कांग्रेसले भन्यो : सबैभन्दा माथि राष्ट्रिय झण्डा

दाङ,१२ माघ । नेपाली कांग्रेसले चुनावी अभियान क्रममा राष्ट्रिय झन्डाको प्रयोगबारे ५ बुँदे परिपत्र जारी गरेको छ । चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दूरुपयोग गरिएको आवाज उठिरहँदा र सरकारले नै त्यसबिषयमा सार्वजनिक रुपमै अपिल गरिरहँदा कांग्रेसले यसबारेमा आफ्नो धारणा सहित मातहतलाई परिपत्र जारी गरेको हो ।

कांग्रेसले आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झण्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्न भनेको छ । तर त्यसरी प्रयोग गर्दा पनि पार्टीको झण्डा र चुनाव चिन्हभन्दा माथी राष्ट्रिय झण्डा फहराउन पर्ने कुरा परिपत्रमा उल्लेख गरिएको छ । पार्टी उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले जारी गरेको परिपत्रमा भनिएको छ, ‘कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारी साधनमा राष्ट्रिय झण्डा फहराउँदा पार्टीको झण्डा र चुनाव चिह्नभन्दा माथि फहराउने ।’

त्यसैगरी राष्ट्रिय झण्डालाई व्यक्तिको शिरभन्दा माथि हुने गरि सम्मानपूर्वक फहराउने, उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुनेहुँदा त्यस्तो विल्कुलै नगर्ने÷गर्न नदिने, उम्मेदवार या प्रचारक कसैको पनि पाखुरा, कम्मर या घाँटीमा ज्याकेट या मफलर जस्तो बनाएर झण्डा बेर्ने कार्यले झण्डाको सम्मान होइन अपमान हुन्छ, यस्तो विल्कुलै नगर्ने÷गर्न नदिने कुरालाई पार्टीको परिपत्रमा समेटिएको छ ।

परिपत्रमा ‘झण्डा झुकाउने प्रचलन, मृत्युपछिको शोकमा मात्रै हुन्छ भन्ने तथ्य हामीले हेक्का राख्न जरूरी छ’ भन्ने प्रष्टिकरण पनि समेटिएको छ । त्यसैगरी ‘राष्ट्रिय सम्मानका साथ कसैको शव यात्रा गरिँदा या चितामा दागबत्ती दिनुअघि शवमा झण्डा ओढाउने प्रचलन हुन्छ, त्यसको हेक्का राख्न जरूरी छ’ परिपत्रमा भनिएको छ ।