Goraksha

National Daily

मेरो खुसी : बाल्यकालको त्यो दह मेला

त्यो बेला म ७÷८ वर्षको थिएँ, हुँला । आफ्नै गाउँको चिनेको मान्छे भएकाले माघीको बेला दह जाने चलन थियो । माघी नजिकिँदै गर्दा मेलामा जाने र बदाम, सुन्तला, जेरीलगायतका खाद्य किनेर खाने साथीहरूबिच पहिले नै सल्लाह हुनेगथ्र्याे । त्यो बेला दहमा तीन दिन बेला लाग्ने गथ्र्यो । पुस महिनाको अन्तिम दिन ठुलो मेला र त्यसको अघिल्लो र पछिल्लो दिन गरेर तीन दिन मेला लाग्ने गथ्र्यो ।

त्यो बेलामा दह मेला भर्न जान, आउँदा मनमा छुट्टै उमङ्ग हुन्थ्यो । मेलामा १० रुपैयाँ बोकेर जान्थ्यौँ । किनकि मेलामा केही त खानुपर्छ भन्ने हुन्थ्यो । त्यो बेलाको १० रुपैयाँले धेरै चिज आउँथे तर बदाम, सुन्तला, खेलौनालगायत किन्न आपूmसँग पैसा हुँदैनथ्यो । मलाई अहिले पनि स्मरण छ, दह मेलामा १० रुपैयाँको बदाम खाएर साथीभाइसँग रमाइएको । जीवनका धेरै कुरा समयसँगै बित्दै जानेरहेछन् तर कतिपय कुरा जीवनमा सम्झना बनेर बसिरहन्छन् भन्दै सनत गिरी भन्छन्, ‘त्यहीमध्येकै एउटा क्षण हो, बाह्रकुने दहको मेला । सानोमा आपूmसँग पैसा हुँदैनथ्यो तर माघीमा लाग्ने मेलाको ठुलो महत्व हुन्थ्यो । त्यो मेलाका लागि केही पैसा हामीले मेला लाग्नु अगावै जोहो गर्ने अभ्यासमा हुन्थ्यौँ । मेलामा पाँच÷दश रुपैयाँ लगेर बदाम किनेर खाँदाको क्षण अहिले पनि सम्झनामा आइरहन्छ, त्यो जीवनको खुसीको क्षण हो ।’ सानै उमेरमा मैले त्यो पैसा कसरी जुटाएको थिएँ, त्यो त मलाई ख्याल छैन तर त्यो बेलाको १० रुपैयाँ निकै ठुलो धनराशी लाग्थ्यो ।

अहिले पनि दह मेलामा पुग्दा मैले त्यही बेलाको बदाम सम्झन्छु तर त्यो बेलाको दह जस्तो छैन अहिलेको दह । दहको आकार फेरिएको छ, दहको स्वरूप फेरिएको छ । दहको व्यवस्थापन फेरिएको छ, दहको शैली फेरिएको छ । अहिले हामी त्यो बेलाको दह देख्न सक्दैनौँ तर दहको शक्ति अहिले पनि फेरिएको छैन । दहको आकर्षण अहिले झन झन बढ्दै गएको छ भने दह व्यवस्थित भएको छ । अब त हामीलाई दहको संस्कृति र संस्कार एवम् मूल्य र मान्यतालाई पुस्तान्तरण गर्न चुनौती छ । यही कारण पनि मेरो पहिलो खुसीको क्षण दह मेलामा पाँच÷दश रुपैयाँमा किनेर बदाम, सुन्तला खाँदाको हो, जुन अहिले पनि सम्झना आउँछ ।

माथि उल्लिखित खुसीका अविष्मरणीय क्षण हुन्, सरल जीवनशैली, मिलनसार स्वभाव र कर्ममा विश्वास गर्ने कुशल व्यक्तित्व घोराही–१३ (हाल घोराही–१५ बैंक रोड) निवासी सनत गिरीका । व्यक्तिगत स्वास्थ्यसँगै समयको बचतमा अत्यन्त ख्याल गर्ने ४६ वर्षीय गिरीको जीवनमा दुःख, सङ्घर्ष, सफलतासँगै खुसीका अनेक कथा रहेका छन् । बाल्यकालदेखि नै भद्र र अनुशासित स्वभाव भएका गिरी गाउँघरमा साथीहरूसँग खेल्ने रमाउनेमा रुचि राख्ने गर्दथे । गाउँमा अहिले जस्ता बाक्लै घर थिएनन्, खेल्ने खुल्ला चउर थियो । त्यही चउरामा साथीहरूसँग खेल्ने गर्दथ्यौँ । दसैँको समयमा घोराही बजारमा चङ्गा उडाउने चलन थियो ।

आकाशमा उडाएका चङ्गा हावा लागेको समयमा डोरी चुडिएर डुमरगाउँसम्म जाने गर्दथे । उड्दै गएका चङ्गा, खस्ने बेला छोप्ने हाम्रो प्रतिस्पर्धा हुन्थ्यो । हावाले चङ्गा जुन दिशातर्फ लग्थ्यो हामी उतै हुइँकिन्थ्यौँ । डोरी टुटेर के भो त चङ्गा भने हामीले भेटाइहाल्थ्यौँ । किनकि त्यो बेला अहिले जस्तो बाक्लो बस्ती नभएकाले भेटाउन सहज हुन्थ्यो । टुटेको डोरीलाई फेरि जोडेर उडाउथ्यौँ, चङ्गा । त्यो प्रतिस्पर्धामा अरूलाई जितेर चङ्गा छोप्न पाउँदाको क्षण पनि अर्काे खुसीको क्षण हो’, गिरी भन्छन्, ‘त्यी दिन सम्झिँदा अहिले खुसी लाग्छ ।’

२०३६ साल वैशाख २० गते घोराही उपमहानगरपालिका–१३ वराह क्षेत्र मन्दिर जस्तो पवित्र भूमिमा पिता हरिप्रसाद गिरी तथा माता शिवादेवी गिरीको कोखबाट माइलो सन्तानका रूपमा जन्मिएका गिरी २०६७ सालमा घोराही उपमहानगरपालिका–५ निवासी सन्जु गिरीसँग वैवाहिक सम्बन्धमा बाँधिएका गिरी दम्पत्तिका दुई सन्तान छोरी सिस्ता र छोरा श्रीयान्स रहेका छन् । उनीहरूले घोराहीकै माउन्टभ्यू बोर्डिङ स्कुलमा अध्ययनरत छन् । सानैदेखि भद्र भलाद्मी र विवेकशील बालकको बाल्यकाल अत्यन्त सङ्घर्षमय रह्यो । रमाउने उमेरमा कमाउनुपर्छ भन्ने आइलाग्यो । गाउँमै रहेको बराहक्षेत्र माध्यमिक विद्यालय सेवार वनगाउँबाट प्राथमिक तहको शिक्षा लिएका गिरीले भरतपुरमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्दै मध्यमास्तर बहुउद्देश्यीय सहकारी संस्था लिमा विभिन्न पदमा रही काम गर्दै सञ्चालक समिति जस्तो गरिमामय पदमा बसेर काम गर्दाको क्षणलाई जीवनको खुसीको क्षणका रूपमा लिन्छन्, उनी ।

जीवनमा सफलता प्राप्त गर्न कर्मशील र निरन्तरतामा विश्वास गर्ने गिरी भन्छन्, ‘सहकारी बचतकर्ताको पैसा राखिदिने मात्र होइन, यसलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने पनि लक्ष्य राख्नुपर्छ ।’ राप्ती बचत तथा ऋण सहकारी संस्थाको स्थापनाकालदेखि आबद्ध भएका गिरी सहकारीको बजार प्रतिनिधिसँगै सञ्चालक समितिमा समेत बसेर काम गरेका थिए । उनीसँगै सहकारीमा जोडिएका कतिपयले सहकारीकै ऋणले जीवन निर्वाह मात्र होइन, व्यापार व्यवसायमा पनि जोडिएका छन् । सहकारीमार्फत् धेरैलाई बचन गर्ने बानीको विकास गरिदिएका छन् ।

सानैदेखि आफ्नो स्वविवेकले देखाएको गोरेटोलाई पछ्याउँदै गाउँघर समाजमा जिम्मेवारी वहन गर्ने रूपमा परिचित भए । ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ आपूmलाई जस्तोसुकै कठिनाइमा पनि स्वावलम्बी भई आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भन्ने मान्यतालाई मूलमन्त्र बनाई अघि बढिरहेका छन् । समस्या त सबैतिर हुन्छन् तर हरेक समस्याले समाधान पनि सँगै ल्याएका हुन्छन्, समस्याभित्रै डुबेपछि समाधान त पहिचान भइहाल्छ भन्ने उनको मान्यता छ ।

सकारात्मक सोच र सामाजिक सेवा भावमा रमाउने गिरी विभिन्न संघसंस्थामार्फत् सामाजिक कार्यमासमेत जोडिएका छन् । बालबालिका, अनाथ, असहायसँगै गरिब दुःखीलाई अक्सिन सिलिन्डर, खाद्यान्न, कपडा, ब्लडलगायतको सहयोग गर्दै आएको बताउँछन् । त्रिभुवननगर जेसीजदेखि लायन्स क्लब अफ घोराही सिटीसम्म आइपुग्दा विभिन्न संघसंस्थाको माध्यमबाट आवश्यकता अनुसार गाउँघरदेखि विद्यालयमा बालबालिकालाई कपी, कलम, किताबलगायत विद्यालय पुस्तकालय स्थापना गरेको भन्दै गिरी भन्छन्, ‘करिब एकदशकको समयमा विभिन्न संघसंस्थाका माध्यमबाट समाज सेवाका काममा छौँ । यो समयमा वास्तविक समस्यामा परेका व्यक्तिलाई सेवा गर्न पाउँदा खुसी लाग्छ । जुन सहयोग लिने मान्छे पाएको महसुस गर्नसक्छ ।’

लायन्स क्लव अफ घोराही सिटीका अध्यक्षसमेत रहेका गिरी अल्टिमेट्स क्लब अफ घोराहीका पूर्व अध्यक्षसँगै नेपाली कांग्रेस घोराही–१३ का सचिव, नेपाल मानव अधिकार संघ, वराहक्षेत्र संरक्षण प्रवर्धन समिति, नेपाल दशनामी समाज समाधी स्थल घोराही, त्रिभुवनगर जेसीज, रेडक्रस सोसाइटी दाङलगायत विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरेका छन् । मानव सेवा, सुशासन नागरिक र असल शासनको सिद्धान्तलाई प्रोत्साहन गर्दै मित्रता, भाइचारा, आपसी विश्वासमा विश्वास गर्छन् ।