खानेपानी आयोजना हस्तान्तरण

टेकबहादुर पुन
देउखुरी, १३ माघ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सहरी विकास तथा खानेपानी मन्त्रालयको मातहतमा रहेको खानेपानी तथा सरसफाइ कार्यालय दाङद्वारा सञ्चालित वनघुश्री–हसनापुर खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

लमही–७ हसनापुरमा सञ्चालित उक्त आयोजना आर्थिक वर्ष २०७६÷०७७ मा सुरु भई ०८१÷०८२ मा सम्पन्न भएको हो । आयोजनाबाट पाँच सय ७५ जनसङ्ख्या लाभान्वित भएका छन् भने एक सय १० घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ । आयोजनाको कूल लागत अनुमान दुई करोड १९ लाख १७ हजार छ सय १२ रुपैयाँ रहेकोमा एक करोड ८८ लाख ८३ हजार पाँच सय ८० रुपैयाँ खर्च भएको छ । लागतमा प्रदेश सरकारबाट एक करोड ७२ लाख २५ हजार एक सय ४० रुपैयाँ र जनसहभागिताबाट १६ लाख ५८ हजार चार सय ३९ रुपैयाँ योगदान रहेको छ ।

आयोजना अन्तर्गत एउटा गहिरो बोरिङ, १५ मिटर अग्लो पानी ट्याङ्की, छ हजार सात सय २० मिटर वितरण पाइप लाइन, १०० घनमिटर प्रतिमिनेट क्षमताको पम्प, १० वटा भल्भ चेम्बर, एउटा कार्यालाय भवन तथा एक सय ८३ वटा धारा रहेका छन् । जसमा निजी एक सय ८० र संस्थागत एक निर्माण गरिएको छ ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ कार्यालय दाङका कार्यालय प्रमुख तिलक न्यौपानेले आयोजनाको स्वामित्व उपभोक्ता समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । उपभोक्ता समितिको तर्फबाट अध्यक्ष चेत नारायण चौधरीले स्वामित्वपत्र ग्रहण गरेका हुन् । कार्यक्रमको अवसरमा आयोजना सम्पन्न गर्न सहयोग पु¥याएको भन्दै समितिका संस्थापक अध्यक्ष धु्रर्वबहादुर चौधरी, सचिव रामआधार शर्मा, कोषाध्यक्ष लौटनिया चौधरी, सदस्य मन्साराम चौधरी, गोपाल गिरी, मिलन चौधरी, अमृता चौधरीलाई कदरपत्रले सम्मान गरिएको थियो ।

नवशान्ति सामुदायिक वन, हसनापुर टोल विकास संस्था, बनगई खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, वनघुस्री खानेपानी, बनगई प्रहरी चौकी, लमही–७ का वडाध्यक्ष मोहन गिरी, खानेपानी कार्यालय दाङका प्रमुख तिलक न्यौपानेलाई पनि सम्मान गरिएको खानेपानीका सचिव युवराज गिरीले बताए । स्थानीय स्तरमा सुरक्षित र दिगो खानेपानी सेवा विस्तारमा उक्त आयोजना महत्वपूर्ण उपलब्धि भएको सरोकारवालाले बताएका छन् । कार्यक्रमको सहजीकरण संस्थापक अध्यक्ष धु्रव चौधरीले गरेका थिए ।