अमरराज आचार्य
दाङ, १३ माघ । कोइलावास भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ को छ महिनाको अवधिमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ ।
दाङको एक मात्रै भन्सार नाका कोइलावास भन्सारले लक्ष्यभन्दा आठ लाख ७३ हजार छ सय ३८ रुपैयाँ कम राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले छ महिनासम्म ८४ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । पुस मसान्तसम्म ७६ लाख २३ हजार तीन सय ६२ रुपैयाँ सङ्कलन भएको कोइलावास भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । जुन लक्ष्यको ८९ दशमलव ७२ तीन प्रतिशत हो । कार्यालयले साउनमा १३ लाख ५८ लाख राजस्व उठाउने लक्ष्य लिएकोमा नौ लाख ९० हजार नौ सय ७४ रुपैयाँ सङ्कलन गरेको छ ।
जुन लक्ष्यको ७२ दशमलव ९७ प्रतिशत हो भने लक्ष्यभन्दा तीन लाख ६७ हजार २६ रुपैयाँ कम राजस्व सङ्कलन भएको छ । यसैगरी भदौमा १४ लाख ९८ रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा छ लाख ६८ हजार छ सय ४९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन लक्ष्यको ४४ दशमलव ६४ प्रतिशत हो भने लक्ष्यभन्दा आठ लाख २९ हजार तीन सय ५१ रुपैयाँ कम राजस्व सङ्कलन भएको छ ।
असोजमा १४ लाख १७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा आठ लाख चार हजार पाँच सय ५१ रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको ५६ दशमलव ७८ प्रतिशत हो भने लक्ष्यभन्दा छ लाख १२ हजार चार सय ४९ रुपैयाँ कम सङ्कलन भएको छ । यसैगरी कात्तिकमा १५ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा नौ लाख ६३ हजार आठ सय ३० रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको ६४ दशमलव २१ प्रतिशत हो भने लक्ष्यभन्दा पाँच लाख ३७ हजार एक सय ७० रुपैयाँ कम राजस्व सङ्कलन भएको छ ।
मङ्सिर महिनामा १३ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा आठ लाख ८६ हजार दुई सय ९५ रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको ६४ दशमलव शून्य आठ प्रतिहत हो भने लक्ष्यभन्दा चार लाख ९६ हजार सात सय पाँच रुपैयाँ कम राजस्व सङ्कलन भएको छ ।
यसैगरी पुस महिनामा १३ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा ३३ लाख नौ हजार ६३ रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको दुई सय ४६ दशमलव ९५ प्रतिशत हो भने पुस महिनामा लक्ष्यभन्दा १९ लाख ६९ हजार ६३ रुपैया बढी राजस्व सङ्कलन भएको छ । पुस महिनामा भारतीय पर्यटकको नेपाल आगमन बढी आएकाले राजस्व सङ्कलनमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
छ महिनामा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भए पनि आगामी दिनमा लक्ष्य अनुसार राजस्व सङ्कलन हुने कार्यालयको अपेक्षा छ । नेपालको पछिल्लो घटनाक्रमले गर्दा नेपाल आउने भारतीय पर्यटकको आगमन कम हुँदा राजस्व कम सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।
नाकामा भारतीय पक्षबाट कडाइ गरिने भएकाले भन्सारबाट आवागमन कम भएकाले राजस्व सङ्कलनमा प्रभाव पर्ने गरेको छ । भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवागमन गर्नेको सङ्ख्या घट्दै गएको छ ।
यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्स जस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको भनाइ छ । जसले आवागमन कम हुने गरेको हो । ‘कोइलावास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो’, कार्यालय प्रमुख विष्टले भने, ‘सामान ल्याउने थोरै मात्र छन्, नजिकै रहेका नागरिकले मात्र सामान ल्याउने गरेका छन् व्यापारीले यहाँबाट सामान ल्याउँदैनन् ।’
कोइलावास नाकामा राजस्वको प्रमुख स्रोत भनेकै भारतीय सवारीसाधनबाट उठाउने रकमलाई लिइएको छ । भारतबाट नेपाल आउने गाडीलाई दैनिक छ सय रुपैयाँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रुपैयाँका दरले भन्सार लिने गरेको प्रमुख विष्टले बताए ।
भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायतका अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलावास क्षेत्रसँगै कोइलावासमा रहेको रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारी साधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालयले जानकारी दिएको छ ।
अन्य सामग्रीको तुलनामा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी राजस्व उठ्ने गरेको कार्यालय प्रमुख विष्टले बताए । उनका अनुसार व्यावसायिक रूपमा नाका चल्न सकेको छैन । ‘यहाँ उठ्ने राजस्व भनेको सवारीसाधनबाट उठ्ने कर नै हो’, उनले भने ।
कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलावास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा विकास भएको तथ्याङ्कले देखाएको छ । व्यापार व्यवसायका लागि सामान आयात र निर्यात गर्नेभन्दा भारतीय नेपाल आउने र नेपाली भारत जाने नाकाको रूपमा स्थापित हुन थालेको छ ।
दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलावास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षण देखिएको छैन । सहज सडक सञ्जाल भए पनि यसलाइ सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइँदैन । निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन । हरेक निर्वाचनको समयमा भने कोइलावास भन्सारले चर्चा पाउने गरेको छ ।