बुँदे सहमति हुँदै निरंकुश राजतन्त्रको सामना, एकतर्फ युद्धविराम, शान्ति सम्झौता, गणतन्त्रको घोषणा र संविधान निर्मणसम्म सहयात्री बनेको नागरिक समाजलाई नेतृत्ववर्गले चिन्न छाड्यो । यो समूह उसका लागि घाँडो भएको देख्यो ।
अहिले नीति त स्वार्थ, कमाउ धन्दामा लागेका शक्तिका पुजारी, चाकडीदार, पीडाक पक्षधर र अनैतिक कार्यबाट धन आर्जन गर्ने समूह उसको परिभाषाको नागरिक समाज भएको छ । पीडाकवर्ग उसको सहकर्मी बनेको छ । स्वइच्छाचारी ढङ्गबाट शासन पद्धतिका हिमायती उसका परममित्र बनेका छन् । विवेक शून्य राजनीति हाबी हुँदै गएको छ । आफ्ना अमुक नेताले जतिसुकै ठूलो गल्ती गरे पनि त्यसविरुद्ध नलेख्ने बरु प्रशंसाका पुल बाँध्ने पत्रकार लेखक तथा पत्रिकालाई नेकपाले आफ्ना हितैसी देखेको छ । राजनीतिलाई कमाउधन्दा भएको सन्देश उसले दिएको छ । पूर्व एमालेले आफ्ना राजनीतिक मूल्य मान्यता सेलाउँदै र गुमाउँदै गएको छ । माओवादीका एजेण्डामा नेकपा फँस्दै छ । मुलुकको लोकतान्त्रिक प्रणालीलाई संकटमा पार्दै छ । हत्या आरोपीहरुलाई मन्त्री, सभासद र सभामुख बनाउन सरकार अग्रसर छ । व्यक्ति हत्याले विचार मार्न सकिँदैन भन्ने सोचाई अझै सरकारमा हटेको छैन ।
भ्रष्टाचार प्रकरणले सरकारको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई धज्जी उडाइरहेको छ । कानुनी दायरामा ल्याउनुको साटो प्रम स्वयम् उनको बचाउमा लागेको देखिएको छ । प्रम ओलीले मृगौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा गराउने निर्णयले देशको स्वास्थ्य क्षेत्रलाई थप हौसला प्रदान गरेको छ । अरु नेताले पनि यसबाट प्रेरणा लिएर स्वदेश नै उपचार गराउनु पर्दछ । यस्तो संवेदनशील घडीमा पनि बामदेव–युवराज प्रकरणबाट ओली नेतृत्वको सरकारलाई अप्ठ्यारोमा पार्ने प्रयत्न भएको छ । उनको विकल्प समेत खोजिँदै छ । उनको विकल्प खोज्नु भनेको अर्को जनादेशतिर जानु हो । ओलीले पनि आफ्ना वरिपरिका गलत प्रवृत्तिलाई त्याग्न सक्नुपर्छ ।