गोरक्ष समाचारदाता
देउखुरी, १४ माघ । प्रधानमन्त्री कप दाङ जिल्ला स्तरीय पुरुष एकदिवसीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि दाङ रातोले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा लमही नगर विकास समितिको आर्थिक सहयोगमा लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा भएको प्रधानमन्त्री कप दाङ जिल्ला स्तरीय पुरुष एकदिवसीय छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा दाङ रातोले दाङ नीलोलाई ११ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको दाङ रातोले निर्धारित ५० ओभरको खेलमा २० दशमलव एक ओभरमै सबै विकेट गुमाउँदै ६८ रन मात्र बनायो । दाङ रातोका लागि हिमाल देवकोटाले नौ, रतन थापाले सात र रोहित डाँगीले छ रन जोडे । बलिङतर्फ दाङ नीलोका खकेन्द्र रावलले चार ओभरमा १६ रन खर्चेर दुई विकेट लिए । जवाफी लक्ष्य ६९ रन पछ्याएको दाङ नीलो १४ दशमलव पाँच ओभरमै ५७ रनमा अलआउट भयो । दाङ नीलोका लागि सुमित बुढाथोकीले १८, सुभम खनालले १४ र नर्जित खड्काले नौ रन बनाए ।
बलिङमा दाङ रातोका कप्तान मोहन खत्रीले छ ओभरमा एक मेडनसहित १४ रन खर्चेर तीन विकेट लिए । त्यस्तै सुजल वलीले दुई दशमलव पाँच ओभरमा आठ रन खर्चेर तीन विकेट तथा हिमाल देवकोटाले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका कप्तान मोहन खत्रीलाई समापन समारोहका प्रमुख अतिथि लमही नगरपालिका प्रमुख जोगराज चौधरीले ‘प्लेयर अफ द म्याच’को ट्रफी प्रदान गरेका थिए । त्रिसिद्धेश्वरी स्पोट्र्स क्लब तुलसीपुरका अध्यक्ष युवा व्यवसायी कमल डिसीले नगद एक हजार पाँच रुपैयाँ प्रदान गरे ।
समापन समारोहमा बोल्दै नगर प्रमुख चौधरीले देउखुरी क्रिकेट मैदानलाई आवश्यक बुँदागत छलफलपछि नेपाल क्रिकेट संघ (क्यान) र जिल्ला क्रिकेट संघलाई हस्तान्तरण गर्न नगरपालिका तयार रहेको बताए । साथै उनले यही वर्षभित्र लमही नगरपालिकाले मेयर कप क्रिकेट प्रतियोगिता पुनः सञ्चालन गर्ने जानकारी गराएका थिए । कार्यक्रमका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले देउखुरी क्रिकेट मैदानलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै निरन्तर प्रतियोगिता आयोजना गर्न क्रिकेट संघ प्रतिबद्ध रहेको बताए । प्रतियोगिताको संयोजन उपाध्यक्ष किशोर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्जु केसीले गरेका थिए ।