Goraksha

National Daily

खाद्य स्वच्छताका लागि अनुगमनसँगै सचेतना : प्रमुख बराल [अन्तर्वार्ता]

दाङका विभिन्न समयमा बजार अनुगमन हुने गरेका छन् । स्थानीय सरकारसँगै विभिन्न निकायले बजार अनुगमन गर्दै आए तापनि कैफियत भेटिन भने छोडेका छैनन् । अनुगमनका क्रममा मिसावटभन्दा पनि खाद्य स्वच्छतामा ध्यान नपु¥याएको पाइएको छ । खाद्य स्वच्छतामा सुधारमा खबरदारी र सचेतना र सुधारका लागि प्रयास हुँदै पनि भएका छन् ।

यसैबिच खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले खाद्य स्वच्छता प्राणालीदेखि विभिन्न समयमा बजार अनुगमन गर्दै आएको छ । त्यसका साथै विभिन्न समयमा सचेतना कार्यक्रम पनि गर्दै आएको बताउने गरेको छ । बजार अनुगमन तथा खाद्य स्वच्छताको के कस्तो अवस्था छ भन्ने विषयमा केन्द्रित रहेर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार सङ्क्षेप ।

 स्वागत छ यहाँलाई, सातावार्तामा ।

 छापामाध्यबाट आमउपभोक्तासम्म पुग्ने गरी केही कुरा राख्ने अवसरका लागि यहाँ र पत्रिका परिवारलाई धन्यवाद ।

 खाद्य स्वच्छता भनेको के हो ?

 खाद्य स्वच्छता भन्नाले खानाको उत्पादन, प्रशोधन, भण्डारण र तयारीका क्रममा अपनाइने त्यस्ता उपायहरू हुन्, जसले खानालाई दूषित हुनबाट जोगाई उपभोक्तालाई खाद्यजन्य रोगबाट सुरक्षित राख्दछ । कतिपयलाई खाद्य सुरक्षा र खाद्य स्वच्छता एउटै हो भन्ने भ्रम छ, खाद्य सुरक्षा भनेको पर्याप्त खाना खान पाउनु हो भने खाद्य स्वच्छताले खानाको स्वच्छतालाई महत्व दिन्छ ।

 खाद्य मिसावट र त्यसको असरहरू के के हुन् ?

 खाद्यवस्तु न्यूनस्तर हुने गरी मिसावट भएको अवस्थामा उपभोक्ता ठगिने र आफूले तिरेको मूल्य बराबरको गुणस्तर नपाउने हुन्छ । यदि खाद्यवस्तु दूषित हुने गरी मिसावट भएमा उपभोक्ताको स्वास्थ्यमा असरसमेत गर्छ । जस्तै दुधमा पानी मिसाउनु न्यूनस्तर हो भने दुधमा युरिया वा अन्य रसायन मिसाउनु दूषित हो ।

खाद्य स्वच्छता र सचेतनासम्बन्धी के कस्ता कार्यकलाप गर्नुभएको छ ?

 हामीले गत आर्थिक वर्षमा आठ सय बढी खाद्य व्यवसाय अनुगमन गरेका थियौँ भने चालु आर्थिक वर्षम हालसम्म छ सय बढी व्यवसाय अनुगमन गरिसकेका छौँ । हामीले खाद्य स्वच्छतासम्बन्धी सचेतना कार्यक्रम प्रत्येक पटकको अनुगमनका क्रममा गर्दै आएका छौँ । स्वीकृत कार्यक्रम अनुसार र अन्य सरोकारवाला जस्तै स्थानीय सरकार नगरपालिका, गाउँपालिका तथा घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा व्यवसायी तथा उपभोक्ता सचेतना कार्यक्रम गर्दै आएका छौँ ।
गत वर्षबाट हामी र घरेलु तथा साना उद्योग कार्यालयबाट सन्युक्त रूपमा विद्यालय स्तरमा सचेतना कार्यक्रम गरिरहेका छौँ । यसैगरी हामीले गरेका अनुगमनसम्बन्धी समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित÷प्रसारित भइरहेको हुन्छ, यसो हुन पनि एक किसिमले व्यवसायी तथा उपभोक्तामा सचेतता र्सिजना गर्न सहयोग पुग्नु हो ।

खाद्य स्वच्छता कायम गर्न कसको भूमिका के रहन्छ ?

 खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम खाद्य स्वच्छता कायम गर्ने दायित्व उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता र सेवाप्रदायक तोकेको छ । यसका साथै सबैभन्दा पहिले उपभोक्ता नै सचेत हुनुपर्छ । अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन तथा स्थनीय तह मुख्य जिम्मेवार हुन्छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको कार्यक्षेत्र बढी तथा जनशक्ति कम भएकाले प्रत्येक स्थानीय तहले नै बजार अनुगमको लागि तदारुकता देखाउनुपर्छ, खाद्य प्रविधि कार्यालयले प्राविधिक जनशक्तिको लागि समन्वय गर्ने हो र हामीले गर्नुपर्ने काम गरी पनि रहेका छौँ ।

यति धेरै पटक बजार अनुगमन गरिसक्यौँ भन्नुभयो, अनुगमनका क्रममा बजारको अवस्था कस्तो पाउनुभयो ?

 हामीले अनुगमन गर्दै गर्दा बजारको अवस्था क्रमिक रूपमा सुधार भइरहेको पाएका छौँ । पहिलेको तुलनामा म्याद नाघेका र लेवल विवरण नखुलेका खाद्यवस्तुको क्रिक्री वितरणमा कमी हुँदै गएको छ । अहिलेको मुख्य समस्या भनेको स्ट्रीट–फुड, ठेला, खाजा पसल, होटेल रेस्टुरेन्टको भान्साको सरसफाइ, खाद्यवस्तुको भण्डारणमा रहेको छ ।

खाद्यवस्तुमा हुन सक्ने निम्न कैफियत जस्तै म्याद नाघेका खाद्यवस्तुहरू बिक्री वितरण हुन सक्ने, म्याद नाघेका खाद्यवस्तुहरू री–लेबलिङ वा री–प्याकेजिङ हुन सक्ने, लेवल विवरण नराखी उत्पादन भएका कमसल गुनस्तरका खाद्यवस्तुहरू बिक्री वितरण हुन सक्ने, पुरानो दाल, चामल खाद्यान्न आदिलाई नयाँ र चम्किलो बनाउन कृत्रिम रङको प्रयोग हुन सक्ने, सस्तो वा अनेक स्किम दिएर कमसल वस्तु बिक्री हुन सक्ने, तेल, घिउ जस्ता धेरै माग हुने खाद्यवस्तुमा मिसावट हुन सक्ने,.माछा, मासु, दुग्धजन्य खाद्यवस्तुमा आवश्यक तापक्रममा भण्डारण नगर्दा बिग्रने र बिग्रेका खाद्ययवस्तु अनेक तरिकाबाट झुक्याएर बिक्रीवितरण हुन सक्ने, मिठाइजन्य खाद्यवस्तुमा म्याद नाघेका वस्तुहरू प्रयोग हुन सक्ने, कृत्रिम रङको प्रयोग हुन सक्ने, अखाद्य कृत्रिम गुलियो पदार्थ मिसावट हुन सक्नेलगायतका कैफियत हुन सक्छन ।

 मिसावट तथा खाद्यवस्तुमाथि कालोबजारी गर्नेलाई के कस्ता ऐन कानुन र जरिमाना हुन सक्छन् ?

 खाद्यवस्तुको गुणस्तर नियमन गर्न खाद्य स्वच्छ्ता तथा गुणस्तर ऐन २०८१ अन्तर्गत विभिन्न कसुरमा विभिन्न सजाय तोकिएको । अनुगमनमा असहयोग गरेमा तत्काल २० हजार, अनुमतिपत्र नलिई खाद्य व्यवसाय गरेमा ५० हजार रुपैयाँसम्म जरिमाना, अनुमतिपत्र निलम्बन परेको अवस्थामा उत्पादन गरेमा ५० हजार रुपैयाँसम्म जरिमाना, पैठारी गर्नुपूर्व स्वीकृति वा प्रवेश अनुमति नलिई खाद्य पदार्थ पैठारी गरेमा ५० हजार रुपैयाँसम्म जरिमान, ऐनले तोकेबमोजिम उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ता, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता वा सेवाप्रदायकको दायित्व पूरा नगरेमा यस ऐन विपरीत अन्य कुनै कार्य गरेमा ५० हजार रुपैयाँसम्म जरिमाना गर्ने छ ।

त्यसैगरी दूषित खाद्यवस्तु उत्पादन गरेको पाइए पाँच वर्ष कैद वा पाँच लाख रुपैयाँ जरिमाना वा दुवै, न्यूनस्तर वा ढाँटी झुक्याई खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण गरेमा छ महिनासम्म कैद वा तीन लाख रुपैयाँ जरिमाना वा दुवै लेवल विवरण नराखी उत्पादन तथा बिक्रीवितरण गरेमा एक लाख रुपैयाँसम्म जरिमाना, रोक लगाइएको खाद्यवस्तु बिक्रीवितरण गरेमा, बजारबाट फिर्ता गर्न आदेश भएको खाद्यवस्तु फिर्ता नगरेमा वा खाद्य निरीक्षण गर्ने अधिकारीले दिएको आदेश पालना नगरेमा तीन लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था एनमा गरिएको छ ।

 बजारमा कुन खाद्यमा बढी मिसावट पाउनु भएको पाउनुभएको छ ?

 बजारमा मिसावटभन्दा पनि खाद्य स्वच्छताको कमी भएको पाएका छौँ । मुख्यतः ठेला, खाजा पसल, होटेल, रेस्टुरेन्टमा खाद्य स्वच्छतामा लापरवाही गरेको पाएका छौँ । बजारमा खाद्य स्वच्छताबारे सचेतनाको कमी भएको महसुस गरेर अनुगमनका क्रममा सम्बन्धित व्यवसायीलाई सचेत गनाउनेदेखि कमजोरी देखिएका ठाउँमा सुधार गर्न निर्देशन दिँदै आएका छौँ भने खाद्य स्वच्छताबारे बुझाउने गरेका पनि छौँ ।

हालसम्म गरिएको अनुगमनका क्रममा कतिजना उद्योग व्यवसायीलाई करबाही गर्नुभयो, भन्न मिल्छ ?

 मिल्छ नि ! कार्यालयले गत आर्थिक वर्षमा सातवटा मुद्दा उठान गरेको थियो भने चालु आर्थिक वर्षमा हालसम्म नौ वटा मुद्दा उठान गरिएको छ । गत वर्ष म्याद नाघेका खाद्यवस्तु नस्ट जम्मा नौ लाख २६ हजार बराबरको र यस बर्ष म्याद नाघेका खाद्यवस्तु नस्ट दुई लाख सात हजार रुपैयाँ बराबरको गरेका छौँ । यसैगरी यस वर्ष अनुमतिपत्रविना खाद्यवस्तु उत्पादन गर्ने १० खाद्य उद्योगमा शिलबन्धी गरेका छौँ ।

 अन्त्यमा केही भन्नु छ ?

 खाद्य सुरक्षा, स्वच्छता र अनुगमनको विषयमा आफ्ना कुराहरू राख्न दिएकोमा धन्यवाद दिन चाहन्छु । हामी सबैले आफ्नो ठाउँबाट नीति नियमका साथै कर्तव्य र जिम्मेवारी सबैले निभाउन सके सबै कुराको सही व्यवस्थापन र सुधार हुन्छ । सबैले नियमको पालना गरौँ र गराऔँ । सबैका साथ, सहयोग रह्यो भने मात्र हाम्रो लक्ष्य, उद्देश्य पूरा हुन्छ । बजार अनुगमन व्यवसायीलाई कारबाही गर्न होइन खाद्यय स्वच्छताबारे बुझाउन र उपभोक्तालाई सचेत बनाउन गरिन्छ । त्यसैले आम उपभोक्ता र व्यवसायी खाद्य स्वच्छामा सचेत हुन जरुरी छ भन्दै पुनः धन्यवाद ।