लायन्स ३२५ एनमा क्याविनेट तयारी तिव्र

दाङ, १३ माघ । लायन्स इन्टरनेशनल ३२५ एन को तेस्रो क्याविनेट बैठकको तयारी तिव्र पारिएको छ । आगामी माघ २३ गते प्रि क्याविनेट र २४ गते क्याविनेट बैठकको तयारी तिव्र पारिएको क्याविनेट बैठकका संयोजक एमजेएफ लव नरसिंङ अधिकारीले जानकारी दिएका छन् ।

क्याविनेट बैठकको तयारी स्वरुप अधिकारीको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । जसको सह संयोजकमा एक्जुकेटीभ चिफहरु युवराज थपलिया, अर्जुन कक्षपती र एरिया चिफ मधुसूदन बैद्य हुनुहुुन्छ । यस्तै क्याविनेट बैठक तयारी समितिको सचिवमा अनिल बस्नेत, कोषाध्यक्षमा कर्णबहादुर पुन रहेका छन् । क्याविनेट बैठक तयारीका लागि गठन गरिएको समितिमा रेशम गिरी, सहाना श्रेष्ठ, होमप्रसाद शर्मा, शेषदत्त चौधरी, हल्लुप्रसाद चौधरी, गायत्री थापा, धु्रव गौतम, लोकबहादुर बस्नेत, झविन्द्र शर्मा र भरतराज देवकोटा रहेका छन् ।

लुम्विनी प्रदेशको राजधानी भालुवाङमा रहेको होटल पौवामा हुने क्याविनेट बैठकमा यस डिष्ट्रिक अन्तरगत रहेका एक सय २४ वटा क्लवका सात सय बढी लायन्स लिडर र क्याविनेट अफिसरहरुको सहभागिता रहनेछ । जसमा उत्कृष्ठ लायन्स क्लव र विभिन्न जिम्मेवारीमा रहेका लिडरहरुलाई सम्मान गरिनेछ । सोही क्रममा मंगलबार तुलसीपुरमा त्यस क्षेत्रमा लायन्स क्लव र अगुवाहरुसंग छलफल गरिएको थियो । क्याविनेट संयोजक लव अधिकारीको अध्यक्षतामा भएको छलफलमा पूर्व डिष्ट्रिक गभर्नर पिएमजेएफ विनोदकुमार श्रेष्ठले क्याविनेट बैठकको तयारीका लागि गर्नुपर्ने कामका बारेमा सुझाव दिएका थिए ।

उनले क्याविनेट बैठकमा डिष्ट्रिकका सवै एरियाबाट बढी भन्दा बढी सहभागिता गराउन सुझाव दिए । उनले लायन्सले गरिरहेका सामाजिक कामलाई सवैले नियालिरहेको भन्दै तेस्रो क्याविनेट बैठकलाई पनि सफल पार्नुपर्ने बताए । छलफलमा तुलसीपुर क्षेत्रमा रहेका लायन्स क्लवका अध्यक्षहरु, एक्जुकेटिभ चिफहरु धु्रव गौतम, सुरेश हमाल, खड्क बस्नेत, रिजन चियर ऋषि भण्डारी, एरिया चिफ गोरख वली लगायतले बोलेका थिए । कार्यक्रममा एरिया चिफ लायन मधुसूदन बैद्यले हालसम्म भइरहेको तयारीका बारेमा जानकारी दिए ।

कार्यक्रम संयोजक अधिकारीले तेस्रो क्याविनेट बैठकलाई सफल बनाउनका लागि तय गरिएका कार्यक्रमका बारेमा जानकारी दिए । उनले स्थानीय कला संस्कृतिको प्रस्तुती राख्ने, लायन्समा राम्रो गर्नेलाई पुरस्कृत गर्ने लगायतका कार्यक्रमहरु रहेको बताए । उनले क्याविनेट बैठकको तयारीका लागि विभिन्न निकायसंग छलफल गर्ने, स्वागत गेट निर्माण गर्ने जस्ता कामलाई तिव्रता दिइएको बताएका छन् ।