दलित महिलाका लागि अटो रिक्सा चालक तालिम

गोरक्ष समाचारदाता
तुलसीपुर, १३ माघ । दलित महिलाका लागि अटो रिक्सा चालक तालिम दिइने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–८ ले आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वडाभित्रका दलित महिलालाई सिपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको वडाध्यक्ष धर्म वलीले जानकारी दिए ।

उनका अनुसार वडाका १० जना दलित महिलालाई १५ दिने अटो रिक्सा चालक तालिम दिइनेछ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका महिलालाई तालिममा सहभाीिताका लागि सूचनासमेत प्रकाशित गरिएको वलीले जानकारी दिए । यसैगरी सहभागी हुन इच्छुक दलित महिलाले १५ दिनभित्र सम्बन्धित टोल विकास समितिको सिफारिस पत्र र दलित प्रमाणित हुने कागजात वा सिफारिसका सााथ आवेदन दिन सक्नेछन् । आवश्यकता अनुसार बढी निवेदन आएमा गोलाप्रथाद्वारा सहभागी छनोट गरिने र तालिममा सहभागिताका लागि स्थानीय नै हुनु पर्नेछ ।

तालिममा लाभग्राही मध्येबाट दुई जनालाई अनुदानको समेत व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०८२÷०८३ भित्र अटो चलाउने सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने दुई जनाका लागि आर्थिक वर्ष ०८३÷०८४ मा रिक्सा खरिदको लागि प्रतिव्यक्ति २५ हजार नियमानुसार अनुदान प्रदान गरिने वडा नंं ८ ले प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

यसैगरी वडा कार्यालयले गत वर्ष वडा भित्रका १२ जना महिलालाई महिला लक्षित कार्यक्रम अन्तर्गत ड्राइभिङ तालिमसमेत दिएको थियो । यसैगरी यस वर्ष कफी बनाउने तालिमको समेत आयोजना गरिएको वडाध्यक्ष वलीले जानकारी दिए । वडाले विभिन्न जोखिमपूर्ण काम गर्ने मजदुरलाई दुर्घटना बिमासमेत गराएको छ । हालसम्म वडामा एक सय ४६ जनाको बिमा गराएको अध्यक्ष वलीले बताए । ‘हामीले महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिमका सञ्चाल गदै आएका छौँ, आगामी दिनमा पनि नयाँ र नविनतम कार्यक्रम ल्याउने योजना छ’, वलीले भने ।