गोरक्ष समाचारदाता
दाङ, १३ माघ । गोरखा मोडेल सेकेन्डरी स्कुल, लमहीद्वारा आयोजित पूर्ण पूर्वप्राथमिक विद्यालय तथा पूर्वप्राथमिक शिक्षा कार्यक्रम अन्तर्गत सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लमही नगरपालिका–१ का वडाध्यक्ष दामोदर पौडेलले विद्यालय शिक्षा बालबालिकाको भविष्य निर्माणको आधार भएको बताएका छन् ।
वडाध्यक्ष पौडेलले प्रारम्भिक बालशिक्षाले बालबालिकाको व्यक्तित्व विकास, अनुशासन, नैतिकता र सिकाइ क्षमतामा दीर्घकालीन प्रभाव पार्ने उल्लेख गरे । लमही नगरपालिका–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले गोरखा मोडेल सेकेन्डरी स्कुलले गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र संस्कारयुक्त शिक्षामा जोड दिँदै उदाहरणीय कार्य गरिरहेको बताए । वडाध्यक्ष सुवेदीले स्थानीय सरकार शिक्षा क्षेत्रको प्रवर्धनमा प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा स्वास्थ्यकर खाना र पत्रुखानाको असर विषयमा कथा वाचन तथा अभिनय प्रस्तुत गरिएको थियो । यसैगरी मोबाइल फोन र पुस्तकको प्रयोग तथा दुरुपयोगका फाइदा–बेफाइदाबारे बालबालिकाले अभिनयमार्फत् सशक्त सन्देश दिएका थिए । सानो परिवारको महत्व, ठुलो परिवारका चुनौती, पुस्तक अध्ययनको लाभ, जीवनोपयोगी अभ्यास, संस्कार र शिष्टाचार तथा ट्राफिक सचेतना जस्ता विषय कार्यक्रममा समेटिएका थिए ।
विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले विद्यालयमा बालबालिकालाई पठाउनु मात्र अभिभावकको जिम्मेवारी पूरा नहुने बताए । उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि घर र विद्यालयबिचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षकद्वय दीप्ति शर्मा र शीला रिजालले गरेका थिए ।