बटुवालाई निःशुल्क खाना तथा पानी

शिवराज खनाल
दाङ, १३ पुस । देशका विभिन्न स्थानमा यतिबेला धार्मिक मेला तथा महोत्सव सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । यस्ता महोत्सवमा प्रायः व्यावसायिक स्टलहरू देखिने गरे पनि दाङको लमही महोत्सवमा भने एक फरक र मानवीय सन्देश बोकेको स्टलले सबैको ध्यान आकर्षित गरिरहेको छ ।

‘भोकालाई भोजन, प्यासीलाइ पानी’ भन्ने नारासहित जय महाकाल युवा समूहले दाङको लमही महोत्सवमा बटुवा तथा सर्वसाधारणलाई निःशुल्क खाना र पिउने पानी उपलब्ध गराउँदै आएको छ । समूहले दाङका विभिन्न स्थानमा यस किसिमका सेवामूलक कार्य निरन्तर रूपमा गर्दै आएको छ ।

जय महाकाल युवा समूहका केन्द्रीय सदस्य निर्मलकुमार भुसालका अनुसार अभियान समूहका सदस्यहरूले व्यक्तिगत पहलमै सुरु गरेका हुन् । कार्यक्रम सुरु भएसँगै विभिन्न व्यक्ति स्वतः सहभागी भई सहयोगमा जोडिँदै आएको बताए । यस मानवीय अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन लुम्बिनी प्रदेश अध्यक्ष हेमन्त बस्नेतले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । अध्यक्ष बस्नेतका अनुसार पिउने पानीको व्यवस्थापनमा साइराम डिून्किङ वाटरले सहयोग गर्दै आएको छ । जय महाकाल युवा समूहले ‘भोकालाई भोजन, प्यासीलाई पानी’ भन्ने नारालाई व्यवहारमै उतार्दै आगामी दिनहरूमा पनि यस्ता सेवामूलक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

लमही चेम्बर अफ कमर्सका अध्यक्ष किरण बुढाथोकीले जय महाकाल युवा समूहले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन्। अध्यक्ष बुढाथोकीले जय महाकाल युवा समूहले गरेको कार्यको खुलेर प्रशंसा गर्दै भने, ‘आजको समयमा मेला महोत्सव प्रायः व्यापारिक उद्देश्यमा सीमित हुँदै गएका छन् । यस्तो अवस्थामा जय महाकाल युवा समूहले ‘भोकालाई भोजन, प्यासीलाइ पानी’ भन्ने नारालाई व्यवहारमै उतारेर समाजप्रति उदाहरणीय काम गरेको छ। यसले मानवता, सहकार्य र सेवाको सन्देश फैलाएको छ ।’

उनले सकारात्मक र सेवामूलक अभियानलाई सबै क्षेत्रबाट सहयोग र प्रोत्साहन गर्नुपर्ने बताए । महोत्सव अबधिभर अभियानलाई सहयोगहोस भन्ने उदेश्यले लमही चेम्बर अफ कमर्सले २ वटा स्टल निसुल्क उपलब्ध गराएको बताए । जय महाकाल समुहले बगारबाबा रिहारको धार्मिक मेलामा पनि हजारौ भक्तजनहरुलाइ निशुल्क खाना र बस्ने व्यवस्था गरेको थियो ।