लमहीमा डेढ लाख बढी राजस्व सङ्कलन

प्रिया स्मृती गजमेर
देउखुरी, १४ माघ । लमहीमा दुई दिनमा डेढ लाख बढी राजस्व सङ्कलन भएको छ । लमही नगरपालिकाले सञ्चालन गरेको ‘नगर निर्माण महाअभियान’ अन्तर्गतको राजस्व सङ्कलन तथा व्यवसाय दर्ता नवीकरण शिविरबाट दुई दिनमा एक लाख ६४ हजार छ सय रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

नगरपालिकाले सरसफाइ अभियानबाट सुरु गरेको महाअभियानलाई पछिल्लो चरणमा राजस्व सङ्कलन, व्यवसाय दर्ता तथा नवीकरणसँग जोड्दा सेवाग्राहीको उल्लेख्य सहभागिता देखिएको हो । पहिलो दिन ६० हजार आठ सय र दोस्रो दिन एक लाख तीन हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो । घुम्ती शिविरका कारण नगरपालिकाको कार्यालयसम्म धाउनु पर्ने झन्झट हटेको व्यवसायहीले बताएका छन् । आफ्नै टोल नजिकै दर्ता, नवीकरण, कर बुझाउने सुविधा पाएपछि समय, श्रम र खर्च बचत भएको उनीहरूको भनाइ छ । कतिपय व्यवसायीले लामो समयदेखि नवीकरण नगरेका कागजातसमेत यही शिविरमार्फत् नियमित गर्न पाएको बताएका छन् । नगरपालिकाका कर्मचारी नै फिल्डमा पुगेर सेवा दिँदा प्रक्रिया छिटो, पारदर्शी र सहज बनेको व्यवसायहीको भनाइ छ ।

महाअभियान अन्तर्गत सञ्चालन गरिएको यो शिविरले करको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ । दर्ता नभएका तथा नवीकरण नगरेका व्यवसायहरू प्रणालीमा आउँदा नियमित राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीका अनुसार शिविरले करदाताको सङ्ख्या बढाउनुका साथै स्थानीय सरकारप्रतिको विश्वास पनि मजबुत बनाएको छ ।

दर्ता र नवीकरणबाट उठ्ने करले नगरको पूर्वाधार विकास, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा थप लगानी गर्न सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत डाँगी बताउँछन् । नगरपालिकाले यो घुम्ती शिविर फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । बाँकी वडा तथा क्षेत्रका व्यवसायहीलाई समेत समेट्दै अपेक्षितभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको लमही नगरपालिका राजस्व शाखा प्रमुख अम्बिका शर्माले जानकारी दिएकी छिन् ।