कामै नथाली तीन पुलको म्याद थपियो, हापुर खोलामा भर्खैरै सुरु

खेमराज रिजाल
दाङ, १३ माघ । शर्मा सगुन जेभी रुपन्देहिले यस अघि निर्माण सम्झौता गरेर कामै सुरु नगरी म्याद सकिएपछि पुनः पुल महाशाखाले सोही कम्पनीलाई दाङ जिल्लाका हापुर खोला, ग्वार खोला र काला खोलामा पक्की पुल निर्माणको दुई वर्ष म्याद थप गरेको छ ।

कुन आधारमा म्याद थप भयो भन्ने विषयमा पुल शाखाका प्राविधिक पनि अचम्भित छन् । तीन वर्षसम्म एक पटक पनि साइटमा काम गर्न नआउँदा तीनै कम्पनीलाई म्याद थप गरिँदा थपिएको म्यादमा यी पुलहरू निर्माण हुने सम्भावना भने न्यून रहेको छ ।

म्याद थप भए पनि निर्माण कम्पनीले गम्भीरतापूर्वक काम अघि बढाएको छैन । काला खोलाको काम सुरु नहुनुमा विद्युतले पोल नसारिदिएको आरोप निर्माण कम्पनीले लगाउँदै आएको छ । ठेक्का लगाउने पुल महाशाखा नेपालगन्जका प्राविधिक निर्माण कम्पनीलाई ताकेता गर्दै काम अघि बढाउन साइटमा खटेको देखिएको छैन ।

यी तीनवटै पुल निर्माण सम्झौताको पहिलो म्याद सकिँदा एउटा पुलमा पनि खास काम देखिएको छैन । यद्यपि हापुर खोलामा भने सोमवारदेखि देखिने गरी काम सुरु भएको छ । त्यो पनि अत्यन्तै न्यून स्रोतसाधनबाट । हापुर खोलाको बिचैमा रहेको कच्वे फुटाएर सुरुङ खन्न थालेपछि सडकको डाइभर्सन दक्षिणी मोहडाबाट बनाइएको छ । जुन डाइभर्सन पनि समयानुकूल उपयुक्त हुने देखिँदैन । वर्षातमा बाढी आउना साथ सो डाइभर्सनमा यातायात आवागमनमा विपत्ति हुने यातायात व्यवसायी भीमबहादुर डाँगीले बताएका छन् ।

डाइभर्सन उत्तर तर्फबाट अलि छोटो भए सहज हुने अवस्था हुँदाहुँदै निर्माण कम्पनीले लामो दुरीको दक्षिण क्षेत्रबाट अस्थायी डाइभर्सन निर्माण गरिदिएको छ । नेपाल सरकार सडक विभाग अन्तर्गतको पुल सेक्टर नेपालगन्जले हापुर खोलामा चारलेन मापदण्डको पुल निर्माणका लागि २०७९ असार २९ गते निर्माण सम्झौता गरेको थियो । सम्झौता अनुसार पुल निर्माण सम्पन्न गत पुस महिनाको २८ गते सम्पन्न भइसक्नु पर्ने थियो ।

अहिले सोही निर्माण कम्पनीलाई दुई वर्ष म्याद थप भएको पुल सेक्टर नेपालगन्जका सूचना अधिकारी रामकिसुन थारूले गोरक्षलाई बताए । हापुर खोलाको पुल तीन स्पानको ओपन फाउन्डेसनको हुने बताइएको छ ।

एउटा स्पानको लम्बाइ ४७ दशमलव चार मिटर हुने बताइएको छ । जम्मा २० दशमलव पाँच मिटर चौडाइ रहने सो पुलको बिचमा दुई मिटरको डिभाइडरसमेत रहनेछ । दुई÷दुई मिटर चौडाइका फुटपाथ हुनेछन् । पुल निर्माका लागि सम्झौता रकम २७ करोड ४३ लाख ३१ हजार सात सय रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि पुलमा एउटा पिल्लर उठाउन नसक्दा वर्षातको मौसममा यातायात सेवामा असहजता आउने यातायात व्यवसायहीको अनुमान छ । किनकि पुल निर्माणकै क्रममा सुरक्षित यातायात र सहज यातायात हुने खोलाको कच्वे भने भत्काउन थालिएको छ ।

यो तरिकाले पुनः थप गरिएको समयावधिमा पुल निर्माणको काम सकिन्छ त ? भन्ने गोरक्षको सवालमा पुलको ठेक्का लगाउने नेपाल सरकार सडक विभाग अन्तर्गतको पुल महाशाखा नेपालजन्जका सूचना अधिकारी थारुले भने, ‘अहिलेकै रफ्तारले त तोकिएको समयमा काम सम्पन्न हुने अवस्था अहिले पनि देखिएको छैन ।’

कामै नगर्ने कम्पनीलाई पुनः म्याद थप किन गरियो ? भन्ने प्रश्नमा उनले भने, ‘यो माथिको विषय भएकाले केही बोल्न मिल्दैन ।’ शर्मा सगुनले ग्वार खोलामा पनि अघिल्लै आर्थिक वर्षदेखि दुईलेन पुल थप्न थालेको थियो । त्यहाँ पनि मुस्किलले एउटा पिल्लर मात्रै उठाइएको छ ।

कामको गति कछुवाको तालमा छ । ग्वार खोलाको पुल चारलेन क्षमताको नभएपछि त्यहाँ पनि दुई सय १० दशमलव १० मिटर लम्बाइ र दुइलेन स्ट्यान्डरको चौडाइ भएको पक्की पुल निर्माण थालिएको छ । यो ढिलासुस्तीले स्थानीय सरकारका जनप्रतिनिधिले पटक पटक पुल निर्माण स्थलमै पुगेर चेतावनी दिए पनि निर्माण कम्पनीले काममा तीव्रता दिन सकेको छैन ।

यो पुल निर्माण दोस्रो पटक थपिएको म्यादभित्र काम सम्पन्न गर्न सक्नुहुन्छ ? भनेर हामीले शर्मा सगुन जेभीका कन्ट्याक्ट मेनेजर सविन मिश्रसँग सोधेका थियौँ । उनले, ‘सकिन्छ’, भन्ने ओठे जवाफ दिए तर निर्माण कम्पनीका प्रोप्राइटर सहदेव खड्कालाई भने पटक पटक टेलिफोन सम्पर्क गर्दा पनि फोन उठेन् ।

पुल निर्माणमा देखिएको यो लथालिङ्ग र भद्रगोल शैलीप्रति यहाँको स्थानीय प्रशासन, स्थानीय सरकारलगायतका जनप्रतिनिधिहरूसमेत मौन छन् । ठेक्का लगाउने पुल महाशाखाले सोही कम्पनीलाई म्याद थप्नुको कारणका विषयमा केही बताएको छैन । साथै ठेक्का लगाउने कार्यालयका प्राविधिकको पनि नियमित उपस्थिति साइटमा देखिएको छैन । ग्वार खोलाको पक्की पुलको सम्झौता २०७९ असार २९ मा भएको थियो । निर्माण सम्पन्न गर्नु पर्ने मिति २०८२ भदौ २८ गते थियो । यो पुलमा पनि दुई वर्षको म्याद थपिएको छ ।